थप ८० बच्चालाई उद्धार गर्ने
२४ मंसिर, काठमाडौं । परिवारले रोकतोक गरे
पनि जे त पर्ला नि भनेर ८ वर्षअघि अभियान थाल्दा पुष्पा बस्नेतलाई आज यो
दिन आउला भन्ने कल्पनासम्म थिएन । ‘यति धेरै चर्चित र सम्मानित हुन्छु
भन्ने लागेकै थिएन, पढाइको सिलसिलामा बालबालिकाको अवस्था देखेर यो काम
थालें’ आइतबार अनलाइनखबरसितको कुराकानीमा पुष्पाले भन्नुभयो-’अहिले
सम्मानित हुन पाउँदा आफूले ठूलो काम गरेछु भन्ने गर्व लागेको छ ।’
विश्वकै प्रतिष्ठित सम्मानको रुपमा लिइने
सीएनएन हिरोको उपाधि थापेर पुष्पा शनिबार स्वदेश र्फकनुभएको हो । अमेरिकामा
रहँदैमा बधाइ र शुभकामना थाप्दैमा हैरान भएकी पुष्पालाई स्वदेश फर्केपछि त
झन फोन उठाउँदैमा फुर्सद छैन । भेटेर र फोनमा कुरा गरेर उहाँलाई धेरैले
बधाइ र शुभकामना दिइरहेका छन् ।
राजधानीको बुढानीलकण्ठ नजिकै चपलीहाइटमा
उहाँले स्थापना गरेको प्रारम्भिक बाल विकास केन्द्रमा आइतबार दिनभर नै
चहलपहल देखियो । आइतबार विद्यालय बन्द भएकाले बालबालिकाले पनि ‘पुष्पा
मामु’ सँगै बसेर खुशी साटासाट गर्ने अवसर पाए । आ-आफ्नै तालमा खेलिरहेका
बालबालिका पुष्पालाई भेट्न आउने सञ्चारकर्मी, आफन्त, साथीभाइको आइजाइ र
पुष्पाको अनुहारमा देखिएको खुशी देखेर दंग देखिन्थे ।
आफ्ना बाबुआमाबाट भन्दा पनि बढी माया
पाएका केन्द्रका बालबालिका पनि बस्नेतको खुशीमा खुशी साटिरहेका छन् ।
पुष्पालाई मामु भनेर सम्बोधन गर्ने यी बालबालिकाको अनुहार पनि पुष्पा
फर्केपछि झनै तेजिलो भएको छ । बाबुआमा जेलमा रहेका यी बालबालिको सहारा नै
पुष्पा मामु हुनुहुन्छ । त्यसैले त उनीहरु मामुको खुशीमा थप खुशी छन् ।
‘मेरा सबैथोक भनेका यी भाइबहिनी नै हुन्’ पुष्पाले भन्नुभयो-’म खुशी छु,
यिनीहरु खुशी छन्, उनीहरुलाई खुशी देख्दा झन् मलाई बढी खुशी लाग्छ ।’
अरुलाई पनि ल्याउने योजना
जेलमा रहेका बाबुआमासँगै जेलजीवन बिताउन
बाध्य बालबालिकालाई उद्धार गरेर शिक्षादीक्षा दिने काममा लागेकी पुष्पा
बस्नेतको बालविकास केन्द्रमा अहिले ४० जना बालबालिका छन् । अझै जेलमा ८०
जना यस्तै बालबालिका रहेको पुष्पाको भनाइ छ । ‘सबै बालबालिकालाई यसैगरी
माया र शिक्षा दिने मेरो योजना छ’ पुष्पाले भन्नुभयो-’हेरौं कहिलेसम्म सफल
हुन्छु ।’
आफूले पाएको सहयोग रकम र पुरै जीवन यसमै
लगाउने पुष्पाको योजना छ । ‘मलाई योभन्दा खुशी अरु केही छैन’ पुष्पाले
भन्नुभयो-’आफ्नो सास छउञ्जेल यही काम गर्छु, अरुथोक चाहिँदैन ।’
सीएनएन हिरोको उपाधि जितेपछि पुष्पाको
मनोबल थप बढेको छ । आफूले राम्रै काम गरेछु भन्ने अनुभूति भएको छ । अब
आफ्नो नीजि जीवन भनेकै यिनै बालबालिका भएको उहाँले बताउनुभयो । बाबुआमासँगै
जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरेर सम्मानित हुनुभएकी
पुष्पालाई हाम्रो पनि बधाइ र शुभकामना ।
