हासमीले छाडिन्, तर जिउँदै छन् लक्ष्मी नेपालीहरु


२७ मंसिर, काठमाडौं ।  अन्ततः गुलरिया-८, बर्दियाकी सोह्र वर्षीया किशोरी शिवा हासमी हामीसँग रहिनन् । आफूसित विवाह गर्न नमानेको भन्दै एक भारतीय नागरिकले हासमीलाई जिउँदै पेट्रोल छर्केर आगो लगाएका थिए । उपचार हुँदाहुँदै वुधवार बिहान वीरअस्पतालमा हासमीले दम तोडिन् । आगो लगाउने भारतीय नागरिक थिए । तर,बद्नामी खेप्दैछ हाम्रो नेपाली समाज ।
गत मङ्सिर २४ गते विवाह गर्न नमानेको भन्दै हासमीलाई भारतीय नागरिक बाबु खानले पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोका कारण हासमीको शरीरको ९० प्रतिशतभन्दा बढी जलेको थियो ।आर्थिक अवस्था विपन्न भएकी बर्दिया गुलरिया नगरपालिका-८ की १६ वर्षीया हासमीलाई गैरसरकारी संस्था, सर्वसाधारण र सरकारी निकायद्वारा प्राप्त आर्थिक सहयोगबाट मङ्सिर २५ गते काठमाडौँ ल्याइएको थियो । आर्थिक अभावका कारण दुई दिनसम्म उनलाई नेपालगन्जमै राखेर उपचार गरिएको थियो । शुभचिन्तकबाट रकम जुटेपछि काठमाडौँ ल्याइएकी उनलाई वीर अस्पतालमा उपचार गरिएको थियो ।
मुख्यसचिव लीलामणि पौडेलले हासमीको निःशुल्क उपलब्ध गराउन विर अस्पताललाई निर्देशन दिनुभएको थियो । मुख्यसचिव पौडेलसहित, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कामु सचिव राजमान सिंह मल्ल, राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँदतारालगायतको टोलीले वीर अस्पतालका निर्देशक बुलन्द थापालाई भेटी निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयका उपसचिव शेषनारायण पौडेलले जानकारी दिनुभयो । मुख्यसचिव पौडेलले हासमीको उपचारमा कुनै पनि कन्जुस्याईं नगर्न र आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । अस्पतालका निर्देशक र उपचारमा संलग्न चिकित्सकहरूलाई विशेष निर्देशन दिंदै मुख्यसचिव पौडेलले सरकारले हासमीको उपचारको सबै जिम्मेवारी लिने बताउनुभएको थियो ।
 छिमेकीको प्रभाव
भनिन्छ, छिमेकी फेर्न सकिँदैन । नेपालको दक्षिणी सीमानामा भारतीय नागरिकका तर्फबाट नेपालीमाथि लुटपाट, बलत्कार र चोरी डकैतीका घटनाहरु बारम्बार हुने गरेका छन् । भारतीयमा हुने आपराधिक मानसिकताको कोपभाजनमा नेपाली समाज पर्दै आएको छ । हासमी यसको पछिल्लो उदाहरण बन्न पुगेकी छन् । बिहे गर्न नपाउँदा जिउँदै आगो लगाइहाल्ने यस्तो पाशविकताको परिकल्पना नेपालीहरुले गरेका थिएनन् ।
गजमेरको  हृदय
मंगलबार सुनसरीको इटहरीमा एक नेपाली युवकले अर्काले बिहे गर्न लागेको जग्गेमै पसेर बेहुलीलाई जबर्जस्ती सिन्दुर हाल्न खोजेपछि नितेष चौधरी नामका युवक अहिले प्रहरी खोरमा जाडो खाइरहेका छन् । एकतर्फी प्रेमले पागल बनेका चौधरीले आफ्नो मनको आगो निभाउन अर्काकी बेहुलीलाई सिन्दूरमात्र हाल्न खोजे, जिउँदै आगो लगाउने पाशविकता देखाएनन् । तर, हाम्रो समाज पछौटेमात्र छैन, महान् पनि छ भन्ने प्रमाण पनि सोही जग्गेमा भेटिएको छ । झापा, कोहबराका प्रकाश गजमेरले अर्काले सिन्दुर छर्केकी इटहरी-५ की भूमा बिकलाई अस्वीकार नगरी डोली चढाएर आफ्नो घर लगे । नेपाली समाज पुरानै स्थानमा भएको भए, यो बिहे बिथोलिन सक्थ्यो । तर, हाम्रो समाजमा प्रकाश गजमेरजस्ता विशाल हृदयका मान्छे पनि छन् भन्ने उदाहरण मंगलबार इटहरीमा देखियो ।
लक्ष्मीजस्ता सासू पनि छन् हाम्रो समाजमा
हासमी जीउँदै जलिन् । तर, उनी फगत एकपटकमात्रै जलिन् । भनिन्छ, पुरातन समाजमा विधवाले एकपटमात्रै होइन, जीन्दगीभरि जल्नुपर्छ । तर, गुल्मीको तम्घास-३ बाघमारेकी लक्ष्मी नेपाली र उनका श्रीमान्ले यसैसाता आफ्नी २४ वर्षीया विधवा बुहारी उषा नेपालीलाई आफैंले पुनर्विबाह गराएर पुरानो समाजलाई चुनौती दिएका छन् । २४ वर्षीया विधवा उषाले अब जीन्दगीभर जल्नु नपर्ने भएको छ ।
त्यसो त लोकपि्रय कलाकार हरिबंश आचार्यले विधवालाई विवाह गरेर महिलाका पक्षमा आफूलाई उभ्याएपछि नेपाली समाजलाई यो सत्मार्ग पहिल्याउन थप उर्जा मिलेको छ । तर, हाम्रो नेपाली समाज यस्तो जटिल मोडमा देखिन्छ, जहाँ शिवा हासमीजस्ता ‘अभागी’ र उषा नेपालीजस्ता ‘भाग्यमानी’ दुबैखाले नारी भेटिन्छन् । हासमीको मृत्युको पीडाबोध भैरहेका बेला हामीले लक्ष्मी नेपालीजस्ता सासूहरु पनि नेपाली समाजमा छन् भन्ने बिर्सियौं भने हामीलाई आफ्नो समाजप्रति बैराग लाग्न सक्छ ।बुहारी अन्माउने बेला लक्ष्मीले भनेकी थिइन्-’अहिलेसम्म बुहारी बनाएर पालें, अब छोरीका रुपमा कन्यादान दिँदैछु, माइती सम्झेर आए छोरीका रुपमा सधैं स्वागत गर्छु ।’ सासूले यसोभन्दा जन्तीहरुसमेत रोएका थिए ।
राम्रा मान्छेलाई प्रोत्साहनको खाँचो
पदम कुँवरलाई तत्कालै सहयोग गर्न हाम्रो समाज हिच्किचाउँदैन, तर एउटी १६ वर्षीया गरीब किशोरी जिउँदै जल्दा उनको उपचारमा त्यति छिटो संवेदनशील हुँदैनौं हामी । नत हामी लक्ष्मी नेपालीजस्ता सासूहरुलाई माला र अबीर लगाउन नै तम्सन्छौं । पर्शुराम बस्नेत र चिरन्जीवी वाग्लेहरुलार्इ  माला लगाउने हाम्रा हातहरु लक्ष्मी नेपालीतर्फ हत्पति लम्किन मानिरहेका छैनन् । तर, यसो नगरेसम्म शायद हासमीको ‘आत्मा’ले हामीलाई सराप्ने छाड्ने छैन ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......