८ मंसिर, काठमाडौं । धेरै बिरामीलाई
मृत्युको मुखबाट बचाउन सफल अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत मेडिकल
सुपरिन्टेन्डेन्ट डा. चित्रप्रसाद वाग्लेलाई बचाउन सरकारले चासो देखाएको छ ।
केही महिनादेखि गम्भीर बिरामी भएर थलिएका वाग्लेको उपचारको लागि सरकारले
पाँच लाख रुपैंया दिने निर्णय गरेको हो । खर्चको अभावमा उपचार हुन नसकेको
थाहा पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले डा. वाग्लेलाई उपचार खर्च
दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर
यादवले जानकारी दिनुभयो ।
डा. वाग्लेले २५ वर्षे सेवा अवधिमा धेरै
बिरामीलाई मृत्युको मुखबाट बचाउनुभएको छ । बिपन्न बिरामीलाई सेवा
गर्दागर्दै हाल उहाँ आफैं क्यान्सर रोगबाट थलिनुभएको छ । भारतको नयाँ
दिल्लीस्थित राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उहाँ तीन महिनादेखि
उपचार गराइरहनुभएको छ । तर उपचार खर्च महंगो भएको कारण उहाँका आर्थिक
अवस्थाले धान्न सकेको छैन । खर्चको लागि उहाँले सरकारसित पहिल्यै हारगुहार
गर्नुभएको हो । रुपन्देही मुर्गिया घर भएका डा. वाग्लेले अर्घाखाँची,
पाल्पा, प्युठान लगायतका जिल्लामा खटिनुभयो । विपन्न जनताको उपचारमा दिनरात
खटिनुभयो । तर बिरामी हुँदा सरकारले वास्ता नगरेको भन्दै उहाँका परिवार
मात्र होइन, उहाँको हातबाट उपचार गराउने बिरामीले समेत सरकारको बिरोध गरे ।
डा. वाग्लेले उपचार खर्च माग गर्दै
तीनमहिना पहिले स्वास्थ्य विभाग र प्रधानमन्त्री राहत कोषमा निवेदन
दिनुभएको थियो । उहाँको निवेदनमाथि बल्ल सुनुवाई भएर सरकारले उपचार खर्च
दिने निर्णय गरेको हो । आफू छिटो निको भएमा बिरामीकै सेवामा खटिने डा.
वाग्लेको इच्छा छ । उहाँले अर्घाखाँची जिल्ला अस्पतालमा थुप्रै सुधारका काम
पनि गर्नुभएको छ । द्वन्द्वकालमा दुर्गम जिल्लामै बसेर सेवा दिने थोरै
चिकित्सकमध्ये उहाँ पर्नुहुन्छ । लामो समय दुर्गम जिल्लामा बसेर सेवा
गरेवापत डा. वाग्ले धेरैपटक सम्मानित पनि हुनुभएको छ ।

