रहस्यमय रूपमा मारिँदै

रहस्यमय रूपमा मारिँदै बुहारी

निजगढ, कार्तिक २६ - बारा विश्रामपुर ३ का सन्तोष साह कलवार र भारत पूर्वी चम्पारण रमगढवा थाना माइती भएकी १९ वर्षीया बिन्ती साहबीच केही वर्षअघि राजीखुसीले वैवाहिक सम्बन्ध जोडियो । विवाहमा बिन्तीको माइतीबाट चार लाख खर्चिएको थियो । धुमधामसित दुवैको विवाह हुँदा छरछिमेक, आफन्त पनि उत्तिकै उत्साहित भएर जन्तीमा रमाए । तर बिन्तीले तीन वर्ष पनि दाम्पत्य जीवन बिताउन पाइनन् । उनले विवाहको तेस्रो वर्षमा डेढ वर्षीय छोरा र पति सन्तोषलाई सधैंका लागि त्यागेर चार महिनाअघि संसारबाट बिदा लिइन् ।
उनको शव जलिरहँदा प्रहरीले हाड निकालेर जाँच गर्दा र घटनापछि माइतीपट्टकिो उजुरीका आधारमा अनुसन्धान गर्दा उनी दाइजोको निहुँमा कर्तव्य गरी मारिएकी रहिछन् । प्रहरी अनुसन्धान अधिकृत रामनाथ घिमिरेका अनुसार घटना भएलगत्तै बिन्तीका पति सन्तोष र ससुरा शिवलाल फरार भए । पछि सन्तोष पक्राउ पर्दा अदालतले साधारण तारेखमा छाड्यो । बिन्तीका बुबा कुञ्जविहारी साहले भने, 'छोरी बिन्तीले दुई दिनअघि मोबाइलमा भनेकी थिइन्, 'बाइक' ल्याइदिनु, नत्र म मारिन्छु । पर्सिपल्ट छोरीको मुख पनि हेर्न पाइनँ, आउँदा उनको शव जलिसकेको थियो ।' छोरीलाई 'बाइक' का लागि तीन महिनादेखि दबाब, कुटपिट र यातना दिँदै आएको उनले बताए । 'बेलुकापख खाना पकाएर खाएको देखेको थिएँ, बिहान त गाइँगुइँ सुन्दा बिन्तीको त रातारात दाहसंस्कार भएको रहेछ,' एक छिमेकीले भने । कुडवा ३ की १९ वर्षीया संगीतादेवी साहसँग पनि त्यस्तै भयो । उनले पनि एक वर्ष मुस्किलले दाम्पत्य जीवन बिताउन पाइन् । उनलाई जलाइएको रहेछ । पछि माइती र ससुरा मिलेर घटना सामसुम पारियो ।

गत चैतमा हरैया ३ की २८ वर्षीया मञ्जुदेवी यादव रातारात गायब भइन् । शरीरमा आगो लगाई कर्तव्य गरी मारिएको उनको शव उपचारका नाममा एम्बुलेन्समार्फत रातारात सीमापारि पुर्‍याएर दाहसंस्कार गरिएको प्रहरीले सुराक पाउँदा मञ्जुका पति गगनदेव र जेठाजु सत्यनारायणलाई समाते । पछि प्रहरीले मञ्जुका माइतीबाट परेको उजुरीका आधारमा छानबिन गरी मुद्दा चलाउँदा अदालतले पति गगनदेवलाई सादा तारेखमा छाड्यो । जेठाजु सत्यनारणलाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठायो । यो घटनाको अनुसन्धान गरेका घिमिरे भन्छन्, 'घरमा लामो समयदेखि चल्दै आएको झगडाको प्रतिवाद गर्दा मञ्जुको ज्यान गयो ।' घरेलु हिंसाकै कारण बुहारी मारिएका यी घटनाहरू उजागर भएका प्रतिनिधिमूलकमात्र हुन् । उनका अनुसार बारामा एक वर्षयता दाइजो, यौन सम्बन्ध लगायतका हिंसाका कारण कम्तीमा ६ बुहारी रहस्यमय रूपमा मारिएका घटना उजागर भएका छन् । प्रहरी उपरीक्षक दानसिंह बोहराले भने, 'समाजबाटै यस्ता घटनाको ढाकछोप हुँदा यो प्रवृत्ति बढेर गएको हो, यस्ता घटना आवेशमा र चेतना अभावले हुने गरेका छन् ।'

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......