राजनीतिक सहमति जुटाउने जिम्मा पाएका एकीकृत माओवादी
अध्यक्ष प्रचण्डले शनिवार छुट्टा छुट्टै भेटमा नेपाली कांग्रेस र नेकपा
एमालेका शीर्ष नेतहरुसमक्ष संविधानसभा पुनर्स्थापना वा ताजा निर्वाचन
सहितको तीन विकल्प प्रस्तुत गरेका छन्।
उनले संविधानसभा पुनर्स्थापनाको पक्षमा पार्टीभित्र कुराकानी गर्न विपक्षी नेताहरुलाई आग्रह गरेको बुझिएको छ।तर एमाले अध्यक्ष झलनाथ खनालले ताजा निर्वाचन बाहेक अन्य विकल्पमा छलफल गर्नुको तुक नभएको प्रतिकृया दीए।
दशैको विदा सकिएको लगत्तै राजनीतिक भेटघाट पनि बाक्लिन थालेको छ।
शनिबारको छलफलका क्रममा प्रस्तुत गरिएको लिखित विकल्पबारे प्रचण्डले संवाददाताहरुलाई भने, “संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारबारे उपायहरु राखेको छु र वहाँहरुले पार्टीमा यसबारे छलफल गर्ने बताउनु भएको छ।”
तीन विकल्पहरु प्रस्तुत गरेपनि प्रचण्डले संविधान जारी गर्न छोटो समयको लागी संविधानसभा पुनर्स्थापनाको पक्षमा माहोल सृजना गर्नुपर्ने कुरामा जोड दिएको देखिन्छ।
"संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकारबारे उपायहरु राखेको छु र वहाँहरुले पार्टीमा यसबारे छलफल गर्ने बताउनु भएको छ"
प्रचण्ड, एकीकृत माओवादी अध्यक्ष
तर दुवै ठूला विपक्षी दलका नेताहरुले पुनर्स्थापना हुन नसक्ने बताएका छन्।
विकल्पहरु
प्रचण्डसंगको भेटपछि कांग्रेस सभापति सुशिल कोईरालाले भने, “म प्रस्टै भन्दिउँ संविधानसभा पुनर्स्थापना गर्ने हामी सम्भावना देख्दैनौं।”नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ताजा निर्वाचन बाहेक अन्य बिकल्पबारे गरिने छलफल अर्थहिन हुने बताए।
तर विकल्पहरुबारे विपक्षी नेताहरुनै एकमत छैनन्।
कांग्रेसभित्र वरिष्ठ नेता शेर बहादुर देउबा र उपसभापति रामचन्द्र पौडेल संविधान जारी गर्न संविधानसभा पुनर्स्थापनाको पक्षमा छन्।
त्यसतै एमालेभित्र वरिष्ठ नेता माधव नेपाललाई आफनो पार्टीभित्र पुनर्स्थापनबारे बहस चलाउन प्रचण्डले आग्रह गरेको बुझिएको छ।
त्यस लगत्तै शनिवार साँझ राष्ट्रपति रामवरण यादवसंगको भेटपछि एमाले नेता नेपालले तिहारभित्रमा माओवादीसंग प्याकेजमै सहमति गर्न आफूले पहल गर्ने बताएका छन्।
माओवादीको बुझाइमा आफू सत्ताको विषयमा लचिलो भए र पुनर्स्थापना नगरी निर्वाचनमा जानेबारेका जटीलताहरु प्रष्ट्याइ दिए पुनर्स्थापनामा अन्य दलहरु सहमत हुनेछन्।

