१७ पुस, काठमाण्डौं । चीनमा एमबीबीएस र
एमडी पढ्न आधा रकम छुट दिने बहानामा ७० जना विद्यार्थीसँग करिब ५ करोड
रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ नगरेको भन्दै चीन गएका विद्यार्थीका
आफन्तले सरकारसँग आक्रोस पोखेका छन् । उनीहरुले हाल चीनका चार
विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थीको भविष्य नविगारिदिनसमेत
सरकारसँग अपिल गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।
झन्डै साढे २ बर्षअघि दर्ता भएको
कालिमाटीस्थित मदरल्याण्ड च्यारिटेवल फाउन्डेसनले नेपाली विद्यार्थीको लागि
क्यानडाबाट च्यारेटी बापत ५० प्रतिशत रकम उपलब्ध भएको र बाँकी ५० प्रतिशत
रकम नेपाली विद्यार्थी स्वयम्ले तिर्नुपर्ने जनाउँदै विगत तीन महिनासम्म
चीनमा एमबीबीएस र एमडीका लागि विद्यार्थी पठाउने गरेको थियो ।
उक्त फाउण्डेसन मार्फत चीनमा सञ्चालित
साउदर्न विश्वविद्यालयमा एमबीबीएस गर्न ८ जना, लाउनिङगमा एमडी गर्न १७ जना,
चाउचाङ विश्वविद्यालयमा एमबीबीएस गर्न ६ जना, सोही विश्वविद्यालयमा एमडी
गर्न ८ जना, विङगाओ विश्वविद्यालयमा एमबीबीएस गर्न ११ जना र ताइन्जिन
विश्वविद्यालयमा एमडी गर्न २ साथै एमबीबीएस गर्न २५ जना विद्यार्थी चीन
गएका थिए ।
चीनका आधा दर्जन विश्वविद्यालयमा अध्ययन
गरिरहेका ती विद्यार्थीहरुले विश्वविद्यालयले थप अध्ययनका लाग रकम माग
गरेपछि आफूहरु ठगिको जानकारी पाएका थिए ।
