६ मंसिर, काठमाण्डौ । खाने-बस्नेको
चिन्ता र जीवनकै कुनै उद्देश्य नलिई अस्तव्यस्त जीवन बिताउँदै आएका सडक
बालबालिका दिनमा अन्य मानिसलाई निकै दुःख दिने गर्छन् भने रातको समयमा
उनीहरुकै जीवन सुरक्षित रहेको पाइँदैन । सडक बालबालिकाको जीवनपद्धतिलाई
देख्दा हामीमध्ये धेरैले उनीहरुलाई निकै हेयका दृष्टिले हेर्छौ , तर
उनीहरुको जीवन कति कारुणीक र दयनीय छ भनेर हामीले कहिल्यै सोचेका हुँदैनौँ ।
परिवारका सदस्यले गर्ने बेवास्ता र पारिवारिक समस्याका कारण घरबाट भागेर
काठमाडौँ आइपुगेका पूर्व घर भएका कुमारलाई यहाँ आउँदा के-के न होला भन्ने
लागेको थियो, तर जब उनी उपत्यका छिरे तब सडक बालक बन्न बाध्य भए, किनकि
उनको न यहाँ आफन्त थियो, न खाने-बस्ने ठेगान नै ।
उनी भन्छन्- “आफ्नी आमाले सानैमा छाडेर
गएपछि बाबुले सौतेनी आमा ल्याए, उनीबाट माया पाउने आश मरेपछि घरबाट भाग्ने
निश्चित गरी काठमाडौँमा काम गर्ने गाउँकै एकजना दाइको भरमा काठमाडौँ छिरेको
थिएँ ।” उनले एउटा मःम पसलमा भाँडा माझ्ने काममा लगाइदिए, त्यहाँ मसँगै
अन्य दुईजना पनि थिए उनले भने-राति अबेरसम्म पनि काम गर्नुपर्ने भएकाले
त्यहाँ निकै परिश्रम गर्नुपर्ने थियो, खाने-बस्ने मात्र सुविधा भएकाले
त्यहाँ काम गर्ने हामी तीनै जनाले काम छाड्ने योजना बनाएर भाग्यौँ ।त्यसपछि
सुरु भयो सडक जीवन, यो जिन्दगी निकै स्वेच्छाचारी भएकाले उनले कुनै
बन्धनको महसुस गरेनन्, आफूजस्ता केही सडक बालकसँग मिलेर रमाइलो गरी बिताए
केही दिन । तर उनले सोच्दै नसोचेको कुरा एक रातमा भएपछि भने उनले थाहा पाए
कति असुरक्षित हुँदोरहेछ त सडकको जिन्दगी ।
आफूहरु जस्तै तर उमेरले पाको सडक जीवन
बिताउने युवाले अन्य साना सडक बालकलाई बलात्कार गर्ने गरेका रहेछन् ।
त्यसैको सिकार कुमार पनि बने । ती युवाले समूहमा आएर सडक पेटीमा सुतिरहेका
बालकलाई आफ्नो सिकार बनाएका थिए । शारीरिकभन्दा पनि मानसिकरुपमा उनी निकै
विक्षिप्त बनेका थिए । त्यतिबेलै उनले तय गरे कि यस स्थानमा नबस्ने भनेर ।
हाल उनी कलङ्की रुटको गाडीमा सहचालकका रुपमा कार्यरत छन् । कुमारले जस्तै
पीडा भोगेका अर्का एक बालकले भने सडक जीवन त्याग्न सकेका छैनन् । आर्थिक
अवस्था दयनीय भएका कारण उनका आमाबाबुले पर्याप्त ध्यान दिन नसक्दा उनी सडक
बालक बन्न पुगेका थिए । घरबाट टाढा भएपछि मागेर, त्यतिले पनि नपुगेर सडकमा
प्लास्टिक टिप्ने कामसमेत गर्दै आएका उनी घरमा जाने इच्छा भए पनि परिवारले
नस्वीकार्ने बताउँछन् । उनी भन्छन्- ‘घरमा भाइबहिनीले राम्ररी पढेका छन्, म
बिग्रेर हिँडेकाले आमाबाबुले मलाई वास्ता गर्दैनन् ।’
सडक जीवन बिताउने क्रममा यौनशोषणमा परेका
उनलाई यो आफ्नो मात्र समस्या नभई थुप्रै सडक बालकको हो भन्ने थाहा छ । तर
यस्ता घटना घट्दा कहाँ, कसलाई भन्नेजस्ता कुरा भने थाहा छैन । यसरी सडक
बालकका रुपमा जिन्दगी बिताइरहेका करिब ९० प्रतिशत बालबालिका यौनशोषणमा
पर्ने गरेका भए पनि यसको उजुरी अथवा जानकारी दिने गरेको भने पाइँदैन
। नेपालका विभिन्न सहरी क्षेत्रमा करिब पाँच हजारको सङ्ख्यामा सडक
बालबालिका छन् । तीमध्ये ४२ प्रतिशत कवाडी काम गर्ने, ३७ प्रतिशत माग्ने
काम गर्ने र बाँकीले गाडीको खलासी काम गर्ने गरेको सिविनको तथ्याङ्कले
देखाउँछ । उनीहरुको उमेर ११ देखि १४ वर्षसम्म रहेको छ । सडक बालकको
अनुपातमा बालिकाको सङ्ख्या भने अत्यन्त न्यून छ, कुल सडक बालबालिकामा पाँच
प्रतिशत पनि छैन सडक बालिकाको सङ्ख्या । सडक बालबालिकाका क्षेत्रमा कार्यरत
विभिन्न सङ्घसंस्थाले गन्तव्य लक्ष्यअर्थात सडकमा आइसकेका बालबालिकाका
लागि मात्र कार्य गर्ने तर त्यस्तो स्थिति आउन नदिनेतर्फ कार्य नगर्दा यो
समस्याले विकराल रुप लिँदै गएको महसुस पाइएको छ ।
बालबालिकाका क्षेत्रमा कार्यरत संस्था
सिविनका तारक धितालले सिविनले सन् १९९८ देखि सडक बालबालिकाका लागि कार्य
गर्दै आएको बताउँदै भन्नुभयो- “सडक बालबालिकाका क्षेत्रमा कार्यरत
सङ्घसंस्थाले टालटुले काम मात्र गरिरहेका छन्, एकातिर प्वाल टाले अर्कोतिर
फेरि अर्कै प्वाल पर्छ ।”प्रत्येक वर्ष सडक बालकको सङ्ख्या कति छ भनेर
अध्ययन गर्दा पनि पाँच हजार नै पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो- “सडक
बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाले सडकमा आइसकेका बालबालिकाका लागि
मात्र कार्यक्रम ल्याइदिँदा सडकमा आउनसक्ने बालबालिकाको सङ्ख्यामा भने कमी
नहुने भएकाले सधैँ एकै सङ्ख्यामा सडक बालबालिका रहने गरेका छन् ।”
बालबालिकालाई सडकमा आउनै नदिने उपायतर्फ
जोड दिएर कार्यक्रम ल्याउनसकेमात्र सडकमा बालबालिकाको सङ्ख्या कम हुनेछ ।
त्यसैले स्थानीय निकायबाट नै आफ्ना वडा तथा गाविसका बालबालिकालाई लक्ष्यित
गरी कार्यक्रम सञ्चालन गरिनु आवश्यक छ । राष्ट्रियस्तरमा दीर्घकालीन सोचका
साथ कार्यक्रम नल्याउने हो भने बर्सेनि देशभरका सहरी क्षेत्रका सडकमा
रोक्नै नसकिने गरी बेसहारामा परेका बालबालिका आउने प्रायः निश्चित छ । रासस
