दशैंमै किन खेल्ने पिङ ?

६ कात्तिक, काठमाडौं । दशैंमा एकपटक धर्ती छोड्नुपर्छ भन्दै यो बेला बुढाबुढी समेत एकछिन पिङमा बसेर खुट्टा तेर्साउँछन् । केटाकेटी र युवायुवतीलाई त पिङ नहाली दशैं आए जस्तै लाग्दैन । अहिले गाउँठाउँ र शहरबजारका धेरै ठाउँमा लिंगे पिङ र रोटे पिङ हाल्ने तथा खेलेर रमाइलो गर्ने क्रम शुरु भैसकेको छ ।

ससाना बालबालिका भएका हरेक घरमा पिंढी माथिको दलिन, आँगन, नजिकको रुखको हाँगामा पिङ देख्न पाइन्छ । बिहान उठेदेखि राति नसुतेसम्म बालबालिका पिङमै झुण्डिन्छन् । पिङ पाएपछि खान र सुत्न समेत बिर्सन्छन्, उनीहरु । गाउँठाउँमा चौतारा, चौर र सार्वजनिक ठाउँमा लिंगे पिङ र रोटे पिङ हालेर रमाइलो गरिन्छ । दशैंमा गाउँठाउँका मान्छेको यस्तै पिङ भएका ठाउँमा बढी भेटघाट हुने गर्छ ।
दशैंमा एकपटक धर्ती छोड्नैपर्ने मान्यता र डोरी समातेर हावामा मच्चिँदा रमाइलो हुने भएकाले यो बेला पिङको मज्जा छुट्टै हुन्छ । दशैं र पिङको आपसमा गहिरो र महत्वपूर्ण सम्बन्ध भएकाले सशस्त्र प्रहरीले पनि यो बेला ठाउँठाउँमा लिंगे पिङ हालिदिने गरेको छ ।


दशैंमा पिङको चलन कसरी शुरु भयो त ? ‘हजारौं वर्ष पहिलेदेखि चलिआएको चलन हो यो’ संस्कृतिका जानकार एवं ज्योतिष डा. वासुदेवकृष्ण शास्त्रीले भन्नुभयो -’शरद ऋतुमा वायुमण्डलको आनन्द लिनको लागि पिङ खेल्ने परम्परा शुरु भएको हो ।’

उहाँका अनुसार शरद ऋतुमा वातावरण निकै आनन्द र मनमोहन हुन्छ । न चर्को घाम, न धेरै चिसो, न हावाहुरी, न बादल, न हिलो, न धूलो साँच्चै दशैको बेला वातावरण निकै रमाइलो र घमाइलो हुन्छ । यस्तो बेला पिङमा चढेर मच्चिँदा थप आनन्द मिल्छ । यही आनन्द लिनकै लागि पिङ खेल्ने परम्परा शुरु भएको हो ।

डा. शास्त्रीका अनुसार पहिले लिंगे पिङको शुरुवात भएको हो । हुँदै जाँदा रोटेपिङको पनि प्रचलन शुरु भयो । यो बेला साक्षात भगवतीको दर्शन मिल्ने भएकाले पिङ चढेर धर्ती छोड्ने परम्परा शुरु भएको उहाँले बताउनुभयो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......