काठमाडौ
कात्तिक ५ ,जाजरकोटका करिब दुई दर्जन गाउँ विकास समितिमा चामल नपुग्दा चरम
खाद्यसंकट उत्पन्न भएको छ । दसैँमा एकै छाक भए पनि भात खाने यस क्षेत्रका
बासिन्दाको चाहना अधुरो हुने भएको छ । प्राय: खाद्यान्न अपुग भइरहने
जाजरकोटका भगवती, रग्दा, खगेनकोट, लहँ, नायकवाडा, रोकायगाउँ, लिम्सा,
सक्ला, ढिमे, दह, पजारु, कोर्ताङ, गर्खाकोट, दशेरा, सीमा, जुंगाथापाचौर,
अर्छानी, टालेगाउँ, थालारैकर, पैँक, झाप्रालगायत गाविसमा तीन महिनादेखि
विद्यमान खाद्य संकट दसैँ मुखैमा आइपुग्दा पनि समाधान भएको छैन ।नेपाल
खाद्य संस्थान जाजरकोट शाखाले खाद्यसंकट प्रभावित क्षेत्रमा दसैँभित्रै
चामल पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
तर, प्रतिबद्धता
कार्यान्वयन नहुँदा यस क्षेत्रका बासिन्दा झेल्न बाध्य छन् । दसैँमा भात
खाने आशामा बसेका उनीहरू चामल नआएपछि जिल्लिएका छन् ।केही दिनअघि जिल्लाको
दशेरास्थित खाद्य संस्थानको डिपोबाट ५० क्विन्टल चामल वितरण गरिएको निमित्त
कार्यालय प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । टेन्डर स्वीकृत नभएकाले
अन्य क्षेत्रमा चामल पुग्न नसकेको उनले बताए ।कुल १६ हजार ६ सय ९८ हेक्टर
खेतीयोग्य जमिन रहेको जाजरकोटमा यस वर्ष समयमा पानी नपर्दा मकै उत्पादन २५
प्रतिशतले घटेकाले खाद्यसंकट चरम भएको हो । जिल्लाको पूर्वी क्षेत्रमा
खाद्यान्न पूर्ति गर्ने उद्देश्यले रग्दा गाविसको चौखा, उत्तरी क्षेत्रका
लागि नायकवाडा गाविसको घाट, उत्तरपश्चिमी क्षेत्रका लागि पजारु गाविसको
घोगी र पश्चिम क्षेत्रका लागि दशेरा गाविसको दशेरामा नेपाल खाद्य संस्थानका
डिपो स्थापना गरिएका छन् । लामो समयदेखि सबै खाद्य डिपो ‘निल’ भए पनि
समस्या समाधानतर्फ संस्थानले अग्रसर नभएको स्थानीयको आरोप छ ।हाल सदरमुकाम
खलंगास्थित संस्थानको शाखामा ६ सय क्विन्टल जापानिज चामल मौज्दात छ ।
दसैँका लागि ल्याइएको सय क्विन्टल अरुवा मोटो चामल भने एक सातामै सकिएको
छ । दसैँका अवसरमा प्रतिकेजी दुई रुपियाँ सहुलियत दिइएको थियो । संस्थानको
जाजरकोट शाखाबाट चामल लिने उपभोक्तामध्ये पूर्तिमकाँडा गाविसका स्थानीय पनि
छन् ।टेन्डर प्रक्रियामा ढिलाइ भएकाले सम्बधित डिपोमा चामल पुर्याउन
नसकिएको कार्यालयले जानकारी दिएको छ । यस वर्ष सरकारले जाजरकोटका चार
डिपोमा ८/८ सय क्विन्टलका दरले तीन हजार दुई सय र शाखा कार्यालयमा चार हजार
दुई सय गरी जम्मा सात हजार चार सय क्विन्टल चामलको कोटा निर्धारण गरेको
छ । अघिल्लो आर्थिक वर्षमा केही ठेकेदारले राजनीतिक आडमा सम्बन्धित डिपोमा
आवश्यक खाद्यान्न नपुर्याएपछि स्थानीयले खाद्यसंकट व्यहोर्नुपरेको थियो ।
यस वर्ष त्यस्तो हुन नदिने प्रतिबद्धता कार्यालयले जनाएको छ ।आर्थिक वर्ष
०६७/६८ मा जाजरकोटमा ११ हजार ८ सय ३५ मेट्रिकटन खाद्य अपुग थियो भने आव
०६८/६९ मा ११ हजार ४ सय ६३ मेट्रिकटन खाद्य अपुग थियो । अघिल्लो अर्थिक
वर्षको तुलनामा आव ०६८/६९ मा केही मात्रामा खाद्य पूर्ति भए पनि चालु
आर्थिक वर्षमा वर्षा नहुँदा खाद्य उत्पादन कमी भएको र खाद्यसंकट उत्पन्न
भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा २५ प्रतिशत
खाद्य उत्पादन घट्ने कार्यालयको अनुमान छ ।

