२१ कात्तिक, काठमाडौं । नेपालबाट आएका
नेपाली र नेपाली-भाषी भूटानीमध्ये अमेरिकाको नागरिकता लिएका नेपालीहरु
मात्र यसपटकको राष्ट्रपति निर्वाचनमा मताधिकारका लागि योग्य छन् । सन् २००८
मा थालिएको पुनर्स्थापनामा अमेरिका आएका नेपाली-भाषी भूटानीहरु नागरिक
हुने समय अझै करिब ६ महिना छ । दुवै नेपाली-भाषीमाझ मतदानको आवश्यकतादेखि
मतदानमा संयोजनको खाँचोसमेत बुझाउनु पर्ने देखिन्छ भन्ने मत पनि नेपालीमाझ
कायम छ । राष्ट्रपतिलाई मत दिन कुनै व्यक्तिको उमेर १८ वर्ष पुगेको
हुनुपर्छ र उ अमेरिकी नागरिक हुन आवश्यक छ । स्थायी बासिन्दा अर्थात्
ग्रिनकार्ड मात्र भएको व्यक्तिले राष्ट्रपति निर्वाचन मतदान गर्न पाउँदैन ।
जो मत दिन तयार छन्, उनीहरुका विचार करिब उस्तै छन्, डेमाक्र्याटिकका
पक्षमा बढी ।
‘सन्
२००८ को निर्वाचनमा म अमेरिकी नागरिक भएको थिइँन । अहिले म नागरिक भइसकेको
छु । म त डेमाक्र्याटिक पार्टीलाई नै मत दिन्छु । राष्ट्रपति बाराक
ओबामाको पहिलो कार्यकालमा जागिर सिर्जना भएको छ । देशको अवस्था सुधारेको
महसुस गरेको छ’, न्युयोर्कको लङ आइल्यान्ड बस्ने विख्यात रक्तदाता
अर्जुनप्रसाद मैनालीले अनलाइखबरसँग भने, ‘डेमाक्रेटिक पार्टीको एउटा
मिटिङमा गएको थिएँ । म अरु क्रियाकलापमा लाग्न भ्याउँदिन । म फुर्सदको समय
रक्तदानका काममा लगाउँछु । म बस्ने लङ आइल्यान्डमा चार जना नेपाली मूलका
चार जना अमेरिकी नागरिक छौं । हाम्रो मत डेमाक्र्याटिकलाई नै जान्छ ।’
मैनालीले आप्रवासी (इमिग्य्रान्ट) को मत डेमाक्र्याटिकलाई नै जाने दाबी
गर्छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदैछ ।
प्रत्येक चार वर्षमा नोभेम्बरको पहिलो सोमबारको भोलिपल्ट मंगलबार अमेरिकी
राष्ट्रपति निर्वाचन हुन्छ । यसपटक ४ सय ३५ प्रतिनिधि-सभा सदस्य, एक तिहाई
सिनेट सदस्य (३३ जना), एक दर्जन राज्यका गभर्नर आदिका लागि निर्वाचन हुँदैछ
।
जर्जियाको अटलान्टा बस्ने समाजसेवी राजा
घलेले भने, ‘राजनीतिमा चासो लिन्छु । डेमाक्र्याटिकलाई नै मत दिन्छु । यो
पार्टीको कुनै उम्मेद्वारलाई दिन्छु । म आत्माबाट नै डेमोक्र्याट हुँ ।
एक्टिभिस्ट हुँ । सन् २००८ बाट मत दिन थालेको हो । सन् २००४ मा अल गोरले
हार्दा म अचम्ममा परेको थिएँ ।’ उनी चुनाव प्रचारमा लागेको बताउँछन् । घले
राजनीतिमा निकै चासो दिन्छन् र व्याख्या गर्न पनि जान्दछन् । उनी भन्छन्,
‘मत दिन जानुहोस् पनि भन्नुपर्छ । नागरिक भएपछि मत दिनु पर्छ । जित्नु
हार्नु जे भए पनि घरबाट निस्कनुहोस् । मत दिनुहोस् । त्यस्तै यहाँको
चुनावबारे सिकौं । जानकार बनौं । स्थानिय नेताहरुलाई भेट्ने र कुरा राख्ने
गर्छु ।’ घले पनि मध्यम वर्ग र आप्रवासीको मत डेमाक्र्याटिकलाई जाने
बताउँछन् ।
मत आफ्नो ठाउँबाट दिनुपर्छ र अन्यत्रबाट
दिने भए पहिले नै सूचना दिएको हुनुपर्छ, जस्तो: सेप्टेम्बर ३० पछि मतदानको
दिनसम्म विश्वभरका अमेरिकी कूटनीतिक नियोगमा कार्यरत वा त्यो देशमा भएका
अमेरिकी नागरिकले दूतावासमा गएर मत दिए ।
सिकागो बस्ने विष्णु फुँयाल नागरिक भएको
छैनन् । उनका छोराहरु भइसकेका छन् । इन्जिनियर फुँयाल भन्छन्, ‘म सानो-तिनो
समाजसेवा गर्छु । मेरो सोच चाहिँ सबलाई इश्वरले बराबर बनाउनु भएको छ ।
राजनीतिमा शक्ति हुन्छ । राजनीतिमा उचनिच हुन्छ । राजनीतिमा पटक्कै चासो
छैन । अल्पसंख्यक र प्रजातान्त्रिक भएकाले कसले के गर्छ चासो दिन्छु ।
स्थानिय स्तरमा राजनीतिमा लाग्न आह्वान गर्छन् । मैले गरेको छैन ।’ फुँयाल
भन्छन्, ‘नेपालीहरुले अभियानका रुपमा मत दिने गर्यौंछ भने हाम्रो भाषा,
संस्कृति, परम्परा आदिमा संघीय वा राज्य सरकारको ध्यान खिच्न सजिलो हुन्छ ।
हामीबीच अहिले संयोजन हुन सकेको छैन । मत दिएका छौं । तर नेपालीहरुका लागि
सदुपयोग हुने गरी जाने दिन आउाछन् भन्नेमा म छु ।’
अमेरिकामा राजनीति गर्नैपर्छ भन्ने हुँदैन
। यहाँ आफ्नो विचार राख्ने र धर्मको साधना गर्ने छुट छ । अमेरिकी समाजमा
मानिसलाई कुन पार्टीका हौं ? भनेर सोध्नुलाई अनौठो मानिन्छ । कसैले पनि
यस्तो प्रश्न सामान्यतः गर्दैन । आफ्नो समर्थन रहेको पार्टीको नाम भन्न
सक्छ । कति वर्षको हुनुभयो ? कति पैसा कमाउनुहुन्छ वा तलब कति छ ? तपाईं
कुन धर्म मान्नुहुन्छ ? तपाईं किन यति मोटाउनु भएको छ ? के तपाईंसँग
प्रशस्त पैसा छ ? घर किन्दा कति पैसा हाल्नुभयो ? जस्ता प्रश्न सोधिदैन ।
सोधिएमा अस्वभाविक लाग्छ ।
द एसोसिएसन अफ नेपलीज इन द अमेरिकाज
(एएनए) का महासचिव विजय थापा भन्छन्, ‘२०४६ सालको आन्दोलनमा नेपालको
प्रजातन्त्र स्थापनामा लागियो । यहाँ पनि प्रजातान्त्रिक हौं भन्न मनलाग्छ,
त्यसैले डेमाक्र्याटिक पार्टीलाई नै मत दिन्छु ।’ थापाले हालै मात्र
अमेरिकी नागरिकता लिएका हुन् र यो उनको पहिलो मताधिकार प्रयोग गर्ने अवसर
हो । थापा नेपालको अस्थिरता सम्झन्छन् र यहाँ मत दिनुको महत्व बुझ्न सबैलाई
आग्रह गर्छन् ।
जनगणना २०१० अनुसार नेपालबाट आएका
नेपाली-मुलका मानिसको संख्या ५९ हजार ४ सय ९० छन् र नेपाली-भाषी भूटानी ६१
हजार १ सय ८४ गरी अमेरिकामा कूल १ लाख २० हजार ६ सय ७४ नेपाली-भाषी भएका
छन् । तर नेपालबाट आएका नेपाली-मुलका मानिसको संख्या भने जनगणना
देखिएकोभन्दा तीन वा चार गुणा भएको अनुमान पनि गरिदै आएको छ ।

