भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

भारतीय विदेश मन्त्रीले सोधे- नेपालमा सहमति किन नभएको ?

११ पुस, दिल्ली । राष्ट्रपति डा रामवरण यादवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।  भारत भ्रमणमा रहनुभएका राष्ट्रपति यादवले आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा भारतीय समकक्षी प्रणव मुखर्जीसँगको भेटमा नेपाल भ्रमणको निम्तो दिनुभएको हो । जवाफमा भारतीय राष्ट्रपतिले उपयूक्त समय मिलाएर आफू नेपाल आउने जानकारी दिएको स्रोतले बताएको छ ।भेटवार्तामा भारतीय राष्ट्रपतिले नेपालको राजनीतिक गतिरोध लम्बिनुको कारण, सहमतिको अवस्था, निर्वाचन , नेपालको शान्ति र स्थायित्वको विषयमा जिज्ञासा राखेको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच डा. रामबरण यादव र भारतीय विदेशमन्त्री सलमान खुर्सिदवीच भेटवार्ता भएको छ । बिहान राष्ट्रपति बस्नुभएको ओवरोय होटलमै पुगेर भारतीय विदेश मन्त्री खुर्सिदले राष्ट्रपतिसँग भेट गरेको दिल्लीबाट पत्रकार ऋषि धमलाले बताएका छन् ।भेटवार्तामा विदेशमन्त्री खुर्सिदले नेपाल र भारतवीचको ऐतिहासिक सम्बन्धका कारणले पनि नेपालको मामिलामा भारतको चासो स्वभाविक रुपमा हुने भन्दै नेपालको पछिल्लो राजनीतिक घटना क्रमका विषयमा राष्ट्रपतिसँग चासो राखेका थिए ।

भारतीय विदेश मन्त्री खुर्सिदले नेपालमा सहमतिमा निर्वाचन हुनुपर्छ भन्ने भारतको मत रहेको बताउँदै दलहरु मिल्न नसकेकोमा राष्ट्रपतिसँग चिन्ता प्रकट गरेका थिए ।

भारतीय विदेश मन्त्री सहितको टिमले राष्ट्रपतिको टिमसँग किन सहमति हुन नसकेको, के के अवरोधहरु छन्, मुख्य समस्या के हो, निर्वाचन कहिले हुन्छ जस्ता विषयमा चासो राखेका थिए ।

राष्ट्रपति यादवले दलहरु सहमतिका लागि प्रयासरत रहेको भन्दै आफू नेपाल र्फकदासम्म मुलुकले निकास पाउने विश्वास भारतीय अधिकारीहरुलाई दिनुभएको थियो ।

भारतीय विदेशमन्त्रीसँगको भेटवार्तामा नेपालका तर्फबाट सिचाई मन्त्री महेन्द्र यादव र राजनीतिक सल्लाहकार हरि शर्माको सहभागिता थियो भने भारतको तर्फबाट विदेश सचिव रञ्जन मथाई र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादको समेत सहभागिता थियो ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......