१७ कात्तिक, काठमाडौं । प्रथम इन्डोर
राष्ट्रिय आर्चरी प्रतियोगिताअन्तर्गत व्यक्तिगत खुला रिकर्भको पुरुषमा
राष्ट्रिय च्याम्पियन मनाङ मस्र्याङ्दी आर्चरी क्लबका जितबहादुर मोक्तान र
महिलामा कास्की जिल्ला आर्चरी संघकी रेणु तामाङले शुक्रबार स्वर्ण जितेका
छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद
परिषद्को कभर्डहलमा सम्पन्न पुरुषको फाइनलमा जितले कास्कीका खगेन्द्र
मल्लको चुनौती ३-० ले पन्छाए । हिमालयन आर्चरी क्लबका प्रेमप्रसाद पुनले
तेश्रो स्थानमा चित्त बुझाए । उनले कास्कीका अशिम शेरचनलाई ३-० ले हराए ।
महिलाको फाइनलमा रेणुले कास्कीकै
राज्यलक्ष्मी जोशीमाथि ३-१ को जित निकालिन् । हिमालयनकी माया स्याङ्तेनले
कास्कीकी दिलकुमारी भुजेललाई ३-० को सोझो सेटमा पराजित गरी तेश्रो भइन् ।
नेपाल आर्चरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष व्यक्तिगत स्टेनडर्ड
रिकर्भमा हिमालयनका वीरेन्द्र गुरुङ पहिलो भए । उनले फाइनलमा अन्नपूर्ण
आर्चरी क्लबका देव पुनलाई ३-० ले निराश पारे । मगर समाजका तिलकमान पुनलाई
३-० को सीधा सेटमा हराउदै कन्चञ्पुरका होमबहादुर थापा तेश्रो बने ।
सोही स्पर्धाको महिलामा हिमालयनकी सोनी
शेर्पाले बाजी मारिन् । उपाधि भिडन्तमा सोनीले अन्नपूर्णकी सरस्वती
गुरुङलाई ३-० ले पाखा लगाइन् ।
अन्नपूर्णकी मोनिका राना र हिमालयनकी
सरिता तामाङबीच तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक भिडन्तमा मोनिका
अगाडि रहिन् । निर्धारित वेस्ट अफ फाइभको खेल ५-५ को बराबरीमा सकिएको थियो
। ‘वान अफ सुट’ -एक-एक तिर प्रहार गर्ने प्रावधान) मा मोनिकाले बाजी
मारिन् । प्रतियोगिताको अन्तिम दिन शनिबार ३ स्वर्णका लागि भिडन्त हुने
आयोजकले जनाएको छ ।
