माया ठकुरी
“हेर्नुस् त मिस, हामीले यो फूलवारी कति राम्रोसँग गोड्यौं !” विनयले आफ्नो समूहका अरु तीनजना बालकसहित रमिलाको अगाडि गएर भन्यो ।
“ए, हो ? खोइ हेरुँ त !” भर्खर किशोरवय
पार गरेकी रमिला बालगृहको प्रांगणमा रहेको फूलवारीनिर पुगिन् र भनिन्,
“ओहो, कस्तो राम्रोसँग गोडेर सफा बनाएछौ! कति राम्रो देखिएको !”
त्यति नै खेर नौं वर्षको नोर्बुले पनि
रमिलाको छेउमा आएर भन्यो, “मिस, हामीले पनि कुखुराको खोर सफा गरेर अण्डाहरु
सबै डालीमा राखेका छौं ।”
“ल, ल जाऊ तिमीहरु, ज-जसले आफ्नो काम सक्यौ, हातमुख धोऊ ।” रमिलाले भनिन्, “त्यसपछि खाना खानुपर्छ ।”
स्कुलमा मिनपचासको बिदा सुरु भएयता
बालगृहमा बस्ने ३२ जना बालक यस्तै दैनिकीमा व्यस्त भएका थिए । कहिले
काठमाडौंका ऐतिहासिक स्थलहरु घुम्ने, खेल्ने, पिकनिक जाने, कहिले कविता
लेख्ने, चित्र कोर्ने जस्ता गतिविधिमा सहभागी हुने गरेका थिए । यी चारदेखि
आठ/नौ वर्षका बालकहरू कोही सडक-बालक थिए, कोही पाटीतिर फेलापरेका थिए भने
कोही आˆनै जन्मदातृ मातापिताद्वारा त्यागिएका पनि थिए । तीमध्येका धेरैजसो
बालक प्रतिभाशाली भएको कुरा उनीहरूले गरेका कामबाट प्रमाणित भएको थियो ।
मुग्लिन बजारको ‘होटल आँखीझ्याल’अगाडि एउटा यात्रुबस आएर अडियो । यात्रहुरू बसबाट आर्ले र धमाधम होटेलभित्र पसे ।
‘ल छिटो-छिटो खानाको अडर ली है कान्छी !’ साहुनीले उज्यालो अनुहार बनाएर भनिन् ।
लगभग १२/१३ वर्षकी खिरिलो शरीर भएकी एउटी
केटी एउटा अधबैँसे मानिस बसेको टेबिलछेउ गई र ‘तपाईलाई के ल्याइदिऊँ ?’
भनेर मसिनो स्वरमा सोधी ।
‘मलाई त तिमीलाई खान मन छ कान्छी, खाउ“m ?’ त्यो मानिसले आˆनो टाउको कान्छीतिर लगेर भन्यो ।
‘अबुई, के गर्नुभा’को यस्तो !’ कान्छी तसर्रे पछाडि सरी ।
‘किन डराएकी ? म बाघ-भालु होइन । आऊ न आऊ, मेरो नजिक आऊ !’ त्यो मानिसले कान्छीको पाखुरा समातेर उसलाई आफूतिर तान्यो ।
त्यसप्रकारको अप्रत्याशित व्यवहारले गर्दा कान्छी आतङ्कित भई र बलपूर्वक उसको हातबाट आफूलाई छुटाएर दगुर्दै भान्साकोठातिर गई ।
‘ए साहुनी, कान्छी त भागी नि ! उसैको हातमा खाना पठाऊ है !
उसको हातले ल्याएको खानाको स्वादै भिन्नै हुन्छ ।’ भन्दै त्यो मानिस ठूलो स्वरमा हाँस्यो ।
भान्साकोठामा दुवै हातले आफ्नो अनुहार
छोपेर कान्छी चित्त दुखाई-दुखाई रुँदै थिई । त्यत्तिकैमा झुत्रे लुगा
लगाएको एउटा सात/आठ वर्षको केटो कान्छीको नजिक आयो र उसको कुममा हात राखेर
भन्यो- ‘के भो दिदी ? कल्ले पिटयो ? किन रो’को ?’
आफ्नो एक मात्र भाइबाट स्नेहपूर्ण शब्द सुन्नासाथ कान्छीले भाइलाई गम्लङ्ग अँगालो हाली र हिक्कहिक्क गर्दै रुन थाली ।
‘ए तिमीहरू दिदी-भाइ त यहाँ अँगालो मारेर
बसेका छौ ? उता ग्राहक भने कराइरहेका छन् ।’ साहुनी रिसाउँदै भान्सामा आएर
हप्काउन लागिन्- ‘जा छिटो गएर खाना दे । अनि, तँ फुच्चे ! तँ पनि अब त जग र
पानी बोकेर जानु पर्दैन दिदीलाई सघाउन ? त्यो बिचरो रामेले कता-कता
भ्याओस् ?’
कान्छीले हत्केलाले आँसु पुछी र आफूलाई
सामान्य अवस्थामा ल्याउने प्रयास गर्दै उठरे ग्राहकहरू भएतिर लागी । फुच्चे
केटो पनि सकिनसकी पानीको जग उठाएर दिदीको पछिपछि हिँड्यो ।
दिनभरको व्यस्ततापछि पनि राति अबेरसम्म
त्यो केटी कहिले भाँडा माझ्ने, कहिले ग्राहकहरूको मागअनुसार खाना टेबलमा
पुर्याउने काममा लागिरहन्थी । आˆनो शरीर र उमेरले धान्न नसक्ने परिश्रम
गर्दा पनि ऊ आफूलाई सुरक्षित अनुभव गर्दिनथी । ऊ राति राम्ररी निदाउन पनि
सक्दिनथी । उसको भाइ सानो भएको हुनाले ओछयानमा पर्नासाथ निदाइहाल्थ्यो । तर
प्रायःजसो मध्यरातमा ऊ झस्कँदै, चिच्याउँदै वा कहालिँदै बिउँझन्थ्यो ।
कान्छीले भाइलाई थुमथुम्याउने र सुताउने प्रयास गर्दागर्दै रात बित्थ्यो ।
एक बिहान त्यो सानो केटो उठ्दा उसकी दिदी
होटलमा थिइन । निकैबेर दिदीलाई होटलमा नदेखेपछि उसले अधीर भई साहुनीलाई
सोध्यो- ‘दिदी खोइ ?’
‘मैले तेरी दिदीको ठेक्का लिएको छु र मलाई
थाहा हुने दिदी कहाँ गई भनेर ! हिरोइन हुन गई कि पोइला गई, मलाई के थाहा
?’ साहुनी च्याँट्ठिइन् ।
आफूलाई एकाएक दिदीले छोडेर गई भन्ने सुनेर त्यो सानो केटो हतास भई- ‘दिदी ! दिदी !’ भन्दै लेघ्रो तानेर रुन थाल्यो ।
‘ए केटा, बिहान-बिहानै यसरी लेघ्रो तानेर
अलच्छिन न ला है । तेरी दिदी अब कहिल्यै र्फकेर आउँदिन । हामीले भने दुःख
पाएर, गाउँघर छोडेर आएका केटाकेटीलाई बस्ने खाने मेसो लगाइदिन्छौं । उनीहरू
भने दुई/चार दिन बसेपछि मात्तिएर भाग्छन् । जे भयो भयो, अब के गर्छस् ?
यहीँ बस्, सकेको काम गर्, खा ! तँ रोएर तेरी दिदी र्फकने होइन !’ साहुनीले
भनिन् ।
त्यसपछि त्यो केटो त्यहीँ आफूले सकेको सानोतिनो काम सघाएर बस्न लाग्यो ।
तीन/चार महिनाजति पछिको कुरो हो । एकदिन
एकजना ग्राहक भात खान ठिक्क परेको बेला उसलाई पानी दिने क्रममा त्यो केटाको
हातबाट जग खस्यो र भातको थालमा बजारियो । केटाले ‘के भयो ?’
भनेर सोच्न नभ्याउँदै ग्राहकले उसको कलिलो गालामा जोडसँग झापड लगायो र भन्यो- ‘कुकुर, पानी दिन पनि सोमत छैन तँलाई !’
‘हैन, तपार्इ यस्तो कामै नजान्ने केटालाई
किन राख्नुहुन्छ… बेकारमा ।’ ग्राहक साहुनीतिर हेर्दै आँखा तर्दै थियो ।
उसको रिस मरेको थिएन ।
‘के भन्ने र । केही कुरो भन्यो भने बरु
मूढो बोल्ला यो बोल्दै- बोल्दैन । सास फेरेको छ, त्यसैले मान्छे जस्तो छ,
नत्र मान्छे पनि होइन जस्तो भइसक्यो’, साहुनी भन्दै थिइन् । रामेले
तात्तातो भात र मासु ल्याएर ग्राहकको अगाडि टेबलमा राखिदियो । ग्राहक सपासप
भात खान थाल्यो ।
साहुनीले भनिन्- ‘ए फुच्चे ! ल पानी पनि दे, नपोखीकन ।’
त्यो सानो फुच्चेले पानी भरिएको जग ल्याएर
ग्राहकले भात खाँदै गरेको स्टिलको खण्डे थालमा एकाएक जोडसँग बजारिदियो ।
थाल उछिट्टयिो र खानेकुरा त्यो ग्राहकको अनुहार र कपडामा छरपस्ट भयो ।
आफूले कल्पनै नगरको घटना भएकोमा त्यो
मान्छे क्षणभरका लागि स्तब्ध भयो । उसले देख्यो, त्यो सानो फुच्चे आँखामा
घृणाको भाव बोकी उसको अगाडि निर्भयपूर्वक ठिङ्ग उभिएको थियो । सानो केटाको
दुस्साहसबाट क्रुद्ध त्यस मानिसले उसलाई समात्न हात बढाएको मात्र के थियो
त्यो केटो बिजुलीको गतिमा होटलबाहिर दगुर्यो । त्यसपछि निकैबेरसम्म उसलाई
खोजियो, तर ऊ फेला परेन ।
होटलबाट दौडेर त्यो फुच्चे निकै वर आयो र अड्याइराखेको एउटा बसभित्र गई लुक्यो । एकछिनमा बस काठमाडौं तिर हानियो ।
साँझ लगभग चार बजेको थियो । चिया-नास्ता
गरिसकेपछि सबै बालक बालगृहको आँगन र मैदानमा विभिन्न खेलमा रमाइरहेका थिए ।
केही बालक गोठछेउ ढुङ्गा, माटो, पराल लिएर साना-साना नमुना घर बनाउँदै थिए
। कृष्ण, शम्भु, युगल, रोशनहरूचाहिँ अलि पर बसेर आ-आफ्ना कापीमा चित्र
कोर्दै थिए भने अन्य बालकहरू अलि पर चौरकम फुटबल खेल्दै थिए । बालगृहका
सञ्चालिका अम्बिका जोशी र सदस्यहरू रमिला मिस, दामोदर सर र गोविन्द सर
आँगनको एउटा कुनामा बसी कुनै विषयको छलफलमा व्यस्त देखिन्थे ।
अचानक नजिकै ठूलो कोलाहल सुनियो । केही
बालक कसैलाई लखेट्दै यता र उता दगुर्दै थिए । उनीहरूका पछिपछि पालेदाइ पनि
‘के भयो ? के भयो ?’ भन्दै दौडँदै थिए । त्यो हल्लाले सबैको ध्यान उतै
तानियो ।
दामोदर सरले एकजना बालकको पाखुरा समाती सोधे- ‘के भो, तिमीहरू किन यसरी दगुरादगुर गरेका ?’
‘हेर्नुस् न सर, हामीले कति दुःख गरी बनाएको घर त्यसले भताभुंग पारिदियो ।’ त्यो केटाले परतिर देखाउँदै रुन्चे स्वरमा भन्यो ।
‘कसले, के भत्काइदियो ?’ रमिला मिसले उत्सुकतापूर्वक सोधिन् ।
‘अरू कसले हुन्थ्यो, त्यही कुमारले त हो
नि हाम्रो घर भत्काइदिएको । त्यसले जहिले पनि हामीले बनाएको घर
भत्काइदिन्छ, चित्र पनि च्यातिदिन्छ । अनि सबैसँग निहुँ खोज्छ, झगडा गर्छ ।
कि बोल्दैन, एक्लै बस्छ, मिलेर पनि खेल्दैन । त्यसलाई यहाँ राख्नु हुँदैन,
खेदिदिनु पर्छ ।’ नौ वर्षे सूवर्णले गम्भीर स्वरमा भन्यो ।
‘त्यसो भन्नु हुँदैन । ऊ पनि तिमीहरूको
साथी हो । उसले नराम्रो गर्यो भन्दैमा हामीले पनि उसलाई नराम्रो गनुपर्छ
भन्ने होइन । उसलाई माया गरी सम्झाई बुझाई गर्नुपर्छ । अनि त ऊ पनि
तिमीहरूजस्तै ज्ञानी भइहाल्छ नि । कति भयो र ऊ यहाँ आएको, भर्खर २०/२२ दिन न
भयो, सुरु-सुरुमा यहाँ आउँदा नौलो वातावरणमा बस्नुपरेपछि सबैले यस्तै के
के गर्छन् नि । पछि सब ठीक हुँदै जान्छ ।’ रमिला मिसले ती बालकहरूलाई
सम्झाउन खोजिन् ।
दामोदर सरले थपे- ‘हो, रमिला मिसले ठीक
भन्नुभयो । तिमीहरू सबै असल र ज्ञानी केटाहरू हौ । तिमीहरूको सङ्गतले ऊ पनि
तिमीहरूजस्तै असल हुनेछ । भैगो, अहिले तिमीहरू खेल !’
त्यस दिन कुमारलाई सबैले सम्झाई-बुझाई गरे ।
यो घटना भएको लगभग हप्ता दिनपछिको कुरो हो
। बेलुकाको खानपिन सकी सबै बालक सुत्ने तरखरमा थिए । अचानक बाहिर पालेदाइ
चिच्याएको सुनियो, ‘आगो लाग्यो, आगो !’
सबै जना हस्याङफस्याङ गर्दै बाहिर निस्के ।
गोठमा दनदनी आगो बलेको थियो । पालेदाइले गोठका दुईवटा भैँसीको दाम्लो
खोलिसकेका रहेछन् । सबै मिस-सर बाल्टी बोकेर आगोमा पानी खन्याउन थाले ।
एकछिनको प्रयासपछि उनीहरू आगो निभाउन सफल भए ।
‘आगो कसरी लाग्यो ?’ गोविन्द सरले पालेदाइलाइ जिज्ञासा राखे ।
‘खोइ, म त यताउता गर्दै थिएँ । अचानक
गोठमा उज्यालो देखियो । कसले के बालेछ भनेर हेर्न आएको त आगो लागेको रहेछ ।
म त भैंसी फुकाउन लागेँ ।’
सात वर्षे अंकितले प्याच्च भन्यो, ‘सर, कुमारले आगो लगायो होला ।’
- ‘किन त्यसो भनेको अंकित ? तिमीले कसरी थाहा पायौ ?’
- ‘उसले जहिले पनि आगो लगाइदिन्छु भन्छ ।’
- ‘खोइ त कुमार ?’
सबैका आँखाले कुमारलाई खोजे । कुमार कतै पनि देखिएन । सबैजना धुइँधुइँती खोज्न लागे ।
‘बाबु त भोगटेको रूखपछाडि पो लुकिराखेको
रहेछन् त ।’ पालेदाइले एकछिनपछि बालगृहको ठूलो हलमा कुमारलाई डोर्याउँदै
ल्याए र भने- ‘आउनै मानेका थिएनन्, बल्ल-बल्ल ल्याएँ ।’
‘कुमार, तिमी किन लुकेको ?’ रमिला मिसले सोधिन् ।
‘तिमीले हो गोठमा आगो लगाएको ?’ रमिला मिसको कुरा सकिँदा नसकिँदै दामोदर सरले सोधे ।
कुमार घोसे मुन्टो लगाएर उभिइरहृयो ।
‘हेर, यति राम्रो मान्छे भएर पनि यस्तो
नराम्रो काम गर्न हुन्छ ? यहाँ हामी सबैले तिमीलाई कति माया गर्छैा ।
तिमीले स्कलु पढ्न पाएका छौ, राम्रो खान पाएका छौ, साथी पाएका छौ । यति
हँदाहुँदै कसैको कापी, चित्र च्यातिदिन, कसैले बनाएको घर भत्काइदिने, झगडा
गर्ने र हुँदाहुँदै त आज गोठमा आगो लगाउने आँट गर्यौ तिमीले । तिम्रो कसले
के बिगारिदिएको छ र ? किन यस्तो गरेको भन त !’ अलि हप्काएझैँ गरी दामोदर
सरले प्रश्न गरे । कुमारले केहीबेरसम्म स्थिर दृष्टिले सरको अनुहारमा
हेरिरहृयो ।
‘हामीले पनि उनीहरूको के बिगारेको थिएम् र
? हाम्रो बालाई गोली हानेर मारे, अनि आमालाई चुल्ठो तान्दै लछार्दै लगे,
घरमा आगो लगाइदिए ! हामीले के बिगारेका थिएम् र ?’ शताब्दीयौँदेखि सुषुप्त
ज्वालामुखी अचानक विस्फोट भएझैँ त्यो फुच्चे बालकको मुखबाट शब्दहरू आगोका
ज्वालाझैँ बनेर निस्के । वातावरणमा एकाएक श्मशान स्तब्धता छायो ।
एकछिन त्यहाँ भएका सबै जनाले अवाक् भई
त्यस बालकको अनुहार हेरिरहे । त्यसपछि बिस्तारै पाइला चाल्दै रमिला मिस अघि
बढिन् र कुमारको अगाडि घुँडा टेकेर बसिन् । त्यसक्षण उनका आँखामा आँसु
टल्पलाउँदै थियो । उनले बिस्तारै आफ्ना दुवै हात फैलाएर त्यस बालकलाई आफ्नो
छातीमा टाँसिन् ।
उनी शब्दको माध्यमद्वारा उसलाई सान्त्वना
दिन चाहन्थिन् तर हृदयभित्र उर्लेको पीडाको ज्वारभाटाले उनको गला अवरुद्ध
गरायो । उनी सुँक्कसुँक्क गर्न थालिन् ।
अचानक कुमार ‘दि… दी…! दि….दी !’ भन्दै
कङ्कला स्वरमा रुन थाल्यो । त्यहाँ भेला भएका बालकहरू र सरहरू सबै कुमारको
नजिक पुगी रानी माहुरीलाई अरू माहुरीले घेरेकोझैँ गरी घेर्न लागे ।
(ठकुरीको कथासंग्रह प्रियम्वदाबाट)
