अमेरिकी
राष्ट्रपति बाराक ओबामाको फेसबुक पेज दिनहुँ लाखौँ जनाले लाइक गर्ने गरेका
छन् । पछिल्लो समय ओबामाको फेसबुक पेजमा लाइक गर्नेहरुको संख्या
अविश्वसनीय रुपमा बढ्दै गएको छ र ओबामाको फेसबुकले एकैदिनमा दश लाख भन्दा
बढि लाइक पाउने गरेको छ, जबकी केही हप्ताअघिसम्म मात्र यो संख्या दिनहुँ ३०
हजारको हाराहारीमा थियो ।
आगामी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै
ओबामाले सुरु गरेको समन्वयात्मक सामाजिक संजाल अभियानका कारण उनको फेसबुक
पेजमा मन पराउनेहरु ओइरिएको बताइन्छ । ओबामालाई चुनावमा जिताउनका लागि उनको
टिमले फेसबुकमार्फ केही प्रायोजित विषयवस्तुहरु प्रकाशित गर्ने गरेको छ
जुन फेसबुक प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा देखा पर्छन् । यसो हुँदा
ओबामाको बारेमा आफ्नो वालमा आएको समाचार क्लिक गरेर पढ्न युजर्सलाई करै
लाग्छ र अन्त्यमा ओबामाको फेसबुक पेजलाई लाइक नगरिरहन सक्दैन ।
ओबामाको यस्तो फेसबुक अभियानले प्रसस्तै
लाइक प्राप्त गरेपनि यसले साँच्चीकै बफादार मतदातालाई भने निरास बनाउन
सक्ने वा बिच्काउने खतरा समेत रहेको कतिपय विश्लेषकको दाबी छ । कतिपयले
आफ्नो फेसबुकमा ओबामाका प्रायोजित कथा देखिएकोमा तत्कालै आपत्ती समेत
जनाउने गरेका छन् र ओबामाको सस्तो लोकप्रियता कमाउने यस्तो दाउको कडा
आलोचना गर्ने गरेका छन् ।

