'सहमति नभए पनि बजेट'

काठमाडौं, कार्तिक २६ - सत्तारूढ दलले सहमति नभए पनि पूर्ण बजेट राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेका छन् । आइतबार र सोमबार विपक्षी दलहरूसँग बजेटमा सहमतिका लागि प्रयास गर्ने र कुरा नमिले पूर्ण बजेट राष्ट्रपतिलाई बुझाउने उनीहरूले बताएका छन् । बजेट पेस गर्नुअघि सत्तारूढ दलले राष्ट्रपतिलाई भेटेर जारी गर्न आग्रह गर्ने निर्णय पनि गरेका छन् ।

विपक्षीले सरकारविरुद्ध आन्दोलन घोषणा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ दलको बैठकले सहमति भए पनि नभए पनि बजेट अघि बढाउने निर्णय गरेको हो ।
विपक्षीको आन्दोलन घोषणा र सत्तारूढको जसरी पनि बजेट अघि बढाउने निर्णयले राजनीतिक द्वन्द्वको संकेत देखाएको छ । बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सहमति नभए पनि बजेट तिहारअघि राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको जानकारी दिए । 'आइतबार र सोमबार बजेटमा सहमति जुटाउन विपक्षी दलहरूसँग प्रयास गर्ने र सहमति नभए पनि तिहारअघि सोमबार बजेट राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भयो,' उनले भने, 'त्यसअघि राष्ट्रपतिसँग अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले बजेटबारे छलफल गर्नुहुनेछ ।'
सत्तारूढ दलको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले बजेट सोमबारसम्म पूर्ण तयार हुने जानकारी गराएका थिए । 'सोमबारसम्म पूर्ण बजेट तयार हुन्छ,' पौडेलको भनाइ छ ।
ँआन्दोलन प्रतिगामी कदम'
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलको आन्दोलनलाई प्रतिगामी कदम भएको टिप्पणी गरेका छन् । कीर्तिपुरमा शनिबार नेपाल संवत् ११३३ को अवसरमा आयोजित कार्यक्रममा उनले आन्दोलन परिवर्तनविरोधी भएको बताएका हुन् । 'उहाँहरूको आन्दोलन परिर्वतनको विरुद्ध छ, संघीयताको विरोधी छ । उहाँहरूको त्यो अपिल प्रतिगमनलाई सहयोग पुर्‍याउने अपिल हो,' उनले भने, 'आम जनतालाई सतर्क र सावधान रहन म अपिल गर्छु ।'
उनले आन्दोलनबाट समस्याको समाधान ननिस्कने भन्दै सहमतिमा आउन विपक्षी दललाई आग्रह गरे । दाहालले विपक्षी दलहरूले सरकारमा गएर आन्दोलनबाट प्राप्त उपलब्धिहरूको ध्वंस गरेर अराजकता निम्त्याउन खोजेको आरोप लगाए । उनले 'बाहिर संघीयता भने पनि संघीयता नचाहने एकात्मकतावादी निरंकुशताका पक्षधर परिवर्तनविरोधी' का कारण संविधानसभा विघटन भएको आरोप लगाए ।




तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......