१२ कात्तिक, गोलबजार (सिरहा), । सिरहाको सीमावर्ती गाविस इटाटार-९
कमलपुरस्थित खेतमा आज बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई
सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत-५ बस्ने १९ वषर्ीय
रामपुजन मण्डल छन् । भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११
वषर्ीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको
हो ।इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताउनुभयो । उहाँले भन्नुभयो- “बालिकालाई नियन्त्रणमा लिएर दुई युवकले सामूहिक बलात्कार गरिरहेका थिए । लखेटेर समात्न खोज्दा एकजना भागे पनि मण्डल पक्राउ पर्यो ।”
बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनास्थल सिरहाको इटाटार र भारतको महौलियाबीचमा पर्छ । भारतको महौलियामा कुटानी पिसानी गर्ने मिल नभएकाले त्यहाँका नागरिक इटाटार आउने गर्दछन् । रासस
