सहमतिका लागि फेरि ७ दिनको समय

बिहीवार राती राष्ट्रपतिसँग छलफलपछि शितलनिवासबाट बाहिरिँदै चार दलका शीर्ष नेताहरु

नत्र बैशाखमा चुनाव हुन सक्दैनः महतो

१४ मंसिर, काठमाण्डौ । राष्ट्रपति डा. रामबरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुलाई फेरि ७ दिनको समय थप गरिदिनुभएको छ ।
पहिलोपटक दिइएको ७ दिने समय बिहीवार अपरान्ह ४ बजे सकिएपछि दलहरुको आग्रहमा राष्ट्रपतिले अन्तरिम संबिधानको धारा ३८-१) बमोजिम पुनः म्याद थप गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
म्याद थप्नुअघि राष्ट्रपतिले चार दलका शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्नुभएको थियो । छलफलमा दलहरुले सहमतिको प्रयास जारी रहेको बताउँदै थपिएको म्यादमा सहमति जुटाउने प्रयास गर्ने बताएका थिए । भेटपछि मधेसी मोर्चाका राजेन्द्र महतोले अनलाइनखवरसँग भन्नुभयो-’७ दिनमा जसरी पनि सहमति गर्छौं भनेर राष्ट्रपतिलाई आश्वस्त पारेका छौं, नत्र बैशाखमा चुनाव हुन सक्दैन ।’
छलफलमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेशी मोर्चाका राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।
अल्मलिएरै गुज्रियो सात दिन
नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिएको सातदिने म्याद र दलहरुले भनाभन र भेटवार्तामै गुजारेका छन् । मंसिर ८ गते बेलुका राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई नयाँ सरकार गठनका लागि ७ दिने म्यादसहितको आह्वान गर्नुभएको थियो ।मंसिर ९ गते शनिबार राष्ट्रपतिको कदमबारे विपक्षीहरु स्वागत गर्नमै व्यस्त भए । एमाओवादीबाट सकारात्मक र नकारात्मक दुईखाले धारणा सार्वजनिकभयो । राष्ट्रपति र प्रचण्डवीच भेटघाटपछि प्रचण्ड र बाबुारमवीच विवाद बढ्यो । शान्ति मन्त्रालयमा तीन दलका शीर्ष नेतावीच छोटो समय छलफल भए पनि कुनै निश्कर्ष निस्किएन । आन्तरिक विवाद बढेपछि एमाओवादीले दुईपटक बैठक बसेर राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने निर्णय गर्‍यो ।सत्तारुढ गठबन्धनले पनि राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गर्‍यो ।
शनिबार बेलुका प्रधानमन्त्रीले वकीलहरुसित परामर्श गर्नुभयो । मंसिर १० गते आइतबार सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक आयोजना गरी राष्ट्रपतिको कदमलाई असंवैधानिक ठहर गरियो । यतिबेलासम्म कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे एमाओवादीमा छलफल नै भएन । राष्ट्रपतिलाई गाली र समर्थन गर्नमै दलहरुले ३ दिन बिताए ।मंसिर ११, विजय गच्छदार र केपी ओलीवीच भेट बालकोटका भेट वार्ता भयो भने महाराजगञ्जमा सुशील कोइरालाले महन्त ठाकुरलाई भेटेपछि बल्ल प्रधानमन्त्रीको उमेद्वारतिर दलहरुको चासो जान थाल्यो । यस क्रममा सुशील कोइराला र गच्छदारवीच भेट वार्ता भयो ।

सोमबार आफ्नै निवासमा पत्रकारसित कुरा गर्दै प्रचण्डले बाबुराम, नारायणकाजी, गच्छदार र महन्थ ठाकुरलाई सम्भावित प्रधानमन्त्रीका रुपमा अघि सारेपछि एमाओवादीको ध्यान बल्ल राष्ट्रपतिको कदमको विरोध गर्नेतिर नभई नयाँ सरकारको मुद्दामा प्रवेश गर्नतिर मोडियो । तर, यति गर्दागर्दै मंगलबार, बुधबार र विहीबार त्यत्तिकै खेर गयो । यसवीच एमालेको पोलिटब्यूरो बैठक बसेर कांग्रेसलाई समर्थन गर्ने बचन दिए पनि सात दिनसम्म कांग्रेसको बैठकै बस्न सकेन । यसवीचमा वैद्यपक्षीय नेकपा माओवादीले भने बेलैमा बादललाई प्रधानमन्त्रीको उमेद्वारका रुपमा अघि सार्‍यो ।
अर्को साता व्यक्तिमा छलफल
राष्ट्रपतिले गरेको आह्वानको पहिलो साता प्रधानमन्त्रीको नाम छान्ने कि नछान्ने भन्नेमै दलहरु अल्मलिएका छन् भने अब अर्काे साता नाममा छलफल गर्ने र फेरि सात दिन गुजार्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर, पहिलो साता राष्ट्रपतिको कदमलाई नै नस्वीकार्ने केही दलहरुको अडान थियो भने अब सबै दल एक ढिक्का भएर शीतलनिवास वरिपरि फन्को मार्ने वातावरण बनेको छ ।
नीतिमा किचलो कायमै
प्रधानमन्त्री छान्नका लागि राष्ट्रपतिको आह्वानलाई स्वीकारेर दलहरु छलफलमा जुटे पनि नयाँ प्रधानमनत्रीले के-के काम गर्ने र राष्ट्रलाई कसरी निकास दिने भन्नेबारे दलहरु अझै सहमतिमा पुगिहाल्ने देखिँदैन । अबको साता कसले सरकारको नेतृत्व गर्ने भन्ने सहमति त होला तर अन्य मन्त्री पद र मधेस एवं संघीयताको मुद्दामा कसरी सहमति होला ?

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......