बाख्रा हराएकामा दुई वर्ष जेल

दोहा (कतार), कार्तिक २१ - साउदी अरबको इराक र जोर्डनको सीमा नजिक रम्फा भन्ने ठाउँमा गोठालोका रूपमा काम गर्ने एक नेपालीले बाख्रा हराएकामा २ वर्षे जेल भोग्नुपरेको छ । आरोपित जितबहादुर दमाईले ७५ हजार रियाल पनि जरिवाना तिर्नुपर्ने सजाय सुनाइएको छ । सयौं बाख्राका एक्ला रेखवाला दमाई दुई वर्षदेखि साउदी जेलमा छन् । 'म बाख्रा चराइरहेको थिएँ । साहुले पठाएको भन्दै एउटा अरबी बाख्रा लिन आइपुग्यो,' दमाईको भनाइ उद्धृत गर्दै साउदीस्तिथ नेपाली दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले भने, 'मैले साहुले केही नबताएको भन्दा तिमी हाम्रो कामदार हो । बढी ठूलो बन्ने होइन भन्दै आधा लिएर गयो ।' उसले जबर्जस्ती आधा बाख्रा लिएर गएपछि दमाईले तुरुन्तै साहुलाई जानकारी दिए ।
'साहु तुरुन्तै प्रहरी लिएर भेडीगोठ आइपुग्यो,' दमाईको भनाइ थियो, 'साहुले मेरो मिलोमतोमा बाख्रा बेचेको आरोप लगाई प्रहरीको जिम्मा लगायो । केही समयपछि बाख्रा लैजाने साउदी पनि पक्राउ पर्‍यो ।' चोरी मुद्दामा अदालतले दमाईलाई दुई वर्षको सजाय सुनायो । अहिले त्यो सजाय भुक्तान भइसकेको छ । तैपनि जेलमै छन् । 'साहुले झन्डै ७३ हजार साउदी रियाल जरिवाना तोकेको छ । 'जरिवाना नतिरेकाले निस्कन पाएका छैनन्,' घिमिरेले कान्तिपुरलाई भने, 'यत्रो जरिवाना तिर्न सक्ने हैसियतमा दमाई छैनन् ।' उनी ६ सय रियाल मासिक तलबमा त्यहाँ काम गर्थे । घिमिरेका अनुसार बाख्रा साहुले 'प्राइभेट कानुन' को प्रयोग गरेका हुन् । 'साउदीमा दुई किसिमको कानुन छ । पब्लिक र प्राइभेट,' उनले भने, 'पब्लिक कानुनअनुसार दमाईले दुई वर्षको जेल पाए । प्राइभेट कानुन अनुसार साहुले बाख्राको क्षतिपूर्ति दाबी गरेकाले छुट्न पाएको छैन ।' नेपाली दूतावासले उनलाई माफी दिन स्थानीय गभर्नरलाई अनुरोध गरेको छ । 'यस विषयमा सुरुदेखि साउदी सरकारलाई पत्रचार गर्दै आएका हौंं,' उनले भने, 'अब फेरि स्थानीय गभर्नरलाई भेटी
माफीको लागि वातावरण बनाउने तयारी गरेका छौं ।'

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......