प्रहरीको मोष्ट वाण्टेड सूचीमा थिए भण्डारी
१४ कात्तिक, गुल्मी । धार्मिक कार्यक्रममा सहभागी बनाउन अमेरिका लगेर
उतै सेटल गरिदिने भन्दै एक सय भन्दा बढिबाट करिव ५ करोड रुपैयाँ ठगेको
अभियोगमा एक स्वामी पक्राउ परेका छन् ।
आफुलाई श्री बिष्णु प्रपन्चार्यजी महाराज भनेर चिनाउने गुल्मी बस्तुका
बिजय भण्डारीलाई गुल्मी प्रहरीले आज अपरान्ह तम्घासबाट पक्राउ गरेको हो ।‘उहाँ दशैं मनाउन गाउँतिर आउनुभएको सुराक पाएका थियौं, पछि गर्दै जाँदा पक्राउ गर्न सफल भयौं’-गुल्मी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गुरुबिष्णु काफ्ले भन्नुभयो । भोलीदेखि तम्घासमा हुने महायज्ञमा सहभागी हुन आएका भण्डारीलाई पक्राउ गरिएको हो ।
भण्डारीले गत दुई बर्षदेखि नेपाल तथा भारतमा रहेका नेपाली बिद्यार्थी र ब्यबसायी र योग प्रशिक्षकहरुलाई अमेरिका लगिदिने भन्दै पैसा उठाएको उपरिक्षक काफ्लेले जानकारी दिनुभयो । भण्डारीबाट ठगिएकाहरुले बैदेशिक रोजगार बिभागमा उजुरी दिएपछि बिभागले गत साउन २६ गते उनलाई पक्रिन प्रहरीलाई अनुरोध गरेको थियो । त्यतिबेलादेखि नै भण्डारी प्रहरीको वारेन्ट सूचीमा थिए ।
सन २०१३ अपि्रल मा हुने २९ महिने धार्मिक कार्यशालामा सहभागी बनाइदिने र उतै सेटल गरिदिने उनले आश्वासन दिएका थिए । प्रतिब्यक्ति ५ लाख रुपैयाँ लाग्ने भन्दै उनले करिव एक सय जनासँग पैसा उठाएको बताइएको छ ।
‘प्रपन्चार्य नाम राखेर र गेरुबस्त्र लगाएर उनले ठगिरहेको पाइयो’ गुल्मी डीएसपी काफ्लेले भन्नुभयो- उनले डाक्टरहरुलाई समेत फसाइसकेका रहेछन् ।’
