विद्यार्थीले ताला लाए, प्रहरीले ह्‍याक्सोले काटे

ललितपुर, कार्तिक २४ - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास) का उपकुलपति र शिक्षाध्यक्षको राजीनामा माग्दै चिकित्सक, कर्मचारी र विद्यार्थीले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले अस्पतालभित्रै पसेर बल प्रयोग गरेको छ । पूर्वघोषणाअनुसार उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरी हस्तक्षेपछि अस्पतालको स्थिति तनावपूर्ण छ ।

आन्दोलनरत पक्षले हस्तक्षेपविरुद्ध शुक्रबार उपकुलपति संगीता भण्डारी र शिक्षाध्यक्ष सौम्या भट्टाचार्यलाई कार्यकक्षमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अस्पतालको कुनै पनि सेवा प्रभावित नहुने गरी भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएकाले आइतबार बहिरंग सेवासमेत ठप्प पारिने कर्मचारी गोकुल सापकोटाले बताए । 'स्वास्थ्यनिकायभित्रै नांगो हस्तक्षेप भएपछि पेसागत सुरक्षाका लागि बाध्य भएर काम रोक्नुपरेको हो,' उनले कान्तिपुरसित भने, 'राजनीतिक नियुक्तिमा वर्षौंदेखि एउटा पद्धतिमा चल्दै आएको संस्थामा मनोमानी गर्न हुन्न भन्ने हाम्रो माग सुनुवाइ गर्नुको साटो प्रहरी दमन गर्ने ? हामीलाई यो सह्य छैन ।'


तालाबन्दीको सूचना पाएपछि उपकुलपति भण्डारीले जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा माग गरेकी थिइन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले अस्पतालमा सामान्य ठेलमठेल मात्रै भएको दावी गरे । 'त्यति घटनालाई बल प्रयोग भयो भन्न मिल्दैन,' उनले भने । अस्पतालमा प्रहरीले केही विद्यार्थीको एप्रोन च्यातिदिएको थियो । प्रहरीले लाठीचार्ज समेत गर्न थालेपछि विद्यार्थी आक्रोशित भएका थिए । अस्पतालमा बुधबार बेलुकीदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको थियो । 'हामीलाई कार्यालय अगाडि उभिएर प्लेकार्ड देखाउन र धर्ना बस्न पनि दिइएन,' अस्पतालका वरिष्ठ चिकित्सक भरत यादवले भने, 'पटक-पटक लछारपछार भयो, स्वास्थ्यकर्मी र निकायभित्रको यस्तो हस्तक्षेप निन्दनीय हो ।'

धर्ना बसेका चिकित्सकलाई प्रहरीले हटाउन खोजेपछि एमबीबीएसका विद्यार्थीले नाराबाजी थालेका थिए । उनीहरूले पूर्वघोषणाअनुसार उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दीको प्रयास गरेपछि सुरक्षाकर्मीले अस्पताल परिसरमै लाठीचार्ज गरेको थियो । त्यसपछि स्वास्थ्य निकायभित्र बल प्रयोग भएको भन्दै विद्यार्थीहरूले एप्रोन फुकालेर विरोध प्रदर्शन र कोणसभा गरेका थिए ।

चिकित्सक एवं विद्यार्थीले तालाबन्दी नगर्दासम्म धर्ना जारी राख्ने अडान राखेपछि सुरक्षाकर्मीहरू पासको कार्यालयबाट हटेका थिए । त्यसलगत्तै आन्दोलनकारीले तालाबन्दी गरी अस्पताल परिसरमा धर्ना दिए । विद्यार्थी धर्नामा गएको मौकामा सुरक्षाकर्मीहरूले 'वायर कटर' प्रयोग गरी ताला र सिक्री काटेका थिए । चिकित्सकहरूले अस्पतालभित्र सुरक्षाकर्मीको हस्तक्षेपप्रति आपत्ति जनाएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान उपकुलपति अर्जुन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेर दमन गर्न खोज्नु निन्दनीय भएको प्रतिक्रिया दिए । 'कुनै तोडफोड र अवरोधबिना शान्तिपूर्ण रूपमा कार्यक्रम गर्ने तय भएको थियो,' कार्कीले भने, 'अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र स्वास्थ्यकर्मीहरूमाथि यसरी बल प्रयोग गर्नु आपत्तिजनक हो ।'

हस्तक्षेपलगत्तै विद्यार्थीहरूले प्रहरी दमनका कारण काम गर्ने अवस्था नभएको भन्दै आकस्मिकबाहेक बहिरंग र अरू नियमित सेवा अवरुद्ध गर्ने तयारी गरेका थिए । तर सेवा बन्द गर्दा गलत सन्देश जाने भन्दै वरिष्ठ चिकित्सकहरूले आन्दोलनकारी विद्यार्थीलाई संयमित बनाएका थिए ।

घटनाबारे उपकुलपति भण्डारीले कुनै प्रतिक्रिया दिन मानिनन् । 'तपाईंलाई जे मन लाग्छ लेख्नुस्', उनले भनिन्, 'मलाई कुनै प्रतिक्रिया दिनु छैन ।'
नेपाल चिकित्सक संघले अस्पतालभित्र भएको प्रहरी हस्तक्षेप र लाठीचार्जको भत्र्सना गरेको छ । संघका महासचिव भूपेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत यस्ता घटनाले स्वास्थ्यकर्मीमाथिमात्रै नभई बिरामीमाथि पनि असर पर्ने भएकाले असहज परिस्थितिको छिटो समाधानका लागि आह्वान गरेको छ ।

उपकुलपति भण्डारीले अस्पतालका वरिष्ठ र वर्षौंदेखि काम गर्दै आएकासित सल्लाह नै नगरी एकपक्षीय रूपमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सौम्या भट्टाचार्यलाई शिक्षाध्यक्ष नियुक्त गरेपछि चिकित्सक कर्मचारीले उनको राजीनामा माग्दै विरोध थालेका हुन् । आफ्नो नियुक्तिपछि प्रतिष्ठानको आर्थिक, प्रशासनिक र प्राज्ञिक सबै अधिकार आफूमा केन्दि्रत गर्ने, मनोमानी रूपमा खरिद समिति गठन गर्ने, एमबीबीएस अध्यापनमा विद्यार्थी संख्या बढाउने लगायत प्रस्ताव गरेपछि आन्दोलनरत पक्ष थप आक्रोशित भएको हो ।

'बोर्डसित सल्लाह गरेको कुरा झूट्टो'

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान राष्ट्रिय सल्लाहकार बोर्डले शिक्षाध्यक्ष नियुक्तिमा बोर्डका पदाधिकारीसित सल्लाह गरिएको भन्ने उपकुलपति भण्डारीको अभिव्यक्ति झूट्टो भएको बताएको छ । बोर्ड बैठकले उपकुलपतिको भनाइप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सत्य नभएको जनाएको हो ।
प्रतिष्ठानका वरिष्ठ चिकित्सक, सल्लाहकार बोर्ड लगायतसँग सल्लाह नगरी एकपक्षीय रूपमा शिक्षाध्यक्ष नियुक्त गरेको आरोपपछि उपकुलपति भण्डारीले बोर्डका सदस्यसँग सल्लाह गरेर नियुक्त गरेको बताएकी थिइन् । राष्ट्रिय सल्लाहकार बोर्ड पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्त्वपूर्ण र प्रभावकारी निकाय मानिन्छ । बोर्डमा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू छन् ।
'युनाइटेड मिसन टु नेपाल' ले पाटन अस्पताललाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास) मातहत सञ्चालन गर्ने क्रममा सल्लाहकार बोर्डसमेत गठन भएको थियो । अस्पतालको नीतिगत निर्णयमा बोर्डको महत्त्वपूर्ण भूमिका रहन्छ । पासको नीति तथा योजना निर्माण र अन्य नियमित कामकारबाहीमा पदाधिकारीहरूको अभिभावकीय भूमिकामा बोर्डका पदाधिकारीहरू हुन्छन् । माथेमा अध्यक्ष रहेको बोर्डमा हिक्मत विष्ट, कृष्णकुमार पाँडे, भगवान् कोइराला र केबी रोकाया सदस्य छन् ।

बोर्डले मुलुकका अधिकांश स्वास्थ्य निकाय राजनीतिक हस्तक्षेपका कारण धराशयी बनेको भन्दै नमुनाका रूपमा बचेको पाटन अस्पतालसमेत राजनीतिक हस्तक्षेपको सिकार भएको भन्दै चिन्ता जनाएको छ । बोर्ड अध्यक्ष माथेमाले प्राज्ञिक स्वतन्त्रताका कारण अहिलेसम्म पाटन अस्पतालको गरिमा कायम रहेको बताए । 'राजनीतिक हस्तक्षेप नै नभएकाले त पाटन अस्पताल चोखो र नमुना थियो नि,' उनले भने, 'चिकित्सकहरूको आन्दोलनमा हाम्रो गहिरो चासो छ, सरकारले नमुना अस्पताल राजनीतिक हस्तक्षेपबाट धराशयी बनाउनुभएन ।'

पाटनका चिकित्सकहरूको आन्दोलनप्रति प्रतिष्ठानका विद्यार्थी तथा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पनि समर्थन गरेका छन् । त्रिवि प्राध्यापक संघ, शिक्षण अस्पताल इकाइले मंगलबार विज्ञप्तिमार्फत आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको जायज मागको समयमै सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।













तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......