अनिल पाण्डे, अमेरिका-नेवाः
अर्गनाइजेशन अफ अमेरिकाले नेपाल सम्वत् ११३३ को क्यालिफोर्नियाको
शान्तारोजामा शुभकामना आदानप्रदान तथा म्हो पुजाको भब्य आयोजना गरेको छ ।
विशेषगरी नर्दन क्यालिफोनिया क्षेत्रका
नेवार समुदायको उल्लेख्य उपस्थिति रहेको शुभकामना आदानप्रदान तथा म्हो पुजा
समारोहमा उक्त समुदायको संस्कृति झल्कने नृत्य, भेषभुषा प्रर्दशनी एवं
सहभागीहरुको लागि नेवारी खानाको ब्यवस्थापन गरिएको थियो ।
नेपालबाट सात समुन्द्रपार गरेर आएपनि
नेवारी संस्कृतिको संरक्षण र सम्बद्र्धनमा नेवाः अर्गनाइजेशन अफ अमेरिका
कटिवद्ध रहेको सो संस्थाका अध्यक्ष नारायण सोमनामीले बताउनु भयो । नेपाल
सम्बत् ११३३ आरम्भ तथा म्हो पुजा समारोहमा सोमनामीले उक्त धारण ब्यक्त
गर्नुभएको हो । अमेरिकामा जोजोले जे जस्तो काम गरेपनि आफ्नो संस्कृतिको
संरक्षण गर्नुपर्ने जानकारी दिदै उहाँले यस्तो कार्यक्रम नियमति रुपमा
हुनुपर्ने विचार राख्नु भयो । नेवाः अर्गनाइजेशन अफ अमेरिकाका सल्लाहकार
डिकेन्द्र मास्केद्धारा टिका तथा सगुन वितरणबाट शुरु भएको उक्त कार्यक्रममा
विभिन्न नेवारी नृत्यहरु प्रस्तुत गरिएको थियो । नेपाल सम्बत्को नयाँ बर्ष
आरम्भको अवसरमा आयोजित म्हो पुजाँ शुरु हुनुभन्दा अगाडि एक औपचारिक
कार्यक्रमसमेत सम्पन्न भयो । आयोजक संस्थाका अध्यक्ष नारायण सोमनामीले
राष्टिय विभूति शंखधर साख्वाको फोटोमा माल्यर्पण गरेर शुरु भएको औपचारिक
कार्यक्रममा संस्थाको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको परिचय गराइएको
थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुदै
संस्थाका महासचिव शिवजी श्रेष्ठले नेवार समुदायको लागि यो सामुहिक म्हो
पुजा आयोजना गरिएको बताउदै आयोजक संस्था कुनै राजनीतिक विचारबाट प्रेरित
नरहेको तथा यो गैरनाफामुखी संस्था भएको बताउनु भयो । कार्यक्रममा वालकलाकार
रिति जोशीले नेवारी केटाकेटीको प्रेमसम्बन्धी गीत ‘ये दैचा छला सापः’
भन्ने गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो भने विकेश महर्जन र रजनी
सेनताम्राकारले युगल नेवारी नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा
यमुना महर्जनको नृत्य तथा डिकेन्द्र मास्केको राममति कुमति भन्ने गीतको
प्रस्तुती पनि रहेको थियो ।
कार्यक्रममा मनकी चरी उडी उडी भन्ने
नेपाली गीतमा सुजन लिम्बुले आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै नेपाली
रिमिक्स गीतमा समेत प्रस्तुती गरिएको थियो । कार्यक्रममा रिया श्रेष्ठले
नेवारी समुदायका महिलाहरुले लगाउने पहिरन ‘हाकू पटाक्षी’ को बारेमा बताउनु
भएको थियो भने क्यारिना सोमनामीले म्हो पुजाको सन्र्दभमा आफ्नो धारणा
राख्नु भएको थियो ।
कार्यक्रममा भएका सहभागिता तथा सहयोगको
लागि आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण सोमनामीले
धन्यवाद ज्ञापन गर्नुभएको थियो भने समारोहमा आकर्षक लाखे नृत्य समेत
प्रस्तुत गरिएको थियो । मदन महर्जन र यमुना महर्जनले नेवारी तथा अंग्रेजी
भाषामा कार्यक्रम संचालन गर्नुभएको थियो ।
