२५ कात्तिक, काठमाडौं । दलहरुबीच कुरा
मिल्ने छाँटकाँट छैन भन्ने जान्दाजान्दै पनि राष्ट्रपति डा. रामवरण यादवले
निकै विवाद र बहस हुनेगरी राष्ट्रिय सहमतिको सरकार गठनका लागि आहृवान
गर्नुभयो ।
यस्तो आहृवान गर्दा चिनासाइत नहेराएपनि
उहाँले नेपाली राजनीतिमा सबैभन्दा बढी चलखेल र घटना हुने शुक्रबारको दिनलाई
रोज्नुभयो । हुन त शुक्रबार पर्नु संयोग मात्रै थियो होला ।
‘शुक्रबारको
कदम’ चाल्नुअघि उहाँले आफू निकट सल्लाहकारसँग त मजाले परामर्श गर्नुभयो ।
तर, ज्योतिषशास्त्रीसँगको रायचाहिँ लिनुभएन । उता ज्योतिषीहरु चाहिँ
आफूहरुलाई नेताले आधामात्रै विश्वास गरेका कारण सहमति हुन नसकेको दाबी
गर्छन् ।
अन्यौलमा राष्ट्रपति
दलहरुको गतिबिधि र व्यवहारले सहमति भन्ने
शब्द अब हाँसीमजाक र ठट्टा गर्ने विषय बनेको छ । हुँदाहुँदै राष्ट्रिय
सहमतिको सरकार गठन गर्ने राष्ट्रपति र दलहरुको प्रयास पनि अब किस्सा जस्तै
भैसक्यो । प्रधानमन्त्री चयनका लागि ऊबेला संसदमा दुई दर्जनपटक चुनाव भयो ।
अहिले संसद नभएको अवस्थामा त्यति नै पटक शीतलनिवासमा ओहोर-दोहोर भैसकेको छ
। राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दलहरुलाई फेरि ६ दिन समय थपे पनि
यो अवधिमा पनि कुनै प्रगति हुने छाँट छैन । त्यसपछि म्याद थपेर उस्तै
गाईजात्रा देखाउने कि चुप लागेर बस्ने भन्नेमा राष्ट्रपति समेत अन्योलमा
हुनुहुन्छ । शुक्रबारको साइत जुधेपछि ज्योतिषशास्त्रको मुहुर्त नमिलेकाले
यस्तो अन्योल भएको हो त ?
ज्योतिषशास्त्रीको तर्क
मुलुकमा अस्थिर र अन्योल राजनीतिक अवस्था
सृजना हुनुलाई धेरैले नेताहरुको अदुरदर्शी निर्णय र कदम ठान्छन् । तर,
त्योभन्दा पनि महत्वपूर्ण कुरा काम गर्ने परिपाटी र थिती नहुँदा यस्तो भएको
हो भन्ने ज्योतिषशास्त्रीहरुलाई लागेको छ । ‘गलत समयमा गरिएका निर्णयले
सरकारको नीति, योजना र कार्यक्रम फेल भएका हुन्’ नेपाल पञ्चांग निर्णायक
समितिका सदस्य सचिव समेत रहेका ज्योतिषशास्त्री सूर्यप्रसाद ढुंगेलले
अनलाइनखबरसित भन्नुभयो-’राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखिएको
अस्तव्यस्त र भद्रगोल यही कारणले भैरहेका छन् ।’ हरेक महत्वपूर्ण कामको
लागि शुभमुहुर्त अर्थात साइत हेर्नुपर्ने र त्यो काम ज्योतिषीले मात्रै
गर्ने भएकाले सरकार र जिम्मेवार नेताहरुले यसतर्फ ध्यान दिनुपर्ने उहाँको
भनाई छ । यो कुरासँग अर्का ज्योतिषशास्त्री बासुदेव कृष्णशास्त्री पनि सहमत
हुनुहुन्छ । ‘नेताहरुले ज्योतिषशास्त्रलाई त बिश्वास गर्नुहुन्छ, तर
आधामात्रै’ उहाँले अनलाइनखबरसित भन्नुभयो-’यही आधाले सबै कुरा बिगारेको छ
।’
पहिलेको प्रचलन
ज्योतिषशास्त्रीहरुका अनुसार पहिलेका राजा
या शासकहरुले कुनै काम गर्नुअघि साईत अर्थात मुहुर्त हेर्ने चलन थियो ।
‘लिच्छवी र मल्ल राजाहरुले धेरै प्रयोग गरेका थिए, पछि पृथ्वीनारायण शाहले
पनि यसै गरे’ कृष्णशास्त्रीले भन्नुभयो-’त्यसैले उनीहरु धेरै काममा सफल पनि
देखिए ।’ हरेक ठाउँ र काममा ग्रहको प्रभाव पर्ने भएकाले यसको ख्याल
गर्नुपर्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । ‘भूगर्भको अध्ययन, वेदको अध्ययन,
प्राकृतिक प्रकोप लगायतका धेरै कुराको ख्याल गर्नुपर्छ’ ढुंगेलले
भन्नुभयो-’देशमा हुने प्राकृतिक प्रकोप लगायतका अरु राजनीतिक घटनाक्रमको
पनि भविष्यवाणी गर्न सकिन्छ, राज्य सञ्चालकहरुले यसको ख्याल गर्नुपर्ने हो
।’
सल्लाहकारको खाँचो
अरु राजनीतिक, आर्थिक तथा प्रशासनिक
सल्लाहकारसँगै सरकारले ज्योतिषशास्त्रीहरुलाई पनि सल्लाहकारमा नियुक्त
गर्नुपर्ने उनीहरु बताउँछन् । ‘कुन काम कुनबेला गर्दा उपयुक्त हुन्छ भनेर
निधो गर्न साईत या शुभमुहुर्त हेर्नुपर्छ, जुन काम ज्योतिषीले मात्रै गर्न
सक्छन्’ ढुंगेलले भन्नुभयो-’त्यसैले ज्योतिषशास्त्रीलाई पनि सल्लाहकारमा
नियुक्त गर्नुपर्छ भनेर हामीले सरकारलाई भनिरहेका छौं, तर सुनुवाइ भएको छैन
।’
ज्योतिषशास्त्र पनि राष्ट्र सञ्चालनको
नीति भएको बासुदेव कृष्णशास्त्रीको तर्क छ । ‘अहिले नीतिभन्दा वाद र विचार
अघि लागेको छ’ उहाँले भन्नुभयो-’वाद भनेको पात मात्र हो, नीति बनेको जरा या
बीउ हो ।’ राज्य सञ्चालनका लागि ज्योतिषशास्त्र र वास्तुविदहरुको सुझाव र
सल्लाह महत्वपूर्ण हुने भएकाले सरकार र राजनीतिज्ञहरुले यसको ख्याल
गर्नुपर्ने उहाँले बताउनुभयो ।
