सरकार बाधक बन्दैन - प्रधानमन्त्री
१४ कात्तिक, काठमाडौं । नेकपा एमालेको चियापान कार्यक्रममा भेट भएका
शीर्ष नेताहरुले राजनीतिक सहमति छिटै हुने दावी गरेका छन् । बिहान
बानेश्वरमा बैठक गरेर फेरि एमालेको चियापानमा पुगेका नेताहरुले सहमतिमा जोड
दिएका हुन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब
दलहरुबीच निर्णायक छलफल हुने बताउनुभयो ।
‘सुशील जी, झलनाथ जी यहीँ हुनुहुन्छ अब सहमतिका साथ अगाडि बढ्ने हो’ अरु शीर्ष नेताहरुको हारमै रहेका प्रचण्डले पत्रकारसित भन्नुभयो-’पर्सि हाम्रो बैठक हुन्छ, त्यो बैठकले एउटा सहमति गर्छ ।’
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहमति, सहकार्य र मेलमिलापबाटै मुलुकले निकास पाउने बताउनुभयो । ‘सहमतिको लागि सरकारले मार्ग प्रशस्त गर्नुपर्छ’ पत्रकारसितको कुराकानीमा कोइरालाले भन्नुभयो ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले चियापानले सहमतिको वातावरणलाई अझै प्रगाढ बनाएको भन्दै सहमतिको विकल्प नभएको बताउनुभयो । ‘मुलुकलाई निकास दिनको लागि पनि सहमति आवश्यक छ, अब चुनावमै गएर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्छ ।’
नेताहरुको कुरा सुनेर बसेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहमतिको लागि सरकार बाधक नबन्ने बताउनुभयो । ‘सहमतिबाटै मुलुकले निकास पाउँछ, दलहरुले गर्ने सहमतिलाई सरकारले इमान्दारीपूर्वक कार्यान्वयन गर्छ ।’
