कांग्रेस-एमालेसँग एमाओवादीले पनि माग्यो प्रधानमन्त्रीको उम्मेद्‍वार

काठमाडौं, मंसिर ९ - एमाओवादीले पनि विपक्षी कांग्रेस-एमालेसँग सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेद्‍वार प्रस्ताव गर्न माग गरेको छ ।

शान्ति मन्त्रालयमा शनिबार साँझ बसेको तीन दलको बैठकमा एमाओवादीले सहमतीय सरकारको प्रधानमन्त्रीसहित निर्वाचनको मिति र संवैधानिक निकासका विषयमा ठोस प्रस्ताव माग गरेको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षीको प्रस्ताव हेरेर सत्तारुढ दलले ठोस जवाफ दिने बताए ।

कांग्रेसले नेता शेरबहादुर देउवा राजधानी फर्केपछि सोमबार केन्द्रीय समितिको बैठक बोलाएर प्रधानमन्त्रीको उम्मेद्‍वार चयन गर्ने जवाफ दिएको छ ।

एमाओवादी अध्यक्ष दाहालले सहमतीय सरकारको प्रधानमन्त्रीसहित निर्वाचनको मिति र संवैधानिक निकासका विषयमा ठोस प्रस्ताव आए आफ्नो दल हदैसम्मको लचिलो हुन तयार रहेको बताए ।

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपतिले दिएको समयसीमाभित्र निकास निस्कने दाबी गरे । 'जसरी पनि सहमतिमा पुग्नुछ,' उनले भने, 'सहमतिमा कसरी पुग्न सकिन्छ भन्नेबारे भोलि पर्सी पनि निरन्तर छलफल गर्छौं ।'

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकाल लम्ब्याउने पक्षमा आफ्नो दल नभएको बताउँदै प्याकेजमा सहमतिका लागि नयाँ शिराबाट अघि बढ्न तयार रहेको बताए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताउँदै संवैधानिक निकास, वैशाखमा चुनाव गर्ने विषयमा छलफल भएको बताए ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......