१८ कात्तिक। सिरहा । सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन् ।लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा
१० मा अध्ययनरत लहान-४ का श्रीकान्त पण्डितले उपयोग सकिएर फालिएका सामान
जोडेर रोवोट बनाएका हुन् । “मसी सकिएका डटपेन, भाँच्चिएका प्लास्टिक
कुर्सीका खुट्टा, खेलौनाको विद्युतीय मोटर र पेनियन चक्का, मोबाइलको पुरानो
ब्याट्री, पेनटर्चको चिम र तार जोडेर रोवोट बनाएको हुँ” पण्डितले भने ।
‘आइरन म्यान’ नामको रोवोटको निगेटिभ र
पोजिटिभ तार जोडेपछि टाउकोमा जडान गरिएको चिम बाल्दै करिब डेढ फिट उचाइको
रोवोट अगाडि बढ्ने गरेको उनले बताए । ‘माटोको भाँडा वर्तन बनाउने पेसा
गरेका बाबु रामसेवक पण्डितसँगै हिँडेर माटोको मूर्ति बनाउँदाबनाउँदै रोवोट
बनाउन सक्छु भन्ने लागेको थियो’ उनले आफ्नो विगत सुनाए ।
माटोको मूर्तिमा खेलौनाको मोटर जडान गरेर
हात, खुट्टा चल्ने बनाएदेखि नै रोवोट बनाउन सक्छु भन्ने सोच आएको सुनाउँदै
उनले भने ‘विज्ञान विषयको प्रयोगात्मक अभ्यासमा पनि विद्युतीय घण्टी बनाएको
थिएँ, त्यसपछि त झन् उत्सासहित भएँ ।’ पण्डितका अनुसार आफूले बनाएको
रोवोटलाई थप परिष्कृत गरेर ठूलो आकारको बनाएपछि त्यसले बन्दुक समेत पड्काउन
सक्नेछ । सामान्य आर्थिक अवस्थाका उनले आफूलाई थप प्रोत्साहन र सहयोग
प्राप्त भए भविष्यमा थप नयाँ खोज गर्ने उद्देश्य रहेको सुनाए ।
पण्डितले आफू अध्ययन गरिरहेको विद्यालयका
विज्ञान शिक्षक अरुणप्रसाद गिरीसहित अन्य शिक्षकहरूको प्रेरणाले उत्साहित
भएको बताए । विद्यालयका निमित्त प्राचार्य परमेश्वर रायले आफ्नो
विद्यार्थीले गरेको खोजलाई थप परिष्कृत र उपयोगी बनाउन आवश्यक आर्थिक र
भौतिक सहयोग गरिने बताउनुभयो । रासस
