२२ कात्तिक कालिकोट । चुलो छोएको आरोपमा
कालीकोट जुबिथाका मनवीर सुनारका हत्या गर्ने ३ जनालाई जिल्ला अदालत
कालीकोटले १० वर्षको जेल सजाय सुनाएको छ ।
गत वर्षको मंसिर २४ गते स्थानीय बजारमा
रहेको बालकुमारी शाहीको पसलमा चुल्होमा चुरोट सल्काउन लाग्दा मीनबहादुर
शाही, दीपबहादुर शाही र जसबहादुर शाहीले कुटपिट गर्दा सुनारको मृत्यु भएको
थियो ।
घटनामा दोषी ठहर्याइएका चार जनालाई
कालीकोट जिल्ला प्रहरी कार्यालयले अनुसन्धान पछि कारागार चलान गरेको थियो ।
त्यसको ठीक एक वर्षपछि कालीकोट जिल्ला अदालतका न्यायाधीश अमृतकुमार
बस्नेतको पूर्ण इजलासले दीपबहादुर, मीनबहादुर र जसबहादुर शाहीलाई दश-दश
वर्षका जेल सजाय सुनाएको छ भने बाल कुमारी शाहीलाई निर्दोष सावित गरेको छ ।
घटनाको छानबिनका लागि मानव अधिकार आयोग,
इन्सेक, राष्ट्रिय दलित आयोग, संसदीय टोलीलगायतले प्रतिवेदन सार्वजनिक
गरेका थिए । यस घटनाका सम्बन्धमा इन्सेक र स्थानीय शान्ति समिति कालीकोटले
व्यक्तिगत रिसईबी र खानपिनका कारण सुनारको मृत्यु भएको प्रतिवेदन सार्वजनिक
गरेका थिए भने अन्य निकायले जातीय छुवाछूतका कारण मृत्यु भएको ठोकुवा
गरेका थिए ।
घटनाका पीडित मानबिर सुनारका परिवारलाई नेपाल सरकारले सहिद घोषणाका साथै रु १० लाख राहत प्रदान गरिसकेको छ
