माओवादीले माग्यो प्रधानमन्त्रीको उम्मेदवार

कांग्रेस-एमालेले लिखित प्रस्ताव दिने

१७ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीले विपक्षी कांग्रेस-एमालेसँग प्रधानमन्त्रीको उम्मेदवारसहित सहमतिको प्रस्ताव माग गरेको छ ।
ललितपुरको सुनाकोठी गाविस ठेचोस्थित एक घरमा शुक्रबार बसेको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेसँग प्रधानमन्त्रीको उम्मेदवार माग्नु भएको हो । कांग्रेस एमालेले संविधानसभाको निर्वाचनका लागि सहमतिको सरकार बन्नु पर्ने अडान लिएपछि प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारसहित सहमतिको प्रस्ताव माग्नु भएको हो । ‘हामीले वर्तमान सरकारलाई सहमतिको स्वरुप दिन सक्दैनौं । सहमतिको सरकार बन्नुपर्छ भन्यौं’ एमाले नेता भीम रावलले अनलाइनखबरसँग भन्नुभयो-’प्रचण्डजीले त्यसो भए प्रधानमन्त्रीको उम्मेदवार दिनुस भन्नुभएको छ ।’

यसअघि पनि सहमतिको प्रस्ताव पेश गरेको भन्दै नेता रावलले छिट्टै उम्मेदवारसहित लिखित प्रस्ताव पेश गर्ने बताउनु भयो ।
दलहरू बैशाखमा चुवान गर्न र प्रत्यक्षतर्फ २ सय ४० सिट कायम राख्न दलहरू सहमत छन् । संविधान संशोधन प्रकृया, समानुपातिकतर्फको सिट संख्या र सरकारको नेतृत्वबारे भने दलहरूबीच विवाद छ ।
माओवादीले नयाँ चुनावमा जाने भए आफ्नै नेतृत्वको सरकार हुनुपर्ने बताउँदै आएको छ भने कांग्रेस र एमालेले कांग्रेस नेतृत्वमा सहमतीय सरकार हुनुपर्ने अडान राख्दै आएका छन् । प्रचण्डले प्रधानमन्त्रीका लागि नाम माग्नुको अर्थ कांग्रेस नेतृत्वको सरकार मानेको अर्थमा बिपक्षी दलहरुले बुझेका छन् ।
गठवन्धनका उम्मेदवार भट्टराई नै
माओवादीले प्रधानमन्त्रीका लागि आफ्नो दावी भने छाडिसकेको छैन् । बैठकमा प्रचण्डले माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउने प्रस्ताव दोर्‍याउनु भएको छ ।
यस्तै गतिरोध अन्त्यका लागि प्रचण्डले पूरानै तीनबुँदे प्रस्ताव अघि सार्नु भएको माओवादी स्रोतले जानकारी दियो । संविधानसभा पुनःस्थापनालाई पहिलो प्राथमिकता दिइएको प्रचण्डको प्रस्तावलाई कांग्रेस-एमालेले यसअघि नै अस्वीकार गरेका छन् ।
चार दलका शीर्ष नेताहरुले यसअघि आजै बिहान राष्ट्रपति रामबरण यादवसँग भेट गरि छिटै सहमति गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......