ठाउँठाउँमा स्वागत थाप्दै भैरहवा पुगे
२० कात्तिक, काठमाडौं । यसअघि जस्तै
धार्मिक भ्रमणको नाममा सोमबार सडक मार्ग हुँदै भैरहवा हिँडेका राजाले
ठाउँठाउँमा भव्य स्वागत पाएका छन् ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे २
बाहुनडाँडामा त उनलाई स्थानीय राजावादीहरुले ‘श्री ५ महाराजाधिराज’ नै
भनेर जयजयकार गर्दै भव्य स्वागत गरेका छन् । स्वागत गेटमा टाँगिएको ब्यानर र
जयजयकार गर्नेले श्री ५ महाराजधिराज सम्बोधन गर्दा ज्ञानेन्द्र निकैबेर
मस्केका थिए ।
पूर्व
राजा सडक मार्ग हुँदै आउँदैछन् भन्ने कुरा थाहा पाएका स्थानीय राजावादीले
बाहुनडाँडामा रहेको मुक्तिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाए । मन्दिरमा
दर्शन गर्ने भनेपछि ज्ञानेन्द्र नपस्ने र नबस्ने कुरै थिएन । पूर्व राजाले
मन्दिरमा दर्शन गर्ने पक्का भएपछि भव्य स्वागतको व्यवस्था गरियो । पूर्व
राजा आउने खबर सुनेका स्थानीयबासिन्दा पनि उनलाई नजिकबाट हेर्नको लागि
उत्सुक थिए । त्यसैले सोमबार बिहानैदेखि नौबिसे बाहुनडाँडाको मुक्तिनाथ
मन्दिर आसपासमा निकै भीड लाग्यो ।
पूर्व राजाको स्वागतको लागि मन्दिरलाई
ध्वाजापताकाले सिँगारिएको थियो । मन्दिर नजिकै गेट बनाईएको थियो । गेठको
दायाँबायाँ केराको बोट र रातो कपडा बेरिएको थियो । ब्यानरमा ‘श्री ५
महाराजाधिराज सरकारको जय जय जय’ लेखिएको थियो । ज्ञानेन्द्र पुग्नै लाग्दा
पञ्चकन्यालाई फूलमाला सहित उभ्याएर राखियो । मुक्तिनाथ सेवा समितिको ब्याज
लगाएका स्थानीय र राजावादी पनि स्वागतको लाइनमा थिए । स्वागत गर्न
लागेकाहरुको लाइन झण्डै एकसय ५० मिटरको थियो । तिहारको बेला ठीक पारेर
राखेका फूल ज्ञानेन्द्र स्वागतको लागि प्रयोग गरियो । पर्याप्त फूलमालासँगै
ज्ञानेन्द्र स्वागतको लागि बाजागाजा र रातो कार्पेटको पनि व्यवस्था गरिएको
थियो ।
सोमबार बिहान पौने १० बजेतिर धादिङ नौबिसे पुगेका ज्ञानेन्द्रले झण्डै १५ मिनेट त्यहाँ बिताए । मन्दिरमा पूजाअर्चना गरे ।
आफूलाई स्वागत गर्न बसेकाहरुको जयजयकार
सुने । अनि मुसुक्क हाँस्दै, टाउको र हात हल्लाउँदै बाटो लागे । सातवटा
गाडी अघिपछि लगाउँदै भैरहवा पुगेका ज्ञानेन्द्रको स्वागत गर्न अरु ठाउँमा
पनि सर्वसाधारणको लाइन थियो । ‘धेरै ठाउँमा जनता फूल लिएर बसेका थिए,
सरकारले हात मात्रै हल्लाउनुभयो, रोक्न भ्याईएन’ ज्ञानेन्द्रसँगै रहेका
उनका एक सहयोगीले अनलाइनखबरलाई जानकारी दिए ।
बेलुकीसम्म भैरहवा पुग्ने गरी हिँडेको
ज्ञानेन्द्र सहितको टोलीले चितवनको कुरिनटारमा खाना खायो । उहाँको चितवनको
पुल्चोकमा पनि स्वागत भएको छ । स्वागत गर्नेको घुईंचो लागेपछि
ज्ञानेन्द्रले गाडी नै रोकेर समर्थकहरुको स्वागत ग्रहण गर्नुभएको छ ।
सर्वसाधारण र शुभचिन्तकलाई हात जोडेर नमस्कार गर्दै र स्वागत खाँदै पुल्चोक
जाने मुख्य सडकको आधाबाटो पुगेपछि उहाँ गाडी चढ्नुभयो ।
