रिसोर्ट चाहार्ने शीर्ष नेताहरु निजी घर रोज्दै


१७ कात्तिक, काठमाडौं । १२ बुँदे समझदारी गरेर लोकतन्त्र स्थापना गरेदेखि नै राजनीतिक सहमति खोज्न दलहरु चारतिर धाइरहेका छन् ।अन्तरिम संसद, अन्तरिम संविधान, अन्तरिम सरकार, संविधानसभा चुनाव, गणतन्त्र कार्यान्वयन, शान्ति सम्झौता, हतियार व्यवस्थापन लगायतका विषयमा सहमति जुटाउन पहिले दलहरु बालुवाटार, सिंहदरबार, पार्टी कार्यालय, होटल, रिसोर्टमा चाहार्थे । संविधानसभाको चुनाव भएर संविधान बनाउने बैठक बस्न थालेपछि पनि उनीहरुको दौडधप चलिरहृयो । सहमतिका मुद्दा र बुँदा केही फरक भएपनि सत्ताको मुद्दा भने हरेक पटक दोहोरिरहेको छ ।
संविधानसभा हुँदा संविधानका विवादित विषयमा सहमति जुटाउन दौडधूप गर्ने दलहरु अहिले संविधानसभा बिघटनपछिको राजनीतिक गतिरोध अन्त्य गर्ने उपाय खोज्न व्यस्त छन् । आआफ्ना अडान र स्वार्थलाई सँगै बोकेर सहमतिको बैठकमा दौडिएका उनीहरुले गतिरोध अन्त्यको फेद, टुप्पो चाहिँ अझै फेला पार्न सकेका छैनन् ।

कांग्रेस र एमालेको चियापानमा गुलियो चिया पिउँदै नेताहरुले राजनीतिक गतिरोध छिटै अन्त्य गर्ने बताए । अध्यादेश मार्फत संविधान संशोधन गर्ने, सहमतिमा पूर्ण बजेट ल्याउने, बैशाखमा चुनाव गर्ने विषयमा नेताहरु सहमत भएपनि सहमतीय सरकारको नेतृत्वबारे भने कुरा मिलेको छैन । जुनसुकै मुद्दामा पनि सरकारको नेतृत्वबारेको विषय जोडिने भएकाले सहमति जुटाउन दलहरुलाई धौ धौ परेको छ ।
सहमतिको नाम सुन्दासुन्दा जनता वाक्क भएपनि दलहरु यही मन्त्र जपेर अहिले दिनदिनै बैठक र छलफलमा व्यस्त हुन थालेका छन् । तर पहिलेपहिले जस्तो बैठकको लागि बालुवाटार, सिंहदरबार, होटल, रिसोर्ट र पार्टी कार्यालयमा होइन नेताहरुको बसाई निजी घरमा हुन थालेको छ ।
बालकुमारीपछि चापागाउँ
अब निर्णायक छलफल बनेका दलहरु बिहीबार एमालेका एकजना नेता कृष्णलाल महर्जनको घरमा बैठक बसेका थिए । त्यो बैठकको चाँजोपाँजो एमालेका नेता माधव नेपालले गर्नुभएको थियो । महर्जनको घरमा यसअघि पनि बेलाबेला बैठक बस्थ्यो । बिहीबार महर्जनको घरमा बैठक बस्ने कुरा बिहान अबेरसम्म पनि धेरैलाई थाहा थिएन । कसैले बानेश्वर त कसैले बालुवाटार भन्दै आएका थिए ।
बिहीबारको बैठकमा शुक्रबार फेरि बस्ने भनिएपनि कहाँ भन्ने टुंगो लागेको थिएन । शुक्रबार बिहान नेताहरु राष्ट्रपतिकहाँ जमघट हुने कार्यक्रम थियो । राष्ट्रपतिकहाँ गएको बेला उतै एकछिन बात मारेर शुक्रबारको मेलो सक्ने हुन् कि भन्ने धेरैले सोचेका थिए । तर राष्ट्रपतिको कुरा सुनेर टाउको हल्लाएका नेताहरु सहमति खोज्न बैठक बस्ने निधोमा पुगे । कहाँ बस्ने भनेर एकछिन छलफल भयो । एमालेले हिजोको ठाउँ बालकुमारी जाने प्रस्ताव गर्यो । तर माओवादीले भने नयाँ घर जानुपर्ने बतायो । ललितपुर चापागाउँको एउटा घरमा बस्नेबारे प्रचण्डले प्रस्ताव गरेपछि सबै नेताहरु त्यतै हानिए ।
शुक्रबार दलहरु बैठक बसेको ललितपुर ठेंचोको घर गैरआवासीय नेपाली निरञ्जन श्रेष्ठको हो । श्रेष्ठ माओवादी नजिकका व्यवसायी हुन् । उनको घरमा पहिलोपटक पुगेका नेता र पत्रकार अचम्ममै परे । ‘नारायणहिटी भन्दा पनि भव्य पो रहेछ घर त’ एकजना पत्रकारले भन्दैथिए ।
जे होस्, पहिले होटल, रिसोर्ट चाहर्ने नेताहरु अहिले बैठकको लागि निजी निवास पस्न थालेका छन् । ‘बैठकको लागि तडकभडक गर्न हुँदैन भन्ने कुरा शीर्ष नेताहरुलाई लागेको हुन सक्छ’ बिहीबारको बैठक आयोजना गर्ने एमालेका महर्जनले अनलाइनखबरसित भन्नुभयो -’पार्टी र जनतासँगको सम्बन्ध बलियो बनाउन पनि यसलाई निरन्तरता दिनुपर्छ ।’
नेताहरु बैठकमा बस्दा खाजापानीको व्यवस्था, कोठाचोटा सरसफाई जस्ता कुरा गर्नुपर्ने भएकाले घरवालालाई केही झञ्झट त भैहाल्छ । ‘तर हामीलो झञ्झटको रुपमा लिएका छैनौं’ महर्जनले भन्नुभयो -’राष्ट्रिय सहमतिको लागि हुने छलफल गर्न आफ्नो ठाउँ दिनु त गौरवको कुरा हो नि ।’

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......