दलहरु निर्वाचनमा सहमति नजिक

काठमाडौ, कार्तिक १५ -
प्रमुख राजनीतिक दलहरु संविधानका बिषयमा सहमति भए पनि, नभए पनि निर्वाचनमा जान सहमति नजिक देखिएका छन् । एमाओवादीले संविधानसभा पुनःस्थापना गरी निर्वाचनमा जानु पर्ने बताइरहेकै बेला एमाले वरिष्ठ नेता माधबकुमार नेपालले संविधानका मिलेका बिषय समेटेर निर्वाचनमा जानु पर्ने प्रस्ताव ल्याएपछि कुरा मिल्ने अवस्था देखिएको हो ।
प्रमुख दलको नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकमा नेपालले सात बुँदे लिखित प्रस्ताव पेश गर्दै संविधान जारी गरे पनि, नगरे पनि निर्वाचनमा जानु पर्ने प्रस्ताव राखेका थिए । ‘संविधान जारी गरे पनि, जारी हुन सकेन भने पनि चुनाव चाहियो, चुनावमा जानुपर्छ’ उनले आफ्नो प्रस्तावबारे भने, ‘संविधानमा सहमति भएजत्तिको जारी गरौं । अहसहमति भएका विषय कसरी टुंगो लगाउने विषयमा निश्कर्ष निकाल्ने प्रस्ताव गरें ।’ उनले असमति भएका बिषयको समयसीमा राखेर के गर्ने भन्नेमा टुंगो लगाउन प्रस्ताव गरे ।

एमाओवादीले हालसम्म सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने नेपालको प्रस्तावलाई सकरात्मक भनेको छ । एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सहमति भएका बिषय समेटेर संविधान जारी गर्ने नेपालको प्रस्ताव सकरात्मक भएको बताए । ‘माधबजीको प्रस्ताव स्प्रीटमा ठिकै थियो’ उनले भने । नेपालले पनि आफनो प्रस्तावलाई एमाओवादीले सकरात्मक रुपमा लिएको प्रतिक्रिया संवाददाताहरुसंग दिएका थिए ।
उनले आगामी बैशाखमै निर्वाचन हुनुपर्ने प्रस्ताव पनि गरेका छन् । एमाओवादीले पनि बैशाखमै निर्वाचन हुनुपर्ने बताउदै आएको छ । उनले निर्वाचनमा जान आवश्यक सबै तयारीका लागि दलहरुबीच सहमति गर्न आग्रह समेत गरेका थिए ।
बैठकमा कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित थिए । एमाओवादी अध्यक्ष दाहालले कांग्रेसकै कारण सहमति हुन नसकेको बताएका थिए । ‘कांग्रेस पुनःस्थापना हो कि चुनावमा जाने हो भनेर स्पष्ट गर्नु पर्यो’ दाहालको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘कांग्रेसले सरकार पनि माग्छ । केही नेता पुनःस्थापना भन्नुहुन्छ, कोही चुनाव भन्नुहुन्छ । एउटै निर्णय गरेर आउनु पर्यो नि ।’
प्रमुख दलको बैठकमा कांग्रेस नेताबीच चर्काचर्की भएको थियो । एमाओवादीको संविधानसभा पुनःस्थापनाको प्रस्तावमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले समर्थन गरेका थिए । सभापति सुशिल कोइराला र बरिष्ट नेता शेरवहादुर देउवा समेत अनुपस्थित रहेको बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजालले निर्वाचनमा जानुपर्ने बताएका थिए । पौडेलले कार्यकारी निकायले संविधान संशोधन गर्ने नजिर बसाल्दै त्यसले पछिसम्म नकारात्मक असर पर्ने भन्दै संविधान संशोधनका लागि छोटो समयका लागि भएपनि संविधानसभा पुर्नस्थापना हुनुपर्नेमा जोड दिएका थिए ।
पौडेलको भनाईमा कांग्रेस केन्द्रीय सदस्य केसीले आपत्ति जनाउदै पुर्नस्थापनाको मुद्दा निरर्थक रहेको बताए । ‘निर्वाचनमा जानका लागि राजनीतिक सहमतीले हुननसक्ने तर पुर्नस्थापनाका केको आधारमा गर्ने ? पुर्नस्थापना कसले गरिदिने ? केसीको भनाई थियो, ‘संविधानसभाको पुर्नस्थापना गुर्नभनेको अलोकतान्त्रिक हो र यो न्यायपालिका र जनताको मानहानी समेत हो ।’
बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले सवै कुरा छाडेर पहिला सहमतीय सरकारमा सहमती जुटाउनु पर्ने बिषय राखेका थिए । प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बन्ने र यसैले निर्वाचन गराउने भनेर दिएको अभिव्यक्तीले अविश्वास बढाएको बताउदै खनालले पहिला सरकारको बिषयमा सहमती हुनुपर्ने भनाई राखेका थिए । बैठकले कुनैपनि बिषयमा निष्कर्ष निकाल्न नसकेपछि सहमतीको प्रस्ताव तयार पार्न भन्दै पुनः शीर्षस्थ नेताहरुलाई जिम्मा दिने निर्णय गरेको थियो । ‘आजभोलीनै शीर्षस्थ नेताहरु बसेर सहमतीको प्रस्ताव ल्याउने भनेर बैठक टुंगिएको छ’ केसीले भने, ‘आजको बैठकले कुनैपनि बिषय टुंगाउन सकेन ।’
 एमाले नेता नेपालले आगामी सहमतिको सरकारले मात्र बजेट ल्याउने र निर्वाचनको सबै तयारी गर्नुपर्ने प्रस्ताव समेत गरेका थिए ।
बैठकमा माओवादीले बजेटमा सहमती गर्न समेत प्रस्ताव गरेको थियो । तर, विपक्षीहरुले भट्टराई नेतृत्वकै सरकार कायम रहेसम्म पुर्ण बजेटमा सहमती गर्न नसकिने भनाई राखेका थिए । बैठकले चार पक्षका शिर्ष नेताहरु बसेर प्याकेजमा सहमति गर्न छलफललाई तीब्रता दिने निर्णय गरेको थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......