कसैका लागि कुण्ठा पोख्ने थलो, कसैको अनुहार देखाउने ठाउँ
४ पुस, काठमाडौं । ‘समय छँदै सचेत
रहौं-इतिहासले क्षमा गर्ने छैन……निशर्त संघीयता विरोधीलाई सरकारको नेतृत्व
सुम्पिनु फेरि एकपटक जनताप्रति धोका हुनेछ….’ सोमबार दिउँसो
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं एकीकृत नेकपा माओवादीका
नेता देवेन्द्र पौडेलले आफ्नो फेसबुक पेजमा लेख्नुभएको स्टाटस हो, यो ।
कांग्रेस नेतृत्वमा सहमतीय सरकार गठन गर्ने विषयमा दलहरु सहमति नजिक
पुग्दैछन् भन्ने चर्चा चलिरहेको बेला पौडेलको फेसबुक स्टाटसमा यो विचार
आएलगत्तै प्रधानमन्त्री भट्टराईबाट तत्काल कांग्रेसलाई सरकार सुम्पिन
नसक्ने कुरा सार्वजनिक भयो ।
‘आफूले गरेका गल्तीप्रति खुलेर आत्मालोचित
हुने र त्यसलाई क्षमा गर्नु नै उच्चतम मानवीय सँस्कृति तथा विमतीका बीचमा
सहमतिमा पुग्ने उत्तम तरिका हो, जुन आज नेकपा एमालेको केन्द्रीय कमिटीको
बैठकमा नेता र सदस्यहरुबीचमा भयो र एउटा गम्भीर विवादका रुपमा रहेको
पार्टीको आन्तरिक एजेण्डा टुंगियो’ एमाले नेता योगेश भट्टराईले एकहप्ताअघि
आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो, यो । एमाले केन्द्रीय कमिटी बैठकमा
के भैरहेको छ भन्ने भट्टराईको यो स्टाटसले प्रष्ट पारेको थियो ।
‘माक्र्सको विश्लेषणअनुसार बनिबनाऊ पुरानो
राज्य संयन्त्र यथावत राखेर कम्युनिष्ट पार्टीले सत्तारोहण गरेर पुरानो
सत्ता बदलिँदैन, बरु कम्युनिष्टहरु कुलीन बर्गमा बदलिन्छन् भन्ने विषय र
बाबुरामको माथिबाट तलतिर क्रान्ति भन्ने विषय र आजको परिणामबीच कतैपनि मेल
खाएको देखिँदैन । माक्र्सको बौद्धिकता बेठीक हो या बाबुरामको विद्यावारिधी
ठीक ? विश्व र मुख्यतः नेपालको वर्तमान पुस्ताले तुलनात्मक अध्ययन गरेर
दूधको दूध, पानीको पानी छुट्याउने हो कि ?’ प्रधानमन्त्री भट्टराईको
कार्यशैलीलाई आलोचना गर्द नेकपा-माओवादीका युवानेता लेखनाथ न्यौपानेले
आफ्नो फेसबुक स्टाटसमा यसरी लेख्नुभएको छ ।
पौडेल, भट्टराई र न्यौपानेजस्तै केही
नेताहरुले फेसबुकमा यसैगरी आफ्नो विचार, टिप्पणी र प्रतिकृया लेख्ने गर्छन्
। कांग्रेसका अर्जुननरसिंह केसी, एकीकृत माओवादीका देवेन्द्र पराजुली,
एमालेका रवीन्द्र अधिकारीलगायतका केही नेताले फेसबुकलाई विचार आदान-प्रदान
गर्ने माध्यम बनाएका छन् । कसैले आफ्नो पार्टी नेताहरुसँग कुण्ठा पोख्ने र
अरुलाई बिरोध गर्ने थलोका रुपमा पनि फेसबुकलाई उपयोग गर्ने गरेका छन् ।
एमालेमा सबैभन्दा पहिले कम्युटर चलाउनेमा परिचित प्रदीप नेपाल फेसबुक अपडेट
गरिराख्ने नेतामा पर्नुहुन्छ । त्यसैगरी एमालेका अर्का नेता प्रदीप
ज्ञवाली पनि फेसबुकका सक्रिय सदस्यमा पर्नुहुन्छ ।
एमाले परित्याग गरेका पूर्वकेन्द्रीय
सदस्य अजम्बर काङमाङ राईले एमालेलाई आलोचना गर्नुपर्दा या कुनै
कार्यक्रमबारे पत्रकारलाई सूचना दिनुपर्दा फेसबुक स्टाटसलाई उपयोग गर्दै
आउनुभएको छ । कांग्रेस नेता मीनेन्द्र रिजालले आफ्नो बिहेका पुराना
तस्वीरसमेत फेसबुकमा अपलोड गर्नुभएको भेटिन्छ ।
फोटो राख्ने ठाउँ
फेसबुक प्रयोगकर्ता अरु धेरैले जस्तै
नेताहरुले पनि फेसबुकलाई फोटो एल्बमको रुपमा उपयोग गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा-माओवादीकी प्रवक्ता
पम्फा भुषाल, एमाले नेता योगेश भट्टराईलगायतका नेताहरुले फेसबुकमा मजाले
फोटो अपलोड गर्ने गरेका छन् । धेरैले फोटोसहित आफ्ना विचार र टिप्पणीहरु
राख्ने गरे पनि पौडेल र भुषालले भने विचार भन्दा फोटोलाई मात्रै प्राथमिकता
दिने गरेका छन् ।
केहीले चलाउन छाडे
पहिले मधेसी नेता जेपी गुप्ता सबैभन्दा
बढी फेसबुक अपडेट गर्ने नेतामा पर्थे । तर, पछिल्लोपटक भ्रष्टाचारको
मुद्दामा जेल परेपछि गुप्ता आफैंले फेसबुक चलाउँदैनन् । घरका सदस्य र
आफन्तले कहिलेकाहीँ अपडेट गरिदिने गर्छन् । कांग्रेसका युवा नेता गगन
थापाले पनि फेसबुक अपडेट नगरेको धेरै भयो । केही नेताहरुको फेक एकाउन्टसम्म
खोलिएका छन् । त्यसो त कांग्रेस सभापति सुशील कोइरालाका नाममा पनि फेसबुक
देखिन्छ, तर त्यो नक्कली रहेको स्रोत बताउँछ । कांग्रेस नेतृ सुजाता
कोइरालाले नक्कली फेसबुक एकाउन्ट बन्द गर्न प्रहरीको सहायता लिुनभएको छ ।
प्रचण्ड, बाबुरामलगायतका नेताका नाममा नक्कली फेसबुकको जगजगी छ ।
नेताहरुप्रति अश्लील गालीगलौज,
टिकाटिप्पणी र आपत्तिजनक तस्वीर राख्ने गर्नाले यसको प्रयोगमा नेताहरु सजक
हुने गरेका छन् । तर, विदेशका राजनीतिज्ञहरुले जसरी फेसबुक, ट्वीटर लगायतका
सामाजिक सञ्जाललाई सदुपयोग गर्नेमा भने नेपालका राजनीतिक नेताहरु अझैसम्म
निके पछाडि देखिएका छन् ।
