काठमाडौ, कार्तिक १५ -
‘सिस्टम’ ले काम गरेको भए यतिखेर उनी सर्वोच्च अदालतका न्यायाधीश भइसक्ने
थिए । लामो समय न्यायसम्पादनमा बिताएका न्यायाधीश हरेराम कोइरालाको पालो
पनि थियो सर्वोच्चमा जाने । तर न्याय परिषद्को बैठकै बस्न नपाई पुनरावेदन
पोखराका मुख्य न्यायाधीशका हैसियतमा उनको अवकाश भयो गएको चैत २६ गते ।
त्यसको भोलिपल्टै पुनरावेदन अदालत बुटवलका अर्का न्यायाधीश राजेश्वर
सुवेदी सेवा निवृत्त भए । जीवनभर न्यायालयमा सक्रिय जीवन बिताएका उनीहरू
दुवै फुर्सदिलो अवकाश जीवन बाँचिरहेका छन् ।
पुनरावेदनका मुख्य न्यायाधीश सर्वोच्चमा जान संविधानतः उपयुक्त मानिन्छन् ।
अहिलेका प्रधानन्यायाधीश खिलराज रेग्मी पनि त्यही प्रक्रियाबाट सर्वोच्चमा
गएका हुन् । पुनरावेदन तहमा ६३ वर्षसम्म मात्रै काम गर्न पाइन्छ । ६३
नाघेको पहिलो दिनै न्यायाधीशले अवकाश पाउँछन् । सर्वोच्चमा चाहिं ६५
वर्षसम्म काम गर्न पाउने संवैधानिक प्रावधान छ ।
योग्य, वरिष्ठ र न्यायसम्पादनमा विवादमा नआएकालाई परिषद्ले अवकाश पाउनुअघि
नै सर्वोच्चका लागि सिफारिस गर्ने परम्परा पुरानै हो । तर तीन वर्षदेखि
यसरी पुनरावेदनबाट कुनै पनि न्यायाधीश सर्वोच्च पुग्न पाएका छैनन् । एकातिर
सर्वोच्चमा न्यायाधीश घट्दै गएर सकिन लागिसके भने अर्कातिर योग्य र
इमानदार न्यायाधीशले क्रमशः अवकाश पाउँदै छन् । प्रधानन्यायाधीश रामप्रसाद
श्रेष्ठको अवकाशपछि एक पटक पनि न्याय परिषद्ले सर्वोच्चमा न्यायाधीश
नियुक्त गर्न सकेको छैन । त्यसयता पुनरावेदनका २६ न्यायाधीशले उमेरहदका
कारण अवकाश पाइसकेका छन् ।
त्यसमध्ये कोइराला, सुवेदीजस्ता योग्य मानिएका न्यायाधीशहरू सर्वोच्चमा
जाने निश्चितप्रायः थियो । सर्वोच्चमै जाने रोलक्रममा परेका पुनरावेद अदालत
बागलुङका मुख्य न्यायाधीश हरिबाबु भट्टराईले गएको साउन ३२ गते अवकाश पाए ।
त्यस्तै पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश अली अकबर मिकरानीले
असोज ३ गते अवकाश पाए । भट्टराई र मिकरानी पनि सर्वोच्च आउने रोलक्रमका थिए
र उनीहरू न्यायालयमा विवादरहित मानिन्थे ।
भ्रष्टाचारको मुद्दामा राम्रो फैसला गरेर लोकप्रियता कमाएका विशेष अदालतका
अध्यक्ष गौरीबहादुर कार्कीको मंसिरमा पदावधि सकिंदै छ । मंसिरमै सुर्खेत
पुनरावेदनका कार्यवाहक मुख्य न्यायाधीश गोविन्द श्रेष्ठले पनि अवकाश
पाउँदैछन् । कार्की र श्रेष्ठ दुवै सर्वोच्चका लागि योग्य र आसलाग्दा
न्यायाधीश हुन् । तर संसद् नभएकाले उनीहरूलाई सर्वोच्चमा लैजाने विकल्प
अहिले छैन । ‘परिषद्ले संसद् छँदै बैठक गरेर नियुक्ति प्रक्रिया अघि बढाउन
सक्नुपर्थ्र्यो,’ अचेल फुर्सदिलो जीवन बिताइरहेका कोइराला भन्छन्, ‘तर
त्यस्तो हुन सकेन । आशा गर्दागर्दै अवकाश पाइयो । साह्रै नमज्जा लागिरहेको छ
।’
