सस्ता टिकट सकिए बिदेसिने

दसैं तिहार र पर्यटकीय सिजन सकिने बेला एकै पटक परेकाले कामदार फर्किने र पर्यटक फिर्नेको चापले गर्दा विमान कम्पनीहरूले सस्ता टिकट बन्द गरेका हुन्।
काठमाडौं, मंसिर ९ - पर्यटकीय सिजन सकिएर पर्यटकहरू बाहिरिने क्रम र बिदेसिने नेपाली कामदारका कारण विमान कम्पनीहरूले यात्रु तान्न अघि
सारेको सस्ता टिकटको योजना बन्द गरेका छन् । उनीहरूले विभिन्न श्रेणीमा विभाजन गरी सस्ता टिकट उपलब्ध गराउँदै आएकामा केही दिनयता सबैले अधिकतम मूल्यको खरिद गरिरहनुपरेको छ ।
साधारणतया आन्तरिक तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यात्रु तान्न विभिन्न श्रेणीका सस्ता टिकटदेखि अधिकतम मूल्यका समेत बिक्री गर्ने गरेका छन् । तर दसैंतिहार मनाउन आएका कामदार फर्किने, पर्यटक स्वदेश जानेको लर्को एकैपटक लाग्न थालेपछि विमान कम्पनीहरूले महँगा टिकट मात्र बिक्रीमा राखेका हुन् । 'सस्ता टिकट बिक्री गर्न छाडेका छन्,' नेपाल टुर्स एन्ड ट्राभल एजेन्टस (नाटा) का पूर्वअध्यक्ष अर्जुन शर्माले भने, 'यतिबेला महँगा पनि पाउन गाह्रो भइसकेको छ ।'
अक्टोबरमा साढे ७ प्रतिशतले पर्यटक घटेका छन् । तर दसैंतिहार र पर्यटकीय सिजन सकिने बेला एकै पटक परेकाले यस्तो चाप भएको पर्यटन व्यवसायी बताउँछन् ।
काठमाडौं-दिल्लीको एकतर्फी भाडा १७ हजार रुपैयाँसम्म पुगेको गण्डकी टुर्स एन्ड ट्राभलका दीपक तण्डुकारले बताए । 'यो रकममा दसैंतिहार अगाडि दुईतर्फी टिकटै पाइन्थ्यो,' उनले भने । अघिल्लो वर्ष भने यस्तो स्थिति नरहेको सुमेघ ट्राभलका मेघ केसीको अनुभव छ । २०११ मा पर्यटन वर्ष भएकाले धेरै विमान कम्पनीले उडान सुरु गरेका थिए । उडान गर्ने विमान कम्पनीमध्ये भारतको किङफिसर अहिले सञ्चालनमा छैन । त्यस्तै नेपाल वायुसेवा निगमले पनि दिल्ली उडान रद्द गरेको ७/८ महिना भइसकेको छ । अन्य विमान कम्पनीमा विमान बंगलादेश, ओमान, युनाइटेड एयरलाइन्स, चाइना साउथर्नलगायतले कुनै बेला उडान गर्ने र कहिले नगर्ने गरेकाले यसपालि गत वर्षभन्दा सिट क्षमता पनि कम रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
'नियमित उडानमा केहीले मात्र संख्या थप गरे,' प्राधिकरणका एक अधिकारीले भने, 'पहिलेजस्तो उडान थप गर्नेमा प्रतिस्पर्धा देखिएन ।' बढी उडान हुँदा यात्रुलाई आफूतिर तान्न विमान कम्पनीहरूले सस्तो भाडा सार्वजनिक गर्ने गर्छन् । 'अहिले विदेशबाट आउने धेरैले पहिले दुईतर्फी टिकट लिएको र यताबाट जानेहरू पनि धेरै भए,' केसीले भने, 'त्यसैले सस्तो टिकट नै छैन । पाइहाले पनि महँगो मात्र छ ।'
अहिले काठमाडौं-मध्यपूर्वको टिकट पनि डेढ गुणा महँगो पर्छ । एसआरबी ट्राभल सञ्चालक पवित्र लामिछानेका अनुसार दोहाका लागि १७ हजारमा पाइने टिकट अहिले २६ हजार रुपैयाँ घटीमा पाइँदैन । दुबई र कतारको भाडादर पनि दोहाकै बरबार छ ।
बैंकक सस्तो यात्रा गर्नेलाई निगमको उडान उपयोगी हुन सक्छ । यसले १५ हजार ५ सय मा बैंककको एकतर्फी टिकट उपलब्ध गराइरहेको छ । तर अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीबाट जानेहरूले न्यूनतम २५/२६ हजार रुपैयाँ तिर्नुपर्ने ट्राभल एजेन्सीहरू बताउँछन् । चाप कम हुँदा अन्य विमान कम्पनीले पनि बैंककका लागि १६ देखि १८ हजार रुपैयाँमा टिकट उपलब्ध गराउँथे । काठमाडौं-क्वालालल्मपुरको एकतर्फी टिकट (बजेट एयरलाइन्सबाहेक) २५ हजार रुपैयाँ छ । बजेट एयरलाइन्सले पनि ८ देखि १० हजारमा एकतर्फी टिकट बिक्री गरेकामा त्यसले पनि १२ देखि १३ हजार लिइरहेको ट्राभल एजेन्सीहरू बताउँछन् । 'न्युयोर्कका लागि एकतर्फी टिकट ६०/६५ हजारमा पाइन्थ्यो,' लामिछानेले भने, 'अहिले ७७ देखि ८० हजार रुपैयाँका टिकट मात्र छन् ।' त्यस्तै काठमाडौं- पेरिसका लागि -एकतर्फी) अधिकतम ५० हजारमा पाइने टिकट किन्न 'अफ सिजन' कुर्नुपर्ने हुन्छ । उनका अनुसार यो रुटको एकतर्फी यात्राका लागि अहिले पाइने टिकटको मूल्य ६० देखि ६५ हजारसम्म पर्न आउँछ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......