बजेट अस्वीकार गर्ने राष्ट्रपतिको संकेत

काठमाडौं, कार्तिक २३ - राष्ट्रपति रामवरण यादवले सहमतिबिना सरकारले आर्थिक अध्यादेश (बजेट) ल्याए अस्वीकार गर्ने संकेत गरेका छन् ।
कांग्रेस-एमालेसहित विपक्षी १९ दलको ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिले सहमतिबबनाको बजेट अस्वीकार गर्ने संकेत गरेका हुन् । 'लोकतन्त्र र लोकतान्त्रिक मान्यतामा म अडिग छु,' राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, 'संविधान बमोजिम मेरो भूमिका निर्वाह गर्नेछु ।' दलहरुबीचको सहमतिमा जोड दिंदै राष्ट्रपतिले आफू पनि संविधानले दिएको हक अधिकार प्रयोग गरी सहमतिकै प्रयासमा लागेको बताए ।
विपक्षी दल सहमतिमा नआए बजेट ल्याउने सरकारी तयारीपछि विपक्षी दल बजेट रोक्न आग्रह गर्दै राष्ट्रपति कार्यालय गएका हुन् । उनीहरुले सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै बलजफ्ती ल्याउन लागिएको बजेटलाई स्वीकार नगर्न आग्रह गरेका छन् ।

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिबिना बजेट ल्याउन नमिल्ने बताए । 'बजेट चाहिन्छ, जनताको अधिकार पनि हो,' उनले भने, 'तर संविधानबमोजिम सहमति गर्न जरुरी छ ।'
राष्ट्रपतिलाई दलहरुबीच भइरहेका छलफल र बजेटबारे कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मिनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे, पशुपति शमसेर राणा र भूमिराज निरौलाले ब्रिफिङ गरेका थिए ।


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......