आफन्तको वयान गृहद्वारा अस्वीकार, आशंका जन्मियोः पीडित
६ पुस काठमाडौं । साउदी अरबबाट नेपाल र्फकने क्रममा प्रहरी र अध्यागमन
कर्मचारीबाटै लुटिएकी युवतीले अझैसम्म आफूबाट लुटिएको लाखौं रकम फिर्ता
पाएकी छैनन् । रकम लुट्ने भनिएका प्रहरी र
कर्मचारी यतिबेला प्रहरीकै नियन्त्रणमा छन् । लुटिएको रकम भागवण्डा गरेका
भनिएका अध्यागमनका ठूला कर्मचारीलाई भने अहिलेसम्म कारवाही भएको छैन ।हनुमानढोकाका एसपीले वयानका लागि पत्रसहित गृहमन्त्रालय पठाएका पीडितका आफन्तलाई गृहमन्त्रालयका सहसचिव भोलाप्रसाद शिवाकोटीले पीएमार्फत् हप्कीदप्की गरेर वयानै नलिई फिर्ता पठाएको गुनासो पीडित पक्षले गरेको छ ।
मंसिरको पहिलो साता एयरपोर्टबाटै लुटिएकी ती युवती यतिबेला आफ्नो लुटिएको धन फिर्ता गराउन काठमाडौंमा दौडधूप गरिरहेकी छन् । तर, नेपालमा न्याय ढीलो पाइन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै प्रहरीले अहिलेसम्म उनलाई कर्मचारीबाट लुटिएको धन फिर्ता दिएको छैन । प्रहरी पर्शुराम बस्नेतको बलात्कारमा परेको बताउने युवतीको पेटमा तीन हप्ताको गर्भ रहेको डाक्टरी रिपोर्ट आएपछि त्यसलाई फाल्ने कि राख्ने भन्नेमा पनि उनी अलमलमा परेकी छन् ।
‘मैले अहिलेसम्म पैसा र सामान केही पनि फिर्ता पाएकी छैन ।’- पीडित युवतीले शुक्रबार अनलाइनखबरसित भनिन् । मसँग भएको ९ हजार ३ सय साउदी रियल लुटेकोमा अहिलेसम्म मैले फिर्ता पाएकी छैन । अध्यागमनका नायब सुब्बा सोमनाथ खनालले ३९ सय मात्रै लगेको हो भन्दै फिर्ता दिन खोजेका थिए, मैले मेरो सबै रकम चाहिन्छ भनेकी छु ।’ पीडितको थप गुनासो गर्दै भनिन्- ‘प्रहरी पर्शुराम बस्नेतले मैलेमात्रै खाएको होइन, माथिका हाकिमलाई पनि दिएको छ भनेर भोजपुरमै फोन गरेर आधा रकममात्रै भए पनि लिन आइज भनेर मलाई बोलाएका हुन् । तर, उनीहरु दाजुको सहायताले पक्राउ परेपछि प्रहरीले अहिलेसम्म मलाई पैसा फिर्ता गराएको छैन ।’
तीन वर्षपछि नेपाल आएकी युवतीको पासपोर्टमा नाम फरक परेपछि प्रहरी पर्शुराम बस्नेतले साथमा रहेको ९ हजार ३ सय रियलका साथै सामानसमेत आफैंले राखेर गंगबुस्थित एक होटलमा लगी जबर्जस्ती करणी गरेको आरोप लगाउँदै युवतीले हनुमानढोकामा उजुरी दिएकी छन् । यो घटनामा अध्यागमनका कर्मचारी सोमनाथ खनाल र प्रहरी पर्शुराम बस्नेत पक्राउ परिसकेका छन् भने अध्यागमनका अधिकारी टीका पोख्रेल र रामप्रसाद कोइराला पनि छानविनको दायरामा तानिएका छन् ।
