कफीमा रोग लागेपछि किसान चिन्तित

१० कात्तिक, गुल्मी । गुल्मीको अर्गानिक कफी विदेशमा लोकपि्रय बनिरहेका बेला यहाँका कफी किसान भने सेतो गबारोको प्रकोपबाट चिन्तित बनेका छन् । जैविक मल प्रयोग गरेर उत्पादन हुँदै आएको कफी जापान, दक्षिण कोरिया, अस्ट्रेलियालगायतका मुलुकमा बढी लोकपि्रय बनेको छ । तर, झन्डै तीन वर्षदेखि देखिन थालेको सेतो गबारो अहिलेसम्म पनि नियन्त्रणमा नआएपछि किसान चिन्तित छन् । सन् १९९५ मा आँपचौरका एक व्यक्तिको घरबाट सुरु भएको कफीखेती गत आर्थिक वर्षसम्ममा जिल्लाका ४५ गाविसमा विस्तार भएको जिल्ला कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।
बहत्तर वर्षअघि आँपचौरका हीरा गिरीले बर्माबाट ल्याएर परीक्षणका रूपमा सुरु गरेको कफीखेतीलाई अहिले जिल्लाका थुप्रै किसानले व्यवसायिक रूपमा अपनाएर राम्रो आम्दानी गरिरहेका छन् । कफीखेतीमा लागेर राम्रो आम्दानी गर्नेहरू जिल्लामा थुप्रै छन् । तर पछिल्लो दुई वर्षमा अधिकांश किसान लाखौँ कफीका बोट सेतो गबारोकै कारण काटेर फाल्न बाध्य भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले बताउनुभयो ।

तीन हजार ५०० भन्दा बढी किसानले उत्पादन गरेको कफीको बजारीकरणका लागि जिल्ला सहकारी सङ्घले सघाउँदै आएको छ । विसं २०५२ मा हल्यान्डमा निर्यात सुरु भएको यहाँको अर्गानिक कफी अहिले जापान र कोरियाका अधिकांश बजारमा पुग्ने गरेको छ ।
“जापानीहरू बारीमै आएर कफी खरिद गर्ने र अर्गानिक परीक्षण गर्न थालेपछि हामी थप उत्साहित बनेका थियौँ”, बलिथुमका घनश्याम गौतमले भन्नुभयो, “तर पछिल्ला वर्षहरूमा नियन्त्रण गर्नै नसक्ने गरी सेतो गबारोले सताएको छ ।” गौतमले कफी बिक्री गरेर वाषिर्क रु ४० हजार कमाएको बताउनुभयो । घमिरका यमबहादुर कार्कीले पनि विदेशीले सजिलै खरिद गर्न लागेका बेला कफीका बोटमा लागेको रोगले आफूलाई निकै चिन्तामा पारेको बताउनुभयो ।
सहकारी सङ्घका व्यवस्थापक युवराज आर्चायका अनुसार गत वर्ष जिल्लामा उत्पादन भएको ७६ मध्ये २८ टन कफी कोरिया निर्यात भएको थियो । यस वर्ष उत्पादन बढेर झन्डै ९० टन पुगेको छ । उहाँका अनुसार गत वर्ष कफी बिक्रीबाट किसानले आन्तरिकसहित रु एक करोड २० लाखभन्दा बढी रकम बुझेका थिए । सङ्घले किसानलाई गि्रनबिन, चेरी र पार्चमेन्ट गरी स्तर विभाजन गरेर रकम भुक्तानी गर्ने गरेको छ ।
गुल्मीको कफी जापान र कोरियामा गुल्मी अर्गानिक कफी कै नामबाट परिचित छ । कृषि कार्यालयका अनुसार जिल्लामा १२५ हेक्टर क्षेत्रफल जमिनमा अर्गानिक कफीखेती गरिन्छ । विदेशमा माग बढ्दै जान थालेपछि अर्गानिक कफीखेतीको क्षेत्र हरेक वर्ष पाँच हेक्टरका दरले वृद्धि गर्ने गरेको कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालले बताउनुभयो । जिल्लामा बोक्रा छोडाइएका क वर्गको कफीको मूल्य प्रतिकिलो रु १८५ र सुकेको कफीको प्रतिकिलो रु ८५ छ । रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......