२९ मंसिर, हेटौँडा । अमेरिकी सरकारको अनुदानमा २०२२ सालमा हेटौँडामा
स्थापना भएको डिजेल प्लान्ट केन्द्रले शुक्रवारदेखि पुनः विद्युत् उत्पादन
सुरु गरेको छ । हेटौँडा नगरपालिक-१, चौकिरालेमा रहेको आयोजनाको १४ मेगावाट
विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । तर अहिले १० मेगावाट मात्र
विद्युत् उत्पादन गरिएको डिजेल प्लान्टका केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण
महाशाखाको निर्देशनमा डिजेल प्लान्ट केन्द्र सञ्चालन गरिएको केन्द्रले
जनाएको छ । डिजेल प्लान्ट अहिले दैनिक ३/४ घन्टामात्र सञ्चालनमा ल्याइएको छ
। केन्द्रका अनुसार डेढ वर्ष अघि मर्मत गरिएका सातवटा डिजेल मेसिन सञ्चालन
हुँदा प्रति घण्टा दुई हजार ५ सय लिटर डिजेल इन्धन खपत हुँदै आएको छ ।
केन्द्रबाट उत्पादित विद्युत्को
प्रतियुनिट ३० देखि ३५ सम्म पर्ने र सर्वसाधारण उपभोक्तालाई वितरण गर्दा
निकै महँगो हुने केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

