'मंसिर दोस्रो साताभित्र सहमतीय सरकार'
१७ कात्तिक, काठमाण्डौं । राष्ट्रपति डा.
रामवरण यादवले चुनावको तयारीमा लाग्न दलहरुलाई आग्रह गर्नु भएको छ ।
संविधानसभाको पुनःस्थापना कि नयाँ निर्वाचन भन्नेमा दलहरुबीच ठोस सहमति हुन
नसकेपछि राष्ट्रपतिले एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले र मधेसी
मोर्चाका नेताहरुलाई बोलाएर चुनावबारे छिटो सहमति जुटाउन आग्रह गर्नुभएको
हो ।
‘सरकारले
संविधानसभाको नयाँ चुनाव घोषणा गरिसकेको छ, मुलुक चुनावमा गइसक्यो’
राष्ट्रपतिको भनाई उदृत गर्दै उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले
अनलाइनखबरसँग भन्नुभयो-’अब दायाँ बायाँ हैन, चुनावका लागि माइन्ड मेकअप
गर्नुस् र सहमति खोज्नुस् ।’ संविधानसभा विघटनपछिको ५ महिना त्यतीकै खेर
गएको र मुलुक राजनीतिकसँगै आर्थिक संकटमा फस्न लागेको भन्दै तत्काल सहमतिमा
पुग्न दबाव दिनु भएको छ ।
‘राष्ट्रपतिले सहमतिका लागि पहिलादेखि नै
दबाव दिँदै आउनु भएको हो’ दाहालले भन्नुभयो-’आज पनि सहमतिका लागि थप दबाव
दिनु भएको छ ।’ जवाफमा शीर्ष नेताहरुले आफूहरु धेरै विषयमा सहमति नजिक
पुगिसकेको र कात्तिक मसान्तसम्ममा सबै विषयमा सहमति गर्ने प्रतिवद्धता
जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष
प्रचण्डले एक-दुई दिनमा दलहरुबीच सहमति जुट्ने दावी गर्नुभयो ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार
गच्छदारले बैशाखभित्र नयाँ संबिधानसभाको चुनाव गर्ने र त्यसका लागि मंसिर
दोस्रो साताभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने बताउनुभयो । गच्छदारले
भन्नुभयो-’मंसिर दोस्रो साताभित्र सहमतिय सरकार बन्छ र बैशाखभित्र चुनाव
हुन्छ भनेर राष्ट्रपतिलाई जानकारी गराएका छौं ।’ एमाले अध्यक्ष झलनाथ
खनालले राष्ट्रपति बजेटबारे चिन्तित देखिनुभएको बताउनुभयो ।’

