
हिन्दु धर्मालम्बी नेपालीहरुको महान पर्व दसैँ अन्तर्गत आज फुलपाती भित्र्याउने दिन । आजको दिनमा दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइने गरिन्छ ।
आजै गोरखाबाट ल्याइएको फूलपाती धादिङको जीवनपुरबाट पूजारीसहित बाहुन, मगर र नेवार जाति ८ जनाले काठमाडौंको जमलसम्म ल्याई पर्सेर हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा रहेको छ । आजको दिन फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र सांस्कृतिक नाचगान सहितको लावालस्कर हनुमानढोकाबाट जमल जाने चलन रहिआएको छ ।
फूलपातीको अवसरमा नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा फूलपाती हर्षबढाईं तथा निशान प्रदान कवाज समारोह आयोजना गरेको छ । हर्षबढाईं समारोह अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्षलगायत विशिष्ठ अतिथि महानुभावहन सैनिकमञ्च टुँडिखेल जानुहुने कार्यक्रम रहेको छ । घटस्थापनाका दिनदेखि दशैं शुरुहुने भए पनि दसैँको विशेष चहलपहल भने फूलपातीकै दिनदेखि शुरु हुन्छ । आजैदेखि सरकारी कार्यालयहरु समेत दसैंका लागि बन्द हुने गर्दछन् ।
