काठमाडौ, कार्तिक २ -
नेपालमा अनधिकृत रूपमा विदेशी कम्पनीको स्याटलाइट फोन प्रयोग भएको पाइएपछि
सरकारले कडाइ गर्ने भएको छ । अनधिकृत स्याटलाइट फोनको प्रयोगबाट सरकारले
राजस्व गुमाएको र सुरक्षा चुनौती पनि देखिएपछि नियामक निकाय दूरसञ्चार
प्राधिकरणले नियन्त्रणको काम सुरु गरेको हो । प्रहरीले विभिन्न स्याटलाइट
फोनबारे अनुसन्धान गरी त्यसको पूर्ण विवरण माग्दा नेपालमा अनुमति पाएका
कम्पनीले सेवा नदिएको खुल्न आएपछि कडाइ गर्न लागिएको हो । गैरकानुनी रूपमा
सञ्चालित स्याटलाइट फोनले सुरक्षाको चिन्ता बढाएको भन्दै प्रहरीले
प्राधिकरणसँग चासो व्यक्त गरेको थियो । प्रहरीको चासोसँगै प्राधिकरणले
अनधिकृत रूपमा स्याटलाइट फोन प्रयोग नगर्न केही समयअघि सूचनासमेत जारी
गरेको थियो ।
नेपालमै दुई वटा कम्पनीले ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन सर्भिस (जीएमपीसी- एस) सेवा सञ्चालनको अनुमति लिएर स्याटलाइट फोन दिइरहेका छन् । 'तर विदेशीहरूले नेपालमा आउँदा ल्याउने स्याटलाइट फोनको प्रयोग बढिरहेको छ,' प्राधिकरणका एक अधिकारीले भने, 'यसले सुरक्षा चिन्ता बढाएको छ । यो अवस्था हटाउन अनधिकृत फोनको प्रयोग रोक्न लागिएको हो ।' विदेशीले नेपाल आउँदा ल्याउनेले स्थानीय कम्पनीसँग अनुमति नलिई चलाउने गरेको र कतिले र्फकंदा छाड्ने र ती सेटसमेत अनुमतिबिना चल्ने गरेका छन् । कानुनी रूपमा विदेशबाट स्याटलाइट फोन ल्याए स्थानीय कम्पनीसँग आबद्ध भई अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्छ । 'प्रहरीले विभिन्न अनुसन्धानका क्रममा अनधिकृत रूपमा स्याटलाइट फोन प्रयोग गरेको पाएपछि प्रश्न उब्जाएकाले प्राधिकरणले सूचना जारी गरेको हो,' उनले भने, 'त्यसैले अब यसरी अनधिकृत रूपमा फोन प्रयोग गरेको पाइए प्रहरीलाई कारबाही गर्न सजिलो होस् भनेर पनि प्राधिकरणले सूचना जारी गरेको हो ।' प्राधिकरणको सूचनामा अनधिकृत रूपमा फोन प्रयोग गरेको पाइए कारबाही गर्नेसमेत उल्लेख छ । नेपालमा कन्टेलेसन प्रालि र आई फोर टेक्नोलोजीले स्याटलाइट फोन सञ्चालनको अनुमति पाएका छन् । यी कम्पनीका १७ हजार स्याटलाइट ग्राहक छन् । विदेशी कम्पनीबाट भने जस्तोसुकै आपराधिक काम गरे पनि फोनको पूर्ण विवरण नपाउने उनले बताए । 'विदेशी कम्पनीको स्याटलाइट फोनबाट कुरा गर्दा फोनको ट्राफिक बाइपास हुन्छ,' उनले भने, 'यसले गलत नियत भएको व्यक्तिलाई गलत काम गर्न सहयोग पुर्याउँछ ।' विदेशी कम्पनीको फोनको प्रयोगबाट सरकारले राजस्व गुमाएको छ । स्थानीय कम्पनीबाट अनुमित लिएर सञ्चालन भएको भए त्यसबाट कुराकानी हुँदा आउने रकमबाट सरकारले राजस्व पाउँथ्यो । तर अनधिकृत रूपमा सञ्चालन भएको फोनबाट सरकारले कुनै राजस्व पाउँदैन । नेपालमा स्याटलाइट फोन सञ्चालन अनुमति पाएका कम्पनीहरू गैरकानुनी स्याटलाइट फोनबाट उनीहरूको व्यवसायमा समेत असर परेको बताउँछन् । 'विदेशी कम्पनीको फोन नेपालमा चलाउँदा हाम्रा ग्राहक पनि त्यता जाने गरेका छन्,' कन्टेलेसनका महाप्रबन्धक सनातन गजुरेलले भने, 'यसले हाम्रो व्यापार घटाएको छ । साथै सरकारको राजस्व पनि गुमेको छ ।' पाँच वर्ष अगाडिको अध्ययन अनुसार नेपालमा अनुमति लिएर सञ्चालन भएको स्याटलाइट फोन जति नै संख्यामा विदेशी कम्पनीको फोन नेपालमा सञ्चालन भएको उनले बताए । 'अहिले कति चालू छन् भन्ने तथ्यांक छैन,' उनले भने, 'तर अनधिकृत रूपमा प्रशस्त स्याटलाइट फोनको प्रयोग हुँदै आएको छ ।'
उनका अनुसार पदयात्रा मार्ग, हिमाली क्षेत्रका साथै ग्रामीण क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा स्याटलाइट फोन प्रयोग हुने गरेको छ । यसमा कतिपयले अनुमति लिएर चलाए पनि कतिले बिनाअनुमति चलाएको उनले बताए । संसारको जुनसुकै स्थानमा गए पनि काम गर्ने स्याटलाइट फोन सुरक्षित दूरसञ्चारको माध्यम मानिन्छ । नेपालमा मोबाइल फोनको व्यापक विस्तारसँगै पछिल्लो समयमा यसको प्रयोग केही घटेको छ । स्याटलाइट फोनबाट कुराकानी गर्दा प्रतिमिनेट १ सय १९ रुपैयाँ पर्छ ।
