वैदेशिक रोजगारीको डरलाग्दो ब्यथा

कामदार आफैं सचेत हुनुपर्ने खाँचो

३ पुस, काठमाडौं । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्ससँगै कामदारको पीडा र व्यथा पनि स्मरण गर्न थालिएको छ । बैदेशिक रोजगारीको शिलसिलामा ठगी एवं शोषणका घटना अझैसम्म कम हुन सकेका छैनन् ।
घरेलु कामका लागि गत साल भदौमा अरब पुगेकी बागलुङकी गंगा सुनारले गएको फागुनमा आत्महत्या गरिन् । नक्कली पासपोर्टमा विदेश गएका कारण काठमाडौंमा सुनारको शव बुझ्न पति सुरेशले निकै झमेला र हैरानी व्यहोर्नुपर्यो ।

यस्तै ०६२ सालमा लेवनान गएकी सुर्खेत लाटीकोइलीकी प्रेमा रानाले पाँच वर्षसम्म एउटा घरभित्र बन्दी अवस्थामा काम गरिन् । त्यहाँबाट रित्तो हात घर फर्केकी प्रेमाले पछि मात्र थाहा पाइन्, उनलाई शेरबहादुर लामा भन्ने दलालले बेचेको रहेछ ।
यी दुईवटा घटना प्रतिनिधि घटना मात्रै हुन् । वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरुले गंगा र प्रेमालेजस्तै अनेकन् भुक्तमान, पीडा र व्यथा भोग्ने गरेका छन् ।
तथ्यांक यस्तो छ:
राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा मात्रै पुगेर हेर्ने हो भने थाहा हुन्छ, दैनिक सयौं नेपाली कामको खोजीमा विदेशिने गर्छन् । तथ्यांक अनुसार दैनिक ६ सयको हाराहारीमा नेपाली युवा विदेशिने गरेका छन् । स्वदेशमा राजनीतिक अस्थिरता, स्थायी सरकार र श्रमवजारको अभाव, गरिबी, असुरक्षा लगायतका कारणले धेरै युवा बिदेशिन बाध्य छन् । बैध बाटो भएर जानेहरु पनि छन् । लुकिछिपी जानेहरु पनि उत्तिकै छन् ।
सन् २००० मा कामको खोजीमा विदेशिएका नेपालीको संख्या ५५हजार ५ सय थियो । १२ वर्षपछि अहिले यो संख्या २५ लाख ९० हजार ९३ पुगेको छ । आप्रवासी कामदारमध्ये महिलाहरुको आधिकारिक संख्या ३ प्रतिशत रहेपनि विदेशमा रहेका नेपाली आप्रवासी श्रमिकमध्ये महिलाहरुको संख्या ३० प्रतिशत रहेको अनुमान छ ।
नेपाल सरकारले संस्थागतरुपमा वैदेशिक रोजगारका लागि खुला गरेको देशहरुको संख्या १०८ भए पनि अवैधानिक बाटो हुँदै अरु देशमा पनि नेपाली कामदार पुगेका छन् । दैनिक वैदेशिक श्रम स्वीकृत लिने २००० मध्ये झण्डै १ सय ५० महिला हुन्छन् । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय यूएन वुमनका अनुसार १११ नेपाली महिला कुवेत, साउदी अरब, मन र लेबनानका कारागारमा छन् । ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ जना बेपत्ता छन् । उद्दार गरेर नेपाल फर्काइएका २ हजार ८ सय २० मध्ये ४ सय १५ जना मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ जना बालबच्चा सहित आएका छन् । धेरैजसो महिला डरलाग्दो यौन हिंसा र श्रमशोषणको शिकार बनेका यूएन वुमनले जनाएको छ ।
पुरुष कामदारले पनि उत्तिकै पीडा भोग्ने गरेका छन् । अवस्था यस्तो डरलाग्दो भएपनि मुलुक अझै रेमिट्यान्सको भरमै चलिरहेको छ । नेपालको अर्थतन्त्रमा वाषिर्क साढे पाँचखर्ब रेमिट्यान्सको योगदान छ ।
सुरक्षित बनाउने सरकारी प्रयास:
बैदेशिक रोजगारमा गएकाहरुले अनेक पीडा र व्यथा भोग्ने गरेको घटना बढ्न थालेपछि सरकारले यसलाई सुरक्षित बनाउने प्रयास गरेको छ । यसकै फलस्वरुप २०६२ सालमा श्रम तथा रोजगार नीति बन्यो । ‘यो नीति बनेपछि बैदेशिक रोजगार सुरक्षित र मर्यादित बन्दै गएको छ’ बैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार सरकारको तर्फबाट भएका केही महत्वपूर्ण प्रयासहरु यस्ता छन् ः
· श्रम स्वीकृति लिएर मात्र विदेशमा जानुपर्ने नीति कार्यान्वयनको लागि निगरानी र जाँच ।
· वैदेशिक रोजगारमा गएकाहरुको गुनासा सुन्न सम्बन्धित दूतावासमा पर्याप्त जनशक्तिको व्यवस्था ।
· ठगिएकालाई कानुनी उपचार । तत्काल क्षतिपूर्ति र पीडकलाई कार्वाहीको व्यवस्था ।
· विमानस्थलमा श्रम डेस्कको स्थापना
· पूर्व तालिम र योजनाबारे गाउँस्तरसम्म चेतना अभियान ।
ध्यान दिनुपर्ने कुरा:
सरकारले आवश्यक व्यवस्था र कार्यक्रम बनाएपनि बैदेशिक रोजगारमा जानेहरुको पीडाव्यथा हराएको छैन । ‘कामदार आफैं सचेत बन्ने हो भने यस्ता धेरै घटना कम हुन्छन्’ भट्टराईले भन्नुभयो । उहाँका अनुसार विदेशमा जानुअघि सम्बन्धित देशको अवस्था र कामबारे थाहा पाउनुपर्छ । म्यानपावर कस्तो हो भनेर ख्याल गर्नुपर्छ । हतारमा गएर पछुताउनुभन्दा पहिल्यै नै धेरै कुरामा ध्यान दिनुपर्छ । जानुअघि घरपरिवारसित पर्याप्त छलफल गर्नुपर्छ । वैधानिक बाटो हुँदै सरकारले तोकेको देशमा स्वीकृतप्राप्त मेनपावर कम्पनीमार्फत मात्रै जानुपर्छ । सीपमूलक तालिम लिनुपर्छ ।
कुन कुन देशमा जान्छन् नेपाली

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......