अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको जहाज उड्नै लाग्दा ग त शुक्रबार राति एउटा फोन आयो । 'साउदी जान लागेको जहाज उड्नेबित्तिकै दुर्घटना हुन्छ,' रमेश क्षितिज बताउने व्यक्तिले त्यति भनेर फोन राखेपछि उड्न लागेका ५ वटा जहाज रोकिए ।
प्रहरी, सेना र सशस्त्र प्रहरीले ती जहाजको खानतलासी लिए । बम डिस्पोज गर्ने टिम, प्रहरीका तालिम प्राप्त कुकुरले जाँच गरे । खासै केही फेला परेन । फ्लाई दुबई जहाजको शौचालयमा भने एउटा झोला बरामद भयो । झोलाभित्र एक करोड २३ लाख नेपाली रुपैयाँबराबरका विभिन्न ९ मुलुकका मुद्रा
भेटिए । त्यो रकमसहित भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परे ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्ती, खैनी, सुपारी र गुट््खाजस्ता पदार्थसमेत लैजान पाइँदैन । विमानस्थलमा खटिएका सुरक्षाकर्मीले कडा चेकजाँच गर्छन् । खाडी मुलुकमा काम गर्न जाने कामदारले लैजान लागेका त्यस्ता पदार्थ रोक्ने मात्र होइन, लैजाने व्यक्तिलाई पक्राउसमेत गर्छन् । यस अवस्थामा त्यत्रो विदेशी मुद्रा कसरी सहजै जहाजभित्र पुग्यो ?
प्रहरी आफैंले स्विकारेको तथ्य के हो भने सुरक्षा निकायकै निकायकै मिलेमतोमा कडा सुरक्षा जाँच पार गर्दै सो रकम विमानसम्म पुर्याइएको हो । विमानस्थल प्रहरी प्रमुख डीआईजी नारायण बस्ताकोटीका अनुसार त्यही कार्यरत एसएसपी रविराज श्रेष्ठका चालकले सुरक्षा जाँच पार गराएर रकम पुर्याएका हुन् । एसएसपी श्रेष्ठका चालक शोभित कार्कीले शुक्रबार साँझ चुस्ता -प्रहरी पोसाक) भित्र लुकाएर विमान चढ्ने बेलामा भारतीय नागरिक सोनीलाई रकम दिएको भेटिएको हो ।
विमानस्थलको सिसिटिभी क्यामरामा कैद भएअनुसार कार्कीले स्टेराइल हल -सबै सुरक्षा जाँच पास भएर विमानमा प्रवेश गर्नुअघिको प्रतीक्षालय) को शौचालयमा सोनीलाई सो रकम दिएका हुन् । 'स्टेराइल हलसम्म आउँदा सोनीसँग झोला छैन,' डीआईजी बस्ताकोटीले भने 'शौचालयबाट निस्कँदा कालो रङको झोला छ ।' हवल्दार कार्की फरार छन् । तर उच्च प्रहरी स्रोतका कार्की भागेको नभई भगाइएका हुन् । किनकि हालसम्मको प्रहरी अनुसन्धान अनुसार यसै महिनामा यो दोस्रो घटना हो, अन्य घटना पनि भएको हुनसक्ने भन्दै प्रहरीले छानबिन गरिरहेको छ । र हवल्दारसँगको मिलेमतोकै भरमा पटकटक अवैद्य मुद्रा लैजान सकिँदैन । यो प्रकरणमा ठूलै प्रहरी अधिकृतको हात भएको र विदेशी मुद्रा बरामद भएपछि कार्कीलाई भगाइएको स्रोतको दाबी छ ।
डलर तस्करीमा एसएसपी श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहेको सुरक्षास्रोत बताउँछ । र विमानस्थल प्रमुखका हिसाबले डीआईजी बस्ताकोटीसमेत अनुसन्धानको घेरामा पर्छन् । कार्की श्रेष्ठका विश्वास पात्र हुन् । तीन महिनाअघि महानगरीय प्रहरी आयुक्तको कार्यालयबाट श्रेष्ठ विमानस्थलमा सरुवा भएर जाँदा कार्कीलाई पनि सँगै लगेका थिए ।
ठूला प्रहरी अधिकृतले आफू सरुवा भएर जाँदा जुनियर प्रहरीलाई साथै लैजाने गरेका छन् । अर्कोतर्फ एसएसपी श्रेष्ठ विमानस्थलमा खटिएको यो चौथोपटक हो । सामान्यतया एउटा कार्यालयमा एक वा दुईपटकभन्दा बढी कसैको पदस्थापन हुँदैन । श्रेष्ठले भने यसअघि नै प्रहरी निरीक्षक हुँदा दुईपटक र डीएसपी हुँदा एकपटक विमानस्थलमा काम गरिसकेका छन् ।
त्यसबेला गृहमन्त्री वामदेव गौतम र खुमबहादुर खड्काको निगाहमा उनी पटकपटक विमानस्थलमा खटिएका थिए । अहिले पनि सुन र डलर तस्करीकै लागि उनलाई विमानस्थलमा लगिएको प्रहरी स्रोत बताउँछ । 'श्रेष्ठका पुराना रेकर्डले समेत उनको चरित्र छर्लङ्ग हुन्छ,' नेपाल प्रहरीका एक पूर्व एआईजीले भने 'श्रेष्ठको पछाडि तस्करी गर्ने ठूलो समूह छ, त्यसले उनलाई चलाइरहेको छ ।'
पक्राउ परेका सोनीले ११ दिनअघि पनि यसरी नै विभिन्न मुलुकका मुद्रा आफूले विदेश पुर्याएको बताएपछि प्रहरीले त्यो दिनको सिसिटिभी फुटेज हेरेको थियो । त्यसमा पनि शौचालयमै गएर रकम लेनदेन भएको देखिएको छ ।
प्रहरी वा विमानस्थलका कर्मचारीलाई पनि ल्यान्ड साइटबाट एयर साइटमा जाँदा विमानस्थलको आन्तरिक पास चाहिन्छ । त्यो पास लगाएपछि सुरक्षा जाचँमा बस्नुपर्ने भएकाले कार्की आन्तरिक उडानको ढोकाबाट भित्र पसेको डीआईजी बस्ताकोटीले बताए । 'कार्की विमानमा खाना र फोहोर ल्याउने बाटोबाट भित्र पसेको त्यहाँ ड्युटीमा रहेका प्रहरीले सनाखत गरिदिएका छन्,' उनले भने, 'चुस्ता लगाएर ड्युटी गर्न हिँडेको प्रहरीलाई सधैं सुरक्षा जाँच गरिँदैन ।'
प्रहरी स्रोतका अनुसार बरामद गरिएको अवैध मुद्रा सुन तस्करीमा प्रयोगका लािग लगिएको हो । र बरामद विदेशी मुद्रा सुन व्यवसायी मुरारी जमालियाको हो । जमालिया दरबारमार्गमा इसुबिसी सुन पसलका सञ्चालक हुन् । जमालियाको दुबईमा पनि कम्पनी छ । उनले नेपाली बजारबाट विदेशी मुद्रा संकलन गरेर दुबई पठाउने गरेको र त्यहाँबाट सुन तस्करी गरेर नेपाल भित्र्याउने गरेको प्रहरी भनाइ छ । सुन पनि प्रहरीले नै खल्तीमा राखेर गोल्डेनगेटसम्म ल्याएर तस्करको जिम्मा लगाउने गरेको पाइएको छ ।
तस्करीको अखडा
हत्या मुद्दामा केन्द्रीय कारागारमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराउन सकिने अभिव्यक्ति दिएका थिए । प्रतीकात्मक रूपमा यसो भनिए पनि अन्तर्राष्ट्रिय विमानस्थलको फितलो सुरक्षा र सुरक्षा निकायकै मिलोमतोमा तस्करी हुने गरेको छ । एक दशकअघि अन्तर्राष्ट्रिय विमानस्थलबाटै भारतीय विमान अपहरण भएपछि यहाको सुरक्षा कमजोरी छताछुल्ल भएको थियो । जानकारहरुका अनुसार एमालेको अल्पमतको सरकार ढलेपछि २०५२ देखि २०५६ सम्मका चार वर्षमा त नेपालमा सुनदेखि लागूऔषधसम्मको तस्करीले निकै प्रश्रय पायो ।
सरकार गठन र विघटनका लागि सांसद खरिदबिक्री गर्न त्यो तस्करीबापतको रकम खर्च गरिन्थ्यो । अन्डरवल्र्ड डन दाउद इब्राहिम र छोटा राजनबाट किनिएका नेता तथा मन्त्रीहरूले तस्करीका लागि खुला छुट दिएका थिए । पूर्वगृहमन्त्री गोविन्दराज जोशी स्वयम्ले यो तथ्यलाई स्वीकार गरेका थिए । उनले ०५५ असोज ७ मा राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा भनेका थिए, 'तस्करहरूले सरकार नै परिवर्तन गर्ने गरेका छन् ।'
प्रारम्भिक समयमा राजधानीमा हत्या गरिएका पूर्वसांसद मिर्जा दिलसाद वेग विमानस्थलबाट हुने लागूऔषध, सुन, विदेशी मालसमान तस्करी र खरिदविक्रिमा सक्रिए थिए । मिर्जा हत्यासम्बन्धमा गठित जाँचबुझ आयोग, २०५५ का अनुसार मिर्जाको त्यस्तो कारोवारमा 'व्यवसायी' वीरेन्द्र कनौडियाको पनि संलग्नता थियो । २०५५ असार १५ मा मिर्जा मारिएपछि उनको बिडो सम्हाले, जमिम शाहले । एक उच्चस्तरीय सरकारी अनुसन्धान अनुसार जमिमले स्पेसटाइम पब्लिकेसन सुरु गर्नुअघि हङकङ, बैंकक, दुबईबाट ल्याई सुन तस्करी गर्थे । डिल्लीबजार कारागारमा रहेका अर्का तस्कर प्रकाश टिवडेवालाको भनाइ उद्धृत गर्दै जमिम हत्या सम्बन्धमा गठित जाँचबुझ आयोग, २०६६ मा भनिएको छ, 'नेपालमा आउने सुन दाउद इब्राहिमका भाइ अनिष इब्राहिमले दुबईबाट पठाउँथे । सुन तस्करीको सम्पूर्ण व्यवस्थापन जमीमले गर्थे । जमिममात्र होइन सम्पूर्ण सुन व्यापारी दाउदका लागि काम गर्छन् ।'
आयोगसँगको बयानमा जाली नोट तथा लागूऔषध मुद्दामा जेलमा रहेका युनुस अन्सारीले पनि तत्कालीन गृहमन्त्री वामदेव गौतम र खुमबहादुर खड्काको संरक्षणमा जमिमले पहिले दाउदसँग मिलेर सुन तस्करी गर्ने गरेको बताएका छन् । उनले भनेका छन्, 'दाउदसँग सम्बन्ध टुटेपछि जमिम कंगाल भएको हो ।' जमिमले दाउदसँग मिलेर गरेको सुन तस्करीमा उनको सानी आमाका छोरा नकिम उद्दिन लगायतको नाम पनि मुछिएको छ । र, नकिम उद्दिन जयनेपाल हलका मालिक हुन् । प्रकाश टिवडेवालाले वामदेव गौतम गृहमन्त्री हुँदा दोजेन्द्र गौचन -हाल अस्ट्रेलिया), नकिम उद्दिन, दीपक मलहोत्रा लगायतले सुन ल्याउने गरेको र त्यसबेला एअरपोर्टको लाइन लिनकै लागि सरकार ढाल्ने योजना बनाएको बताएका छन् । त्यसबेला सुन तथा तस्करीका सामान राख्नकै लागि गौचनले सानेपामा एउटा घर नै लिएका थिए । जमिमको सुन तस्करीका अर्का साझेदार थिए, व्यवसायी सुरबहादुर श्रेष्ठ । जाँचबुझ आयोग, २०६६ संगको बयानमा व्यापारी ईश्वरलाल प्रधानले भनेका छन्, '२०५३ सालमा सुरबहादुर श्रेष्ठको २ करोड भारतीय रुपैयाँ त्रिभुवन विमानस्थलबाट हराएकोमा जमिममाथि आरोप
लागेको थियो । पछिल्लो समय सुन व्यापारका कारण विजय धारिवाल, प्रकाश बेगानीले ठूलो घाटा बेहोरी नेपाल नै छाड्नुपर्यो ।'
पञ्चायतकालमा त तत्कालीन दरबारकै संरक्षणमा सुन तस्करी हुने गरेको थियो । खासगरी तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको यसमा संरक्षण थियो । सुन तस्करीकै अभियोगमा आईजीपीसमेत भएका डीबी लामा र शाहका अंगरक्षक सेनाका प्रमुख सेनानी भरत गुरुङलाई त्यतिबेला थुनेर मुद्दा चलाइएको थियो । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा हङकङबाट फर्किदा विमानस्थलमा २२ किलो सुनसहित समातिएका थिए । उनले प्रहरीलाई तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निर्देशनमा आफूले सुन ल्याएको बयान दिएका थिए ।
छानबिन बोर्ड गठन
विदेशी मुद्रा बरामदको यो प्रकरणको
छानबिन गर्न प्रहरी मुख्यालयले एआईजी भीष्म प्रसाईको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । महानिरीक्षक कुबेरसिंह रानाले प्रसाईको संयोजनमा ३ सदस्यि समिति बनाएका हुन् । त्यसमा अपराध अनुसन्धान विभागका डिआईजी दिनकरशमशेर राणा र केन्द्रीय अनुसनधान ब्युरोका डिआईजी उपेन्द्रकान्त अर्याल सदस्य छन् । समितिलाई सात दिनभित्र के भएको हो ? यथार्थ विवरण पेस गर्न निर्देशन दिइएको छ ।
तर हरेक छानबिनमा तल्लो तहका सिपाही, हवल्दारलाई दोषी देखाएर उम्कने परम्परा छ । आईजीपी राना प्रहरीभित्र इमानदार मानिने भएकाले यसपटक वास्तविक दोषीमाथि कारबाही हुने आशा गरिएको छ । तर यसको निक्र्यौल कार्यान्वयनबाट मात्रै हुनेछ । यसपटक पनि हालसम्म हवल्दार कार्कीलाई मात्रै दोषी ठहर गरिएको छ । 'एउटा हवल्दारसँग कुरा मिलाएर यति ठूलो रकम ओसारपसारको जोखिम कसैले लिँदैन,' एक बरिष्ठ सुरक्षा अधिकृतले भने, 'यसमा उच्च तहको मिलेमतो छ । कार्की पक्राउ परिहाले पनि सत्य कुरा बताउने सम्भावना कमै छ । किनकि, मिलेमतोमा संलग्न अधिकारीले प्रलोभन दिएर उनैलाई सबै कुराको जिम्मा लिन लगाउन सक्छन् ।' केहीअघि २०६६ चैतमा पनि प्रहरीको प्रतिआतंकवाद सेलले विमानस्थलका दुई प्रहरीलाई तीस लाख भारतीय नक्कली रुपैयाँसहित पक्राउ गरेको थियो । पाकिस्तानी एयरलाइन्सको जहाजबाट रुपैयाँ लिएर सुरक्षा जाँच पार गरिरहेको अवस्थामा प्रहरी जवान जितेन्द्र गिरी र सागिर मियाँ समातिएका थिए । उनीहरूसँगै रकम बोकेर आएकी पाकिस्तानी महिला मारियम र उनलाई विमानस्थलमा 'रिसिभ' गर्न आएका इमरान नामका व्यक्ति पनि पक्राउ परेका थिए ।
अनुसन्धान गर्दै जादाँ त्यसमा विमानस्थलका उच्च सुरक्षा अधिकृतकै संलग्नता खुलेको थियो । त्यसबेला डिआइजी रमेशशेखर बज्राचार्य विमानस्थल सुरक्षा प्रमुख थिए । पक्राउ परेका प्रहरी र इमरानले विमानस्थल सुरक्षा गार्डको नेतृत्वसँगै कुरा मिलाएर नगद ल्याएको बयानसमेत दिएका थिए । इमरानलाई बाराका इलताफ हुसेनले विमानस्थलमा मारियमलाई लिन पठाएका थिए । डिआइजी बज्राचार्यसँग नारायणी अन्चलको एसएसपी भएर वीरगन्जमा रहेका बेलादेखि नै हुसेनको उनीसँग सम्बन्ध रहेको खुलेको थियो । त्यसबेला इमरान र इलताफको मोबाइलबाट बज्राचार्यसँग निरन्तर फोन सम्पर्क भएको प्रहरीको आन्तरिक छानबिनले देखाएको थियो । 'त्यो सबै खुलाएर तत्कालीन महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रतिवेदन दिइएको थियो,' अनुसन्धानमा संलग्न एक अधिकृतले भने, 'पछि दुई जवानलाई मात्र मुद्दा चलाएर फाइल नै बन्द गरियो ।' सुरुमा हाकिमको नाम पोलेका ती प्रहरीले पछि बयान फेरेका थिए । डिआईजी बज्राचार्यले भने आफूमाथि झूटो आरोप लगाइएको बताए । 'सिपाहीलाई व्यक्तिगत प्रभावमा पारेर गरिएको हो,' उनले भने, 'मविरुद्ध मेरै संगठनका साथीहरूले षड्यन्त्र गरेका हुन् ।'

