होमनिधि पौडेल २७ असोज, ब्रिसवेन। अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु सामान्यतया ईन्जिनियरिङ, चिकित्सा, नर्सिंङ, प्राध्यापन, पर्यटन, श्ािक्षा, हस्पिटालिटी, हाउजिङ, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदै आएको पाईन्छ । कामकै शिलशिलामा कैयौं नेपालीहरुले यहाँका आधुनिक कृषि फार्ममा लामै अनुभव लिएका छन् ।
तर पछिल्ला दिनमा यहाँ आएका नेपालीहरु ब्यबसायीक खेतीपाती अर्थात फार्मिङमा पनि लाग्न थालेका छन् । बिदेशमा सिकेको सीपबाट स्वेदश फर्किएर आधुनिक कृषि फार्म खोल्ने लहर चलिरहेका बेला नेपाली युवा युवराज केसी भने अष्ट्रेलियामै ब्यासायिक फार्मिङमा लागेको अष्ट्रेलियाबाट संचालित कम्युनीटि न्यूज पोर्टल एयुनेपाल डटकमले जनाएको छ ।
दक्षिणपूर्वी क्विन्सल्याण्डस्थित हेलिडन भन्ने स्थानमा उनले हालै एउटा फार्म सञ्चालनमा ल्याएका छन् । विगत ४ वर्षदेखि गि्रन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वा स्थित के. फार्म नामक एउटा फार्ममा म्यानेजरको रुपमा काम गरि अनुभव लिएका युवराजले नीजि लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् ।
युवी फार्म नाम दिईएको यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रङ्गमा फल्ने टमाटरको ब्यवसायिक खेति सुरु गरिएको छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो रहेको फार्म संचालक के.सीले जानकारी दिए । उनका अनुसार विरुवा रोपेको ६ हप्तामा टमाटर बजारमा जान योग्य भैसक्नेछन् । यो फार्म ब्रिस्बेनदेखि करिव १ सय १० कि.मी. पश्चिममा पर्दछ । ७० एकड क्षेत्रफलमा फैलिएको यस फार्ममा आगामी दिनमा विभिन्न उन्नत प्रजातीका तरकारीजन्य कृषि उपजहरु उत्पादन गर्ने योजना रहेको उनले एयुनेपाललाई बताए । फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।




