चाउमिनले बलात्कार बढाउँछ भन्ने कुरा के
तपाइँ पत्याउनुहुन्छ ? सायद पत्याउन सकिँदैन । तर भारतको हरियाणास्थित
जिन्द जिल्लाको एक पञ्चायतले चाउमिनका कारण बलात्कार बढेको ठहर गरेको छ ।
जिन्द जिल्लाको छातर गाउँ पञ्चायतले गाउँमा बढेका बलात्कारका घटनामा चाउमिन दोषी रहेको ठहर गरेको हो ।
यौनका विषयमा सो पञ्चायत पछिल्लो समयमा
निकै चर्चित तथा विवादित रहने गरेको छ । एक हप्ताअघि मात्रै एक जना पञ्चायत
नेताले उमेर छिप्पिने बेलासम्म पनि छोरीको बिहे नगरिदिँदा बलात्कार बढेको
बताएका थिए । बलात्कार घटाउन छोरीको बिहे १६ वर्षमै गरिदिनुपर्ने उनको तर्क
थियो ।
बलात्कार बढ्नुका कारणबारे विभिन्न
अड्कलबाजी चलिरहेका बेला पञ्चायतले अन्ततः औपचारिक रुपमै चाउमिनलाई दोषी
करार गरेको हो । पञ्चायत अध्यक्षका अनुसार चाउमिनको सेवनले तन्नेरीहरुको
सरीरमा हर्मोन असन्तुलित बनाउँछ जसका कारण उनीहरु उत्तेजित हुन्छन् र
सेक्सको तिर्खा निकै बढेपछि बलात्कारको तहसम्म पुग्छन् ।
पञ्चायतको यस्तो ठहर कत्तिको वैज्ञानिक हो
? भन्ने कुराको भने परीक्षण भैसकेको छैन । तर पटकपटक विवादित कुरा गर्ने
उक्त पञ्चायतको पछिल्लो निर्णय पनि विवादित बन्ने पक्का छ ।

