चारदलको घेराबाट बाहिर निस्कने राष्ट्रपतिको तयारी


सहमति नभए शीतलनिवासले सर्वदलीय बैठक बोलाउने

 
 २७ मंसिर, काठमाडौं । नयाँ प्रधानमन्त्री सिफारिस गर्न तीनपटक गरी २० दिनसम्म दिएको समय प्रमुख चार दलका नेताले गुजारेपछि राष्ट्रपति डा. रामवरण यादव चार दलको विकल्प खोज्ने तयारीमा जुट्नुभएको छ । यसका लागि राष्ट्रपतिले चारदल बाहिरका शक्तिहरुसित मंगलबारदेखि नै छलफलसमेत थाल्नुभएको छ ।
तेस्रोपटक दिइएको समयसीमा सकिएपछि चारदलले संयुक्त रुपमा आग्रह गरे अन्तिमपटक समय थप्ने तर त्यसमा पनि सहमति नभए सर्बदलीय बैठक बोलाउने राष्ट्रपति यादवको तयारी रहेको रहस्य खुलेको छ । आज अर्घाखाँचीबाट र्फकँदा पनि दलहरुले म्याद थपको आग्रह नगरे विहीबार सर्वदलीय बैठक बोलाएर आफ्ना कुरा
राख्ने आफ्नो योजना केही नेताहरुसमक्ष खोल्नुभएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी, कमल थापा नेतृत्वको राप्रपा नेपाल र उपेन्द्र यादव नेतृत्वको मधेसी जनआधिकार फोरम लगायत अन्य कतिपय साना दलहरुले चार दलको घेराबाट बाहिर निस्कन र आफूहरुलाई पनि छलफलमा सहभागी गराउन आग्रह गरिरहेका बेला राष्ट्रपतिले चार दलले नसके सर्वदलीय बैठक बोलाउने निधो गर्नुभएको हो । तर, नेकपा माओवादीले भनेजस्तो ‘गोलमेच सम्मेलन’ नभनेर राष्ट्रपतिले यसलाई सर्वदलीय बैठकको संज्ञा दिनुभएको छ । राष्ट्रपतिको यस्तो तयारीले अब उहाँ चारदलको मुख ताकेरमात्रे नबस्ने स्पष्ट संकेत गरेको छ ।
सर्बदलीय बैठकको तयारीस्वरुप यादवले चार दल बाहेकका दलहरु सँगको परामर्शलाई तीव्र पार्नुभएको छ । मंगलबार नेकपा-माओवादी लगायत अन्य केही साना वाम पार्टीसँग उहाँले यसविषयमा छलफल गर्नुभएको छ । त्यसैगरी बुधबार अर्घाखाँची जानुअघि राष्ट्रपतिले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका नेता शरदसिंह भण्डारी, पर्शुराम तामाङ लगायतसँग पनि भेटेका छन् ।
‘अब अन्तिम पटक समय दिन्छु र त्यसमा पनि सहमति नभए सर्बदलीय बैठक बोलाएर आफ्ना कुरा राख्छु भन्नुभएको छ’ मंगलबार राष्ट्रपतिलाई भेटेका नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले अनलाइनखबरसँग भन्नुभयो । त्यसैगरी माले महासचिव सीपी मैनालीका अनुसार चारदलले सहमति ननिकाले राष्ट्रपतिले सर्बदलीय बैठक गरेर त्यसका आधारमा अघि बढ्ने बताउनुभएको छ । ‘दलहरुबीच सहमतिको विकल्प छैन भन्नेमा उहाँको जोड थियो’ मैनालीले भन्नुभयो-’सर्बदलीय बैठक गरेर त्यसबाट आएको सुझावकै आधारमा अघि बढ्छु भन्नुभएको छ ।’
नेताहरुका अनुसार राष्ट्रपतिले सहमतीय सरकार गठन गर्न आफूले गरेको आहृवानबारे राय माग्दै अब के गरौं भन्नेर सोध्नु भएको थियो । राष्ट्रपतिलाई भेटेका नेताहरुले पनि सर्बदलीय बैठकबाट निकास खोज्ने उहाँको तयारीको समर्थन गरेका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले अनलाइनखबरसँग भन्नुभयो-’अब चार दलले मुलुकलाई निकास दिन सक्दैनन्, सर्बदलीय छलफल र सहमतिका आधारमा निकास खोज्नुपर्छ भनेर सुझाव दिएका छौं ।’
राष्ट्रपतिले मंसिर ८ गते सात दिनको समय तोकेर अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको प्रधानमन्त्री र निजको अध्यक्षतामा गठन गरिने मन्त्रिपरिषद् सिफारिस गर्न आहृवान गर्नु भएको थियो । त्यसपछि दलहरुको आग्रहमा दोस्रोपटक थपिएको ७ दिनमा पनि सहमति नजुटेपछि थपिएको छ दिनको समय बुधबार सकिँदैछ ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......