झापड हान्ने वैद्य पक्षीय कार्यकर्ता ?
१ मंसिर, काठमाडौं । एकीकृत नेकपा
माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि
पार्टीले आयोजना गरेको चियापानमा एक युवकले थप्पड हानेका छन् ।
बैद्य पक्षीय माओवादीको युवा संगठन
‘राष्ट्रिय युवा जन स्वयंसेवक’का कार्यकर्ता बताउने बाग्लुङ रास्कोट–२ का
पदम कुवँरले प्रचण्डलाई थप्पड हानेका छन् ।
कार्यक्रममा पुगेका प्रमुख दलका शीर्ष
नेताहरुलाई विदा गरेपछि सहभागीहरुसँग हात मिलाइरहेका बेला कुँवरले अभिवादन
साटेपछि प्रचण्डलाई थप्पड हानेका थिए ।
को हुन कुवँर ?
प्रचण्डले थप्पड खाएपछि बसेको एमाओवादीका
शीर्ष नेताहरुको वैठकले जारी राजनीतिक प्रकृया भाँडन ‘नियोजितरुपमा’ आक्रमण
गरेको ठहर गरेको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले भन्नुभयो-’उनले
आफुलाई जनस्वयंसेवक हुँ भनेका रहेछन तर यो घटनालाई कुनै पार्टीसँग नजोडौं,
उनलाई जसले पनि प्रयोग गरेको हुनसक्छ ।’ प्रतिक्रियाबादी र
परिवर्तनबिरोधीको षडयन्त्र भएको पार्टीले ठहर गरेको सापकोटाले बताउनुभयो ।
पहिले कुवँरको परिवार माओवादी आन्दोलनमा
रहेपनि पार्टी बिभाजनसँगै बैद्यतिर लागेको बताइएको छ । उनकी दिदी पहिले
एमाओवादी जिल्ला समिति सदस्य रहेको र अहिले निष्क्रिय रहेको माओवादी
केन्द्रीय सदस्य वलावती शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो-’उनकी
दिदी डेढ बर्षदेखि पार्टीमा निष्क्रिय रहेर काठमाण्डौमा होटल चलाइरहेकी
छिन, दाजु पूर्व जनसेना हुन ।’ उनी पूर्व जनसेना भएको जानकारी आफुलाई आएपनि
त्यसको पुष्टी हुन नसकेको शर्माले बताउनुभयो ।
बैद्य पक्षीय माओवादीको शुक्रबार साँझ
बसेको बैठकले भने घटनाप्रति पार्टीलाई जोडेकोमा आपत्ति जनाएको छ । कुनै
नेतामाथि आक्रमण गर्ने कुनै नीति नरहेको बैठकपछि सचिव नेत्रवित्रम चन्द
विप्लवले जानकारी दिनुभयो । जनस्वयंसेवकका केन्द्रीय संयोजक उदयबहादुर
चलाउनेले पनि कुवँर आफ्नो कार्यकर्ता भएको पुष्टी नभएकाले बताए । ‘जानकारी
लिइरहेका छौं, अहिले केही भन्न सकिन्न’- चलाउनेले अनलाइनखबरसँग भने ।
नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारीले
कुवँरको उपचार भइरहेकाले उनी को हुन र किन आक्रमण गरे भन्नेबारे जानकारी
लिन नसकिएको बताउनुभयो । उनी जनस्वयंसेवक कार्यकर्ता हुन ? भन्ने
अनलाइनखबरको प्रश्नमा अधिकारीले भन्नुभयो-’यो बाहिर आएको हल्लामात्र हो,
उपचारकै क्रममा रहेकाले उनीसँग केही बयान लिन पाएका छैनौं । अबस्था केही
सामान्य भएपछि सोधपुछ गर्छौं ।’
यसरी भयो आक्रमण
भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा
सहभागी नेताहरुलाई स्वागतमा प्रचण्डसहितका शीर्ष नेताहरु जुट्नु भएको थियो
। प्रमुख दलका शीर्ष नेताहरुको स्वागत र चियापानपछि सम्वोधन गर्नुभयो र
अन्य दलका नेताहरु फर्किनुभयो । तर, कार्यक्रममा सहभागी हुन आउनेहरुको लाइन
लामै रहेपछि प्रचण्डसहितका नेताहरु फेरि आगन्तुकहरुको स्वागतमा जुट्नुभयो ।
त्यस लाइनमा कुँवर पनि थिए । उनी पनि अन्य जस्तै लाइनमा आए र प्रचण्डसँग
हात मिलाए । हात मिलाइएक्नासाथ उनले प्रचण्डको गालामा थप्पड हाने ।
प्रचण्डमाथि आक्रमण गर्ने कार्यकर्तालाई मञ्चमा रहेका नेता, कार्यकर्ता र
सुरक्षाकर्मीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । त्यसक्रममा उनलाई
माओवादी कार्यकर्ताले कुटपिट गरेका छन् । उनलाई जोगाउन प्रहरीलाई
हम्मेहम्मे परेकेा थियो । प्रहरीले जोगाउन प्रयास गर्दागर्दै पनि माओवादी
कार्यकर्ताले कुवँरलाई गम्भीर घाइते हुनेगरि कुटेका छन् । उनलाई अहिले
महाराजगंजस्थित पुलिस अस्पतालमा उपचार भइरहेको छ ।
कस-कसले खाए थप्पड ?
जनताको थप्पड खानेमा प्रचण्ड पछिल्ला
‘भीआईपी’ हुन् । यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले
समर्थकले झापड हानेका थिए भने नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि
अघिल्लो महिना काठमाण्डौको कपनमा आक्रमण भएको थियो । एमाओवादीका सभासद
झक्कुप्रसाद सुवेदीमाथि पनि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका
थिए ।
भिडियो


