विपतमा परेका नेपालीको उद्धारका लागि देउसी भैलो

युएई (दुबई), मंसिर २ - नेपालीहरूको महान चाड तिहारको पावन अवसरमा युएईमा कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरूले धुमधामका साथ देउसी भैलो कार्यक्रम सम्पन्न गरे । कार्यक्रम नेपाली एकता समाज युएईको आयोजनामा युएईस्थित आपत विपतमा परेका प्रवासी नेपालीहरुको उद्धार तथा सहयोग गर्ने हेतुले गरेको हो । 
उक्त देउसी भैलो कार्यक्रम नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा गत १५ नोभेम्बर बिहीबार र १६ नोभेम्बर शुक्रबारका दिन दुबई, शारजाह, अबुधावी र अजमानमा गरी ४ वटा सहरमा खेलेको थियो । यस ऐतिहासिक कार्यक्रममा दुबईमा आएको भर्खर १६ दिन मात्र भएको अनिता सापकोटाले विदेशमा आएर पनि तिहारको पर्वमा देउसी र भैलोको गीतमा रम्न पाउँदा नेपालमै रहेको अनुभूति भएको बताइन् भने दुबईमा आएको २ महिना भएको बसन्ता बन्जाडेले नेपाली दाजुभाइहरूसँग भेटघाट र नेपाली पसल र नेपाली रेष्टुरेण्टहरुमा जान पाउँदा सोचेभन्दा धेरै मनोरञ्जन भएको बताइन् ।

स्थानीय कलाकारहरूको प्रस्तुतिमा देउसी भैलोको गीतसँगै लोक भाकाका गीतले पनि कार्यक्रमलाई अझै तताएको थियो । लगभग ३० जनाको टोलीमा संस्थाको व्यानरसहित मादलको ताल, खैंजेडीको झन्झनात, हारमोनियमको लय र बांसुरीको मिठो धुनले आफैमा अलग संगम बनाएको थियो । त्यसमाथि पनि सेतो दौंरा र सुरुवालसँगै कम्बरमा रातो पटुकी कसी पाल्पाली ढाका टोपीमा सजिएको कलाकार डम्बर भण्डारीको नृत्यमा बसन्ता बन्जाडे र अनिता सापकोटाको साथले अझै सुनमा सुगन्ध थपिएको थियो ।
यस २ दिने दिउसी भैलो खेल्ने योजना अन्तर्गत दुबईमा- याक एण्ड यति वार एण्ड नेपाली रेष्टुरेण्ट, नेपाली रेष्टुरेण्ट, संजय गार्मेन्टस, सिल्वर स्पून नेपाली रेष्टुरेण्ट, काठमाण्डौं हाईल्याण्ड रेष्टुरेण्ट, बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल र शिवराज जैसीको कोठा साथीहरु रहेका छन् । त्यस्तैगरी अबुधावीमा- नेपाली राजदूतावास, हिमालयन रेष्टुरेण्ट, काठमाण्डौं रेष्टुरेण्ट र ग्रीन लाईन ट्राभल्स रहेका छन् भने शारजाहमा- फुड कोर्नर रेष्टुरेण्ट, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल र बागलुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्बर पाण्डे रहेका छन् । साथै अजमानमा- नेपाली रेष्टुरेण्ट रहेको छ ।
शुभ दिपावली २०६९ को पावन अवसरमा शुभकामना तथा देउसी भैलो कार्यक्रम आयोजक समितिलाई धन्यबाद दिनेहरुमा नेपाली राजदूतावासका राजदूत धनन्जय झा, उपनियोग प्रमुख दीपक अधिकारी, द्धितीय सचिव ललितमान श्रेष्ठ, श्रम सहचारी हिरा पौडेल, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, सिल्वर स्पून नेपाली रेष्टुरेण्टका संचालिका दिपा पाण्डे, फुड कोर्नर रेष्टुरेण्टका संचालक विदुर रावत, बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल र बागलुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्बर पाण्डे रहेका छन् । उक्त देउसी भैलो कार्यक्रमबाट ५ हजार दिराम संकलन भएको आयोजक समितिले जानकारी दिएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......