प्रधानमन्त्री माग्दै राजाबादीहरु शीतलनिवासमा

केशरी महतो र मुस्कान पौडेलले प्रधानमन्त्रीको निबदेन हाले

१४ मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय प्रधानमन्त्रीको लागि दिनुभएको समयसीमा सकिन झण्डै दुईघण्टा बाँकी छँदा बिहीबार दिउँसो शीतलनिवासमा छुट्टै चहलपहल देखियो । राष्ट्रपति कार्यालयको गेटमा दलबलसहित मान्छे जम्मा हुन थालेपछि कतिपयलाई के लाग्यो भने राजनीतिक दलवीच सहमति भएछ र प्रधानमनत्रीको नाम
दर्ताका लागि नेताहरु आएछन् । तर, रहस्य रहेछ अर्कै । सहमति गर्न नसकेर हैरान भएका मुख्य दलहरुलाई व्यंग्य गर्ने गरी अहिलेसम्म नाम नसुनेका पार्टीहरुको गठबन्धन प्रधानमन्त्रीको उम्मेद्वार दर्ता गर्न भन्दै शीतलनिवासमा मानिसहरु जम्मा भएका रहेछन् । उनीहरु संविधानले नचिनेका ३६ दलको समर्थन लिएर त्यहाँ पुगेका थिए । कमल थापा नेतृत्वको राप्रपा नेपालका पूर्वउपाध्यक्ष समेत रहेका डाबर नेपालका पूर्वएजेन्ट किशोरी महतोलाई प्रधानमन्त्रीको उमेद्वारका रुपमा अघि लगाएर एक हूल मानिसहरु शीतलनिवास पुगेका थिए । त्यसलगत्तै हाम्रो नेपाल पार्टीका मुस्कान पौडेलले पनि आफुलाई प्रधानमन्त्री नियुक्त गर्न अर्को निबेदन हाले १३  दलको समर्थन रहेको दावी गर्दै ।

लोककल्याणकारी जनता पार्टी नेपाल भन्ने पार्टीका अध्यक्ष रहेका महतो आफूलाई ३६ दलको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको उम्मेद्वारी दिन अघि सर्दै थिए । उनका पछिपछि १५/२० जनाको हूल नारा लगाउँदै उफ्रँदै थियो । अरु कसैले सहमति नगरेपनि आफूहरुले साझा उम्मेद्वार चयन गरेको भन्दै उनीहरुले शितल निवास भित्रै गएर उम्मेद्वारी दर्ता गराउने प्रयास गरे । मनमोहनसमशेर राणाको नेतृत्वमा मोर्चा बनाएका प्रधानमन्त्रीका उमेद्वार महतोको उमेद्वारी दर्ता गरेर राष्ट्रपति कार्यालयले अर्को मनोरञ्जन प्रदान गरेको छ । ऊबेला पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको लागि दरखास्त आहृवान गरेजस्तो राष्ट्रपतिले यसरी उम्मेद्वारी माग गरेका पनि होइनन् । प्रमुख दलका शीर्ष नेताहरुमध्येबाट सहमतीय प्रधानमन्त्रीको नाम आओस् भन्ने शितल निवासको उद्देश्य हो । तर, अहिलेसम्म नामै नसुनेका पार्टी र अनुहार नै नदेखेका मान्छे प्रधानमन्त्रीको उम्मेद्वार भन्दै नाराजुलुस सहित आउँदा राष्ट्रपति कार्यालयका कर्मचारी चकित पर्नु स्वभाविक नै हो ।

उम्मेद्वारी दर्ता गर्ने नगर्नेबारे एकछिन त्यहाँ बहस नै चल्यो । निकै वादविवाद भएपछि प्रधानमन्त्रीका उम्मेद्वार र उनका एक सहयोगीलाई भित्र जाने अनुमति मिल्यो । अनि फुरुंग हुँदै हातमा फाइल बोकेर महतो शितल निवासको गेटबाट भित्र छिरे । यताउता पल्याकपुलुक हेरे । राष्ट्रपतिलाई एकपटक भेटौं न भनेर सुरक्षाकर्मीसित आग्रह गरे । तर राष्ट्रपति व्यस्त हुनुहुन्छ, भेट्न मिल्दैन भन्ने जवाफ आयो । लौ ठिक छ तपाईंको पत्र ल्याउनुस् भनेर शितल निवासका कर्मचारीले भने ।लौ राष्ट्रपतिले दिएको समयसीमामा हामीले सहमतीय प्रधानमन्त्री ल्याएका छौं भनेर महतोले जुँगामा ताउ लगाए । कर्मचारीहरुले पनि उनको निवेदन दर्ता गरे । ‘दर्ता नम्बर ८३६ नम्बरको चिट दिनुभएको छ, अहिलेसम्म अरुले उम्मेद्वारी दर्ता गराएका छैनन्, त्यसैले अब हाम्रो उम्मेद्वार निर्विरोध हुने पक्का छ’ संयुक्त राजनीतिक गठबन्धनकी सदस्य सचिव अस्मिता भण्डारीले अनलाइनखबरलाई भनिन् ।
किशोरीको ठाँट
शितल निवासमा पुगेर प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गराएर फर्किए लगत्तै किशोरी महतोको चुरीफुरी बढेको छ । यसअघि कहिलेकाहीँ मात्रै बज्ने उनको मोवाईलको घण्टी अहिले एकनासले कराउन थालेका छन् । ‘बोल्ने फुर्सद नै छैन मलाई’ अनलाइनखबरले फोन गरेपछि हत्तपत्त उठाउँदै उनले भने -’लौ छिटो सोधिहाल्नुस् ।’
‘प्रधानमन्त्रीको उम्मेद्वारी दिनुभएछ हो’ भन्ने हाम्रो प्रश्न भुईंमा खस्न नभ्याउँदै उनले भने -’हो नि, अरु कसैले सहमतीय प्रधानमन्त्रीको उम्मेद्वारी दिन सकेनन् । ३६ वटा पार्टीले मलाई विश्वास गरेर अगाडि सारेका छन् । अब ठूला दलले केही गर्न नसकेपछि हाम्रो पालो आयो । म प्रधानमन्त्री हुने बित्तिकै देशमा हिन्दू राष्ट्र कायम गर्छु । राजा सहितको प्रजातन्त्र स्थापना हुनेछ । देशमा शान्ति र अमनचयन कायम हुनेछ…., लौ अब बाँकी कुरा चाहिँ मेरो महासचिवलाई सोध्नुस् ।’ प्रधानमन्त्री नै भैसकेको पारामा महतोले फोन अस्मिता भण्डारीलाई थमाए ।
भण्डारीले १० गतेदेखि ३६ दलबीच भएको निरन्तर छलफलले महतोको नाम सिफारिस गरेको जानकारी दिनुभयो । उनका अनुसार गठबन्धनमा घनेन्द्र बहादुर बस्नेत नेतृत्वको लिग नेपाल शान्ति एकता पार्टी, पदम बहादुर सापकोटा नेतृत्वको नेपाल जनसंघ पार्टी, दोर्जे लामा नेतृत्वको नेपाल राष्ट्रवादी, लेनिन बिष्ट संयोजकको नेपाल कम्युनिष्ट राष्ट्रिय युवा परिषद, अरुण सुवेदीको राष्ट्रिय शिवसेना पार्टी, जापानिज नागरिक ताकासी मियाहराको राष्ट्रिय विकास पार्टी, भेष बहादुर विश्वकर्माको नेपाल दलित श्रमिक लोकतान्त्रिक पार्टी, खुशीलाल यादवको नेपाल राष्ट्रिय जनकल्याण पार्टी लगायतका दल छन् । यसअघि चर्चामा नसुनिएका दलको समर्थनमा आफू प्रधानमन्त्री हुने किशोरीले दावी गरिसकेका छन् ।
को हुन् किशोरी महतो ?
धनुषा स्थायी घर भएका किशोरीले ललितपुर भैंसीपाटीमा घर बनाएका छन् । यसअघि उनी कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष थिए । ०६५ सालमा उनले राप्रपा नेपालसँग पार्टी एकीकरण गरेर उपाध्यक्ष भएका हुन् । तर कुरो नमिलेपछि एक वर्षअघि उनी राप्रपा नेपालबाट अलग भई पुरानै पार्टी जगाए । हाल उनी लोककल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष छन् । यो पार्टीको नाम त्यति नसुनिएपनि उनले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता भएको र संविधानसभा चुनावमा समेत भाग लिएको बताए । राप्रपा नेपालका एक कार्यकर्ताले महतोबारे भने-’ उनी ज्ञानेन्द्रका साख मान्छे हुन् ।’ स्रोत अनुसार उनी यसअघि डाबर नेपालको कच्चा पदार्थ आफूर्ति गर्ने ठेकदारी काम गर्थे ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......