
उनी प्रतीक
थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । आज उनी केटलिन भएकी छिन्, पन्त
परिवारकै कान्छी छोरीका रूपमा । केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट
लगाउँथिन्, बाध्यतामा । अब खुलेर लेडिज पहिरन लगाउन थालेकी छिन् । उसै त
मृगनयनी, त्यसमाथि कोश मिलाएर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदैनन्
। अनुहारको सेप, शारीरिक संरचना एवं हाउभाउले उनी कुनै नायिका भन्दा कम
देखिन्नन् । बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ । नेपाली समाजमै
सार्वजनिक भएको पहिलो लिंग परिवर्तन गर्ने ब्यक्ति केटलिनसंग अश्विनी
कोइरालाले बिस्तृत कुराकानी : तपाईं महिला कि पुरुष ?
म महिला नै हुँ। पुरुषजस्तो देखिन्छु र ?
होइन, महिला नै देखिनुहुन्छ र साहै् राम्री पनि हुनुहुन्छ। एउटा पुरुष यति सुन्दर कसरी हुनसक्छ भनेर म पनि छक्क परिरहेको छु।
हो, साथीहरूले पनि मलाई निकै राम्री भन्छन्। विशेषगरी मेरो आँखा मन पराउँछन्।
मलाई पनि तपाईंको आँखा मन पर्यो। अनुहार पनि साह्रै मिलेको छ। प्लास्टिक सर्जरी गरेर बनाउनुभएको हो ?
होइन, सबैलाई यस्तै भ्रम छ। यो सबै प्राकृतिक हो।
कुन-कुन अङ्ग प्राकृतिक हुन् ?
मेरो अनुहार, आँखा, स्तन र मेरो स्वर। मेरो स्वर केटाको जस्तो छ र ? महिलाको जस्तो छैन र ?
निश्चय नै तपाईं पुरुषबाट महिला हुनुभएको
भन्ने कुरा झट्ट हेर्दा विश्वास लाग्दैन, कतिपय मानिस त तपाईं केटी नै
हुनुहुन्थ्यो, चर्चामा आउन यस्ता हल्ला चलाउनुभएको भन्छन्, किन होला ?
किनभने हाम्रो समाज नै त्यस्तै छ। मैले
आफ्ना बारेमा कुनै कुरै गरेकी छैन। बाहिर-बाहिर के-के कुरा चल्छन्, त्यसको
पछि लागेर साध्यै छैन। मजस्ता लिङ्ग परिवर्तन गर्ने अरू पनि हुन सक्छन्।
मेरो बुवा चर्चित कलाकार भएका नाताले मेरा बारेमा बढी चासो भएको हो।
मानिसहरूले नचाहिँदो कुरा गर्छन् भनेरै म प्रेसमा आउन नचाहेकी हुँ। यो मेरो
निजी जीवन हो। मलाई मेरो तरिकाले बाँच्न दिनुपर्छ।
कतिपय ब्लग र समाचारमा तपाईंका बारेमा धेरै कुरा आएका छन्, के-के सत्य हुन् ?
ती सबै मसँग नसोधी हावाका भरमा लेखिएका
हुन्। जथाभावी कुरा लेखेर मेरो मानव-अधिकारको हनन गरिएको छ। विदेशमा भए
जथाभावी लेख्नेलाई मानहानिका रूपमा ठूलो सजाय हुन्थ्यो। यहाँ त्यस्तो
प्रचलन छैन। तपाईंबाहेक मैले अरूसँग प्रेसका लागि कुरा पनि गरेकी छैन।
तपाईंलाई प्रेसमा आएका कुन-कुन कुरामा आपत्ति छ ?
जस्तो चर्चाका लागि भनेर जुन कुरा
भन्नुभयो, त्यो नै आपत्तिजनक छ। म फोटो सेसन गर्न चाहन्नँ। मलाई टेलिभिजनमा
देखिनु छैन। किनभने म चिडियाखानाको जनावरजस्तो हुन चाहन्न। मान्छेले मलाई
मायाले हेरून्। भोलि मैले विवाह गर्नुपर्छ। मेरो प्रेमी हुनसक्छ, श्रीमान्
हुनसक्छ। मैले पनि घर-परिवार बसाउनुपर्छ। पहिलै यो त ट्रन्सजेन्डर भन्यो
भने त मेरो भावनामाथि ठूलो खेलवाड हुन्छ। म मनोरञ्जनको साधन बन्न सक्छु। म
भर्खर १८ वर्षकी भएँ, मैले लामो जीवन बाँच्नु छ। अहिले चर्चाका लागि सानो
भूल गर्ने वित्तिकै भोलिको जीवन अप्ठारो हुनसक्छ। मैले आफ्नो स्तनमा टाटु
खोपाएको कुरा, थाइल्यान्डमा अप्रेसन गर्न जाँदा भिसा नलागेको कुरा, मेरो
ब्वाइफ्रेन्ड छ भन्ने कुरा सबै गलत हुन्। कान्तिपुर दैनिकमा आएका कुराचाहिँ
सत्य हुन्। ब्लग वा वेबसाइटमा आएका कुरा आधिकारिक होइनन्।
एक महिनाअघिसम्म तपाईं पुरुष हुनुहुन्थ्यो, आज कसरी महिला ?
मानिस शरीरले अर्कै र मनले अर्कै हुनसक्छ।
व्यक्ति मनले जे हुन्छ, वास्तवमा उ त्यही हो। कोही पुरुष स्वभावले महिला र
शरीरले पुरुष हुन सक्छन्। कोही स्वभावले पुरुष र शरीरले महिला हुन सक्छन्।
म शरीरले पुरुष थिएँ, तर मनले स्त्री थिएँ। अप्रेसनपछि म साँच्चैको महिला
भएकी हुँ।
कुनै व्यक्ति मनले के हो भनेर कसरी थाहा पाउने ?
उसको स्वभावले बताउँछ। हाम्रो जस्तो
समाजले तिमीले जस्तो अङ्ग पायौ, त्यस्तै व्यवहार गर भन्छ, तर त्यस्तो
नहुँदो रहेछ। शरीरको अङ्ग पुरुष भए पनि कतिपय व्यक्तिमा महिला जस्तो स्वभाव
हुँदो रहेछ। कसैले म महिला हुँ भन्छ भने अरु व्यक्तिले तँ पुरुष नै होस्
भनेर जबरजस्ती गर्न मिल्दैन।
मानिसहरू यस्ता व्यक्तिलाई तेस्रोलिङ्गी
भन्छन्। नेपालको कानुनले पनि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गरेको छ।
यस्तो अवस्थामा तपाईं पुरुष वा महिला नभएर तेस्रोलिङ्गी हुनुभएन ?
मानिसहरू एउटा महिला वा पुरुषलाई किन
जबर्जस्ती तेस्रोलिङ्गीको बिल्ला भिराइदिन्छन् भन्ने कुरा मैले बुझ्न सकेकी
छैन। म हिजो पनि महिला थिएँ, आज पनि महिला नै हुँ। हो, पुरुषजन्य अङ्गका
कारण मेरो नागरिकता पुरुषका रूपमा बन्यो। भिसा पनि त्यहीअनुसार लाग्यो।
किनभने म मनले के हुँ त्यो कुरा सोध्ने आवश्यकता सरकारले महसुस गरेन।
संसारमा कि त पुरुष हुन्छ, कि महिला। यो तेस्रोलिङ्गी भन्ने कुरा हुँदैन,
हुनुहुँदैन। यदि तेस्रोलिङ्गी हुन्छ भनेर स्वीकार गर्ने हो भने सबै स्थानमा
तीन किसिमका ट्वाइलेट बनाइदिनुपर्छ, महिलाका लागि, पुरुषका लागि अनी
तेस्रोलिङ्गीका लागि। हाम्रो परिवार विश्वका सबैजसो विकसित देशमा पुगेको छ,
कहीँ पनि तीन किसिमका ट्वाइलेट कसैले देखेनन्। म पनि अमेरिका, अस्ट्रेलिया
र थाइल्यान्ड पुगे, मलाई पनि यस विषयमा चासो थियो, तर पाइन। यो त विदेशबाट
डोनेसन खाने कुरा मात्र हो भन्ने लाग्छ।
नेपालमा ब्लु डाइमन्ड सोसाइटी भन्ने
संस्था छ, जसले तपाईंजस्तो समस्या भोग्नेहरूलाई सहयोग गर्छ, उसकै अगुवाइमा
तेस्रोलिङ्गीको अधिकारका सम्बन्धमा संसद्मा छलफल भएर कानुन बन्यो, तपाईं
यसलाई अस्वीकार गर्दै हुनुहुन्छ, अचम्म होइन ?
मलाई कुनै संस्थाको विरोधमा बोल्नु छैन। म
यति मात्र भन्छु संसारमा दुई किसिमका मान्छे हुन्छन्, महिला वा पुरुष।
तेस्रोलिङ्गी भन्ने हुँदैनन्। पुरुषको जस्तो अनुहार वा महिला जस्तो अनुहार
हुनेबित्तिकै उसलाई तेस्रोलिङ्गी भनेर छुट्याउनु अपराध हो। उसको
मानवअधिकारको हनन हो। व्यक्ति झुक्किएर गलत अंग लिएर जन्मन सक्छ। त्यसको
उपचार छ। मैले त्यस्तै उपचार गराएर फर्किएकी हुँ। यो ठूलो कुरा होइन।
जतिबेला तपाईं पुरुष शरीरमा महिला
हुनुहुन्थ्यो, त्यस्तो बेलामा सहयोग गर्ने संस्था वा व्यक्तिको खाँचो भयो
होला। त्यसबेला तपाईंले पनि ब्लु डाइमन्ड सोसाइटीजस्ता संस्थामा गएर सल्लाह
गर्ने योजना बनाउनु भएको थियो होला होइन ?
आफूमा केही समस्या छ र यस्तो समस्या
बारेमा सहयोग गर्ने संस्था छ भनेपछि चासो लाग्नु स्वाभाविक हो। मैले पनि
ब्लु डाइमन्ड सोसाइटीमा फोन गरेर चासो राखेकी थिएँ, तर मेरो चासो भनेको म
महिला हुँ र महिला हुन चाहन्छुभन्दा मलाई तिमी तेस्रोलिङ्गी हौ भनेर
कन्भिन्स गर्न खोजियो। जब म मनैदेखि महिला हुँ भने म कसरी तेस्रोलिङ्गी भएँ
? बेसिक कुरा नै नमिलेपछि मैले चासो राख्न छाडिदिएँ।
जे होस् तपाईं आफूलाई पहिलेदेखि नै महिला मान्नुहुन्थ्यो ?
पहिले मान्दिनथेँ। अरू बालबालिकाजस्तै
मलाई पनि महिला के हो र पुरुष के हो ? भन्ने नै थाहा थिएन। सात कक्षा
पुगेपछि मलाई लाग्यो, ममाथि केही गडबड भएको छ। मेरो मन र शरीरबीच तारतम्य
मिलेको छैन। यो त्यही उमेर हो, जुन उमेरमा आफ्नो संवेदनशील अंगप्रति चासो
हुन्छ।
जस्तो ?
जस्तो मसँग पुरुष अंग थिए। ती स्वस्थ र
सबल हुँदै थिए। मेरो नाम प्रतीक थियो। यसले पनि पुरुषकै प्रतिनिधित्व
गथ्र्यो तर म त्यो शरीर र त्यो नामप्रति कहिल्यै आकषिर्त हुन सकिनँ। मलाई
लाग्थ्यो, पुरुष अंग र पुरुष नाम, जसले मलाई प्रतिनिधित्व गर्छन्, यी दुवै म
होइन। तर यद्यपि के हुँ भन्ने कुराचाहिँ मलाई त्यतिबेला थाहा भएन।
जब शरीर र मनबीच तारतम्य मिल्दैन, मान्छेमा के-के समस्या आउँदो रहेछ ?
मान्छे कन्फ्युज्ड हुँदो रहेछ। म यो होइन
भने म के हुँ त ? जस्तो दाजुहरू क्रिकेट खेल्न ब्याड बोकेर जाँदा म आमासँग
सपिङ जान मन पराउँथे। यसको अर्थ यो होइन कि मलाई खेलकुद मन पर्दैन। म
स्कुलमा राम्रो खेलाडी थिएँ, तर पुरुषको समूहमा पुरुष खेल खेल्दा म आफूसँग
प्रश्न सोधिरहेकी हुन्थे, म यहाँ के गरिरहेकी छु ? के म यिनीहरूकै साथी हुँ
? वा अरू कोही मेरा साथी हुन सक्छन्। यहि कन्फ्युजनका कारण मेरा केटा साथी
पनि उत्तिकै भए, केटी साथीहरू पनि उत्तिकै। समाजले भन्छ, तँ केटा होस्,
केटासँग हिड। मनले भन्छ, तँ केटी होस्, केटी साथी बना। त्यही भएर मेरा केटा
र केटी साथी बराबर भए।
यसले पढाइमा केही समस्या ल्यायो ?
म पढाइमा कहिल्यै कमजोर भइन र छैन पनि, तर
घुम्न जाने, खेल्न जाने समयमा चाहिँ म कन्फुज्ड हुन्थे। परिवारले भने मलाई
भङ्कु भन्थ्यो, थाहा पाएर वा नपाएर छोरी झैं व्यवहार गर्थ्यो। त्यसमा मलाई
रमाइलो पनि लाग्थ्यो।
परिवारले छोरीको जस्तो व्यवहार गर्थ्यो, भन्नुको अर्थ ?
जसले जे भने पनि नेपाली समाजमा छोरीप्रति
गरिने व्यवहार फरक छ। मेरो दाजु साकार राति अबेला घर फर्कंदा उसलाई केही
भनिँदैनथ्यो। म अलि ढिला घर आउँदा मलाई किन ढिला, कहाँ गएको थिइन् भनेर
प्रश्न गरिन्थ्यो। सामान्य केटा भएको भए रिसाउँथे होला, तर म त्यसलाई
मायाका रूपमा लिन्थे। बरु घरमा मलाई जे मन लाग्यो, त्यही गर्न दिँदाचाहिँ
पीडा हुन्थ्यो। मलाई माया गर्दैनन् भन्ने लाग्थ्यो।
जस्तो किशोर हुँदै जाँदा यौनको चाहना बढ्दै जान्छ, तपाईंलाई पुरुषको जस्तो चाहना हुन्थ्यो कि महिला जस्तो ?
यो त गाह्रो कुरा हो। मलाई पुरुषको चाहना
कस्तो हुन्छ, कहिल्यै थाहा भएन। साँच्चै भन्ने हो भने मलाई यौनको चाहना नै
भएन। मेरा साथीहरू सधैं पढ्नमै तल्लीन हुन्थे। मैले केटा-केटी दुवै थरीका
साथीको संगत गरें, तर दुवै थरीका साथी कसैले पनि मसँग यौन वा प्रेमको कुरा
गरेनन्। म अरूभन्दा फरक छु भन्ने थाहा पाएर केही नभनेका हुनसक्छन् वा
राम्रो सर्कल भएका कारण यस्तो हुन सक्छ। मैले कहिल्यै यौन र प्रेमको विषयमा
सोच्नै पाइन्।
अहिले आफूलाई पूर्णरूपमा महिलाका रूपमा पाउँदा कस्तो सोच आउँछ ?
अब चाहिँ कसैले माया गरोस्, मेरो राम्रो
पुरुषसँग विवाह होस्, घरजम होस् भन्ने कल्पना आउन थालेको छ। तर यो दुई चार
दिनयताका कुरा हुन्। अप्रेसन गर्न जाँदा जुन किसिमका व्यक्तिहरूसँग मेरो
भेट भयो, त्यसले मलाई महिलाले सोच्ने कुरा र मैले सोच्ने कुरा एउटै रहेछ
भन्ने थाहा भयो।
तपाईंलाई एकैपटक पुरुषबाट महिला बन्न मन
लाग्यो कि विस्तारै, किनभने यो त निकै ठूलो निर्णय हो, यसका लागि त ठूलो
साहस चाहिन्छ, होइन र ?
निकै ठूलो, आममान्छेले यसलाई लहड मान्न
सक्छन्। मैले कति ठूलो मानसिक लडाइँ गरें, परिवारले कति बोल्ड डिसिजन
गर्यो, यसको कल्पना पनि गर्न सकिँदैन। पहिले परिवारलाई म स्त्री हुँ भनेर
कन्भिन्स गर्न नै समय लाग्यो। मैले लामो समय शिक्षण अस्पताल महाराजगन्जमा
मानसिक उपचार गराएँ। किनभने म महिला हुँ भन्ने भ्रम मात्र पनि हुन सक्थ्यो।
करिब एक वर्षपछि चिकित्सकहरूले म अंगका हिसाबले पुरुष भए पनि शरीरमा
स्त्री हार्मोन्स भएका कारण मेरो सोच्ने तरिका एवं शारीरिक विकास पनि
महिलाजस्तै भैरहेको छ भन्ने ठम्याएँ। चिकित्सकहरूकै कारण मलाई परिवारले
स्त्रीका रूपमा स्वीकार गरेको हो। चिकित्सकहरूले मलाई ब्रिलियन्ट युवतीका
रूपमा सर्टिफिकेट दिएका छन्। त्यसपछि हामी सबैलाई प्रतीक युवतीमा परिवर्तन
हुन सक्छ भन्ने विश्वास भयो।
तर अप्रेसन गरेर युवती हुन सकिन्छ भन्ने कुरा कसरी थाहा भयो ?
मैले एसएलसी पास गरेपछि नै इन्टरनेटका
माध्यमबाट ट्रान्सजेन्डरका विषयमा अध्ययन गर्न थालेकी थिएँ। अरू साथीहरू
नेटमा च्याट गर्दा म यो विषयमा सोधखोज गरिरहेकी हुन्थे। इन्टरनेटमा भएका
लिट्रेचर पढेर नै मैले म किन कन्फ्युज्ड छु भन्ने थाहा पाएँ। मैले शरीर
मात्र पुरुषको लिएर आएकी हुँ भन्ने कुरा थाहा पाएँ। अप्रेसन कहाँ हुन्छ,
कति खर्च लाग्छ भनेर थाहा पाएँ। त्यसपछि मात्र मैले परिवारलाई कन्भिन्स
गर्न थालेकी हुँ। शिक्षण अस्पतालका चिकित्सकहरूले त मेरो कुरालाई पुष्टि
मात्र गरेका हुन्।
तपाईं हिजोआजका कुरामा बालकलाकारका रूपमा
खेल्दा भुक्क परेको हुनुहुन्थ्यो। अहिले कम्मर छिनेको छ, दारी जुँगा पनि
छैनन्, यो कसरी भयो ?
एसएलसी पास गरेपछि नै मेरो तौल घटेको हो।
कम्मर छिन्दै गयो र महिलाको रूप आयो। मेरो दाजुको १६ वर्षमा जुँगा, दार्ही
आएका थिए, मेरो आएन। मेरो मनअनुसारको शरीर १६ वर्षपछि मात्र विकसित भयो।
पुरुष अंग फ्याँकेर महिला त हुनुभयो, तर वक्षस्थलको विकास कसरी भयो ?
शिक्षण अस्पतालमा जब मेरो मानसिक अवस्था
युवतीको छ भन्ने थाहा भयो, चिकित्सकको सल्लाहअनुसार मैले महिला हार्मोन
वृद्धि गर्ने औषधी खान थालें। जुन मैले नेटबाट थाहा पाइसकेको कुरा थियो।
त्यो औषधी एक वर्ष खाँदा वक्षस्थल आजको अवस्थामा आएको हो।
भनेपछि जो कोही पुरुष पनि महिला बन्न सक्ने रहेछन्, होइन ?
यो गलत हो। पुरुष मानसिकता भएका व्यक्तिले
यस्ता औषधी खाएर स्तन बढाउन सक्छन्, तर महिला हुन सक्दैनन्। कुनै पनि
चिकित्सकले मानसिक एवं शारीरिक अवस्था चेक नगरी कसैलाई महिला वा पुरुष
बनाउँदैनन्। यदि कसैले रहरले यस्तो काम गर्यो भने उसले जीवनभरीका लागि
आफैलाई क्षति पुर्याउँछ। यस्तो रिस्की गेम कसैले खेल्नु हुँदैन। विश्वमा
केही व्यक्तिले यस्तो काम गरेर जीवन बर्बाद बनाएका उदाहरण पनि छन्।
एउटा पुरुष अंग अप्रेसनपछि कसरी महिला अंग बन्दो रहेछ ?
वक्षस्थल बनाउनु त धेरै ठूलो कुरा होइन।
यो एक वर्ष औषधी खाएकै भरमा निर्माण हुन्छ, तर तल्लो अंगको जुन कुरा छ,
धेरै मानिसलाई मसँग कम्मर मुनी हुने महिला अंग छैन भन्ने भ्रम रहेछ।
वास्तविकता त्यो होइन। पुरुष अंगमा अण्डकोष निकालेर बाँकी रहेका सबै
संवेदनशील अंगलाई महिला अंगमा परिणत गरिन्छ। कुनै पनि नशा नकाटी इमोसन आउने
सबै अंगलाई ती स्थानमा राखिन्छ यसले शारीरिक सम्पर्क गर्दा पूर्णरूपमा
आनन्द आओस्। त्यसैले यो निकै ठूलो अनुसन्धानपछि बाहिर आएको अप्रेसन हो।
थाइल्यान्डका वरिष्ठ सर्जन डा. सुपोर्न यस्तो अप्रेसन गर्न विश्वमै चर्चित
छन्। उनैबाट मैले यी कुरा थाहा पाएकी हुँ।
अप्रेसनपछि महिला यौन अंग त बन्यो, तर प्राकृतिक रूपमा महिलाले जुन सन्तान पाउँछन्, त्यसबाट तपाईं वञ्चित हुनुभयो नि, होइन ?
अहिलेको जमानामा सन्तान आफैंले
जन्माउनुपर्छ भन्ने छैन। कतिपय सक्षम महिलाले पनि सन्तान पाउन नचाहेका
उदाहरण हाम्रै समाजमा विद्यमान छन्। यद्यपि मैले सन्तान जन्माउन सक्दिनँ
भन्ने पनि होइन। एउटा अप्रेसन गरेर गर्भासय ट्रान्सप्लान्ट गर्ने हो भने म
सन्तान पनि जन्माउन सक्छु। टर्कीमा यस्तो अप्रेसन हुन्छ। यदि मसँग विवाह
गर्ने व्यक्तिले म तिम्रै गर्भबाट सन्तान जन्माउन चाहन्छु भन्यो भने मैले
त्यो पनि गर्नुपर्छ। यत्ति हो, यसमा खर्च पनि अलि धेरै लाग्छ, रिस्क पनि
हुन्छ।
भनेपछि पुरुषले पनि सन्तान जन्माउन सक्छ ?
सक्दैन, मजस्तो पुरुष अंग लिएर जन्मिएका
महिलाले चाहे भने विज्ञानको सहयोगले सन्तान जन्माउन सक्छिन्। किनभने सन्तान
जन्माउनु भनेको सानो कुरा होइन, यो प्राकृतिक रूपमै गाह्रो कुरा हो।
त्यसमाथि ट्रान्सजेन्डरले ठूला-ठूला अप्रेसन गरेर त्यसको भरमा सन्तान
जन्माउनु सानो साहस होइन। यदि मलाई कसैले चुनौती दिन्छ भनेचाहिँ म सन्तान
जन्माउन सक्षम छु भनेर प्रमाणित गर्न सक्छु।
आज पहिलो पटक नेपालीहरूले एउटा पुरुष
महिला कसरी हुँदा रहेछन् भन्ने थाहा पाए, तर कतिपय महिलाहरू पुरुष हुन
चाहन्छन्, त्यसको पनि उपाय होला नि, होइन ?
जसरी म पुरुष भए पनि महिला थिएँ, त्यसैगरी
कोही महिला अंगमा पुरुष हुन सक्छन्। उनीहरूले आफूलाई पुरुषकै रूपमा
प्रस्तुत हुन साहस गर्नुपर्छ। विदेशमा पनि मैले यस्ता साहसी पुरुषहरू
भेटेकी छु तर अंग नै परिवर्तन गर्न भने महिलालाई जस्तो सजिलो छैन। पुरुष
अंगलाई सजिलै महिला अंगमा परिणत गर्न सकिन्छ, किनभने त्यसमा अंगकेा
सेन्सेसन मर्दैन। महिला अंगलाई पुरुष अंगमा परिणत गर्न भने कृत्रिम लिङ्ग
निर्माण गर्नुपर्छ। त्यसैले यो अप्रेसन गरेर बनाएको भन्ने कुरा सजिलै थाहा
हुन्छ। महिलाको थाहा पाउन सकिँदैन। फेरि वक्षस्थल अप्रेसन गरेर पुरुष जस्तै
सफाचट बनाउनुपर्छ। दारी जुँगा आउने बनाउन पुरुष हार्मोनको औषधी खानुपर्छ।
मुख्य समस्या बक्षस्थलको अप्रेसन र कृत्रिम लिङ्गमा आउँछ। यो अलि कडा खालको
अप्रेसन हो।
१८ वर्षकी हुनुभयो, भावी योजना के छ ?
मेरो जीवनको एउटा पाटो सकियो। बल्ल नयाँ
जीवन पाएकी छु। स्त्रीका रूपमा नागरिकता र पासपोर्ट बनाएपछि पुराना सबै
कुरा बिर्सिएर नयाँ जीवन जीउन चाहन्छु। यसका लागि सरकारसँग मेरो नयाँ परिचय
दिन आग्रह गर्छु। मैले र मेरो परिवारले जे सक्थ्यो गर्यो, अब पालो
सरकारको हो। पुरुष भैसकेकी महिलालाई स्त्रीका रूपमा स्वीकार गर्ने कानुनी
प्रावधान छैन। पुरुष महिला हुने बित्तिकै आरक्षणजस्ता कुरा पनि आउँछन्,
यसले केही जटिलता उन्पन्न गर्छ भन्ने कुरा आएको छ, के भन्नुहुन्छ ?
सरकारले म नेपाली नागरिक होइन भन्नु
पर्यो। कि म महिला होइन भन्नुपर्यो। नत्र मलाई मेरो अधिकार किन नदिने ? म
लडेर पनि आफ्नो अधिकार लिन्छु। ढिलो चाँडो मलाई सरकारले नागरिकता दिनै
पर्छ।
तपाईंले आफ्नो ब्वाइफ्रेन्ड छैन भनेर स्पष्टीकरण दिइसक्नुभयो, तर विवाह त गर्नैपर्छ, यस विषयमा के धारणा छ ?
नेपालमा मलाई सबैले चिनिसके। नेपाल जस्तो
मुलुकमा म जस्तो युवतीसँग विवाह गर्ने ठूलो छाति भएको व्यक्ति छ भन्ने
लाग्दैन। फेरि केटा विवाह गर्न राजी भए पनि उसको परिवार त्यति साहसी नहुन
सक्छ। यस्तो अवस्थामा मैले विदेशी युवा नै खोज्नुपर्ने हुनसक्छ। किनभने
विदेशमा यसलाई सामान्य मानिन्छ।
त्यही भएर ए लेभल पढ्नुभएको हो ? विदेशमै सेटल हुने विचार छ ?
म पहिलेदेखि नै नेपाली केटासँग मेरो विवाह
हुन सक्छ भन्ने कुरामा विश्वस्त थिइन्। औषधी विज्ञानमा विद्यावारिधि गर्ने
र मेरो भावना बुझ्न सक्ने बौद्धिक व्यक्तिसँग विवाह गर्ने योजना छ। भर्खरै
नयाँ जीवन पाएकी छु, विवाह गर्ने हतार पनि छैन।
