केही दिनमै आइसियुबाट वार्डमा सारिने

नयाँदिल्ली , कार्तिक २३ - थप उपचारका लागि भारत ल्याइएका एमाले नेता केपी ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको उनी निकटवर्तीले बताएका छन् ।
श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंस्थित नर्भिक अस्पताल भर्ना भएका ओलीलाई थप उपचारका लागि आइतवार एयर एम्बुलेन्स्मा नयां दिल्ली नजिकैको मेदान्त अस्पताल ल्याइएको थियो ।
'उहाँको स्वास्थ्यमा सुधार हुने क्रम सन्तोषजनक भएको चिकित्सकहरुले भनेका छन् । सम्भवत् आइतवारभित्रै उहांलाई आइसियुबाट वार्डमा सार्न सकिने उनीहरुले बताएका छन्,' ओलीका सहयोगी ईन्द्र भण्डारीले कान्तिपुरसंग भने । अतिसघन उपचार कक्ष आइसियुमा राखिएका ओलीलाई चिकित्सक यातिन मेहता नेत्तृत्वको टोलीले हेरिरहेको छ ।

ओलीलाई यसअघि हेर्ने गरेका अन्य भारतीय चिकित्सकहरुसंग पनि उनको पछिल्लो स्वास्थ्य प्रतिवेदनबारे बुधवारै छलफल गरिएको थियो । मृगौला प्रत्यारोपण गरेका ओलीको त्यससम्बन्धी नियमित जांच नयां दिल्लीस्थित एपोलो अस्पतालका चिकित्सकहरुले गर्दै आएका थिए ।
'मृगौलमा कुनै पनि समस्या नदेखिएको चिकित्सकहरुले बताएका छन् ,' ओलीको उपचारका लागि सक्रियतापूर्वक सघाइरहेका भारतीय समाजवादी नेता विजय प्रतापले भने । २००७ जुलाईमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।
पछिल्लोपटक एक कार्यक्रमका लागि अमेरिका पुगेका ओली बिरामी भएपछि न्यूयोर्कस्थित अस्पतालमा भर्ना गरिएका थिए । त्यहाँ केही सुधार भएपछि स्वदेश फर्किएका ओलीलाई पुनः समस्या देखिएपछि नर्भिक हुँदै मेदान्त ल्याइएको थियो ।
मेदान्तका चिकित्सकहरुले ओलीसँगको भेटघाटमा पनि कडाईं गरेका छन् । दैनिक निश्चित समयका लागि एक जनालाई मात्रै ओलीसंग भेट्न अनुमति दिइएको भण्डारीले जानकारी दिए ।
यसैबीच दुई जना नेपाली चिकित्सक दिलीप शर्मा र कैलाश भण्डारी ओलीलाई भेट्न बुधवारै काठमाडौंबाट मेदान्त पुगेका छन् ।





तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......